Aamsanchar

हात्तीको उपद्रो रोक्न ज्ञापन

Author Image
बिहिवार, कार्तिक ३०, २०७४

भद्रपुर।

झापामा जंगली हात्तीको आतंकले स्थानीयबासी पीडित बनेका छन् । जंगली हात्ती साँझ परेपछि दैनिक आहारको खोजीमा जंगल आसपासका गाउँवस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयबासी पीडित बनेका हुन् ।

भद्रपुर र बिर्तामोड नगरपालिकाका केही वडाबासी जंगली हात्ती आतंकको त्रासमा बस्न बाध्य छन् । जंगली हात्तीले दिनहुँ भौतिक सम्पत्ति तथा अन्नवालीमा क्षति पुर्याउन थालेपछि स्थानीयले सम्बन्धित नगरपालिकालाई नियन्त्रणका लागि दवाव दिन थालेका थिए । हात्ती पीडित स्थानीयको दवाव पश्चात बुधवार भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका र चन्द्रगढी सामुदायिक वन उपभोक्ता समिति भद्रपुरले जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्री कार्यालयलाई लिखित ज्ञापनपत्र बुझाएका छन् ।

भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ र बिर्तामोड नगर प्रमुख धुव्रकुमार शिवाकोटीले झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तिवारीले झापा प्रशासन हात्ती समस्याको बारेमा गम्भीर रहेको बताए । हात्ती समस्या सामाधानका लागि जिल्ला वन कार्यालयसँग सहकार्य गर्नुका साथै मन्त्रालयसम्म यस बारेमा जानकारी गराउने प्रजिअ तिवारीले बताए ।

त्यस्तै भद्रपुर नगर प्रमुख श्रेष्ठले चारआली र जलथलको चारकोशे जंगलमा रहेका जंगली हात्तीले भद्रपुर वडा नम्बर ४, ७, ६, ९ र १० मा आंतक मच्चाउँदै आएको बताए । उनले भने– ‘नगरपालिकाले यी वडासँग जोडिएका वनजंगल क्षेत्रमा सडक बत्ती लगाउनुका साथै हात्ती खेदाउन स्थानीयलाई सहयोग गर्दै आएको छ, तर हात्ती नियन्त्रण हुन सकेको छैन ।’ झापामा जंगली हात्तीको समस्या स्थानीय तहको मात्र जिम्मेवारी नभएको बताउँदै– उनले भने– यस बारेमा राज्यपक्ष पनि गम्भीर हुनुपर्छ ।

विर्तामोडको वडा नम्बर ६, ७ र ८ हात्ती आतंक क्षेत्र भनेर नगरपालिकाले घोषित नै गरिसकेको बिर्तामोड नगर प्रमुख शिवाकोटीले बताए । ‘हात्तीले जिल्लामा करोडौको जनधनको क्षति गरिसकेकोले स्थानीयमा त्रास छ, हात्ती नियन्त्रण र समाधान गर्न राज्य पक्ष लाग्नुपर्छ– शिवाकोटीले भने– हात्ती नियन्त्रणका लागि स्थानीय तहबाट हुने सबै कामकारवाही गरिसकेका छौ, तर त्यसको प्रभाव केही परेको छैन ।

भद्रपुरमा दिनहु“ हात्ती आतंक

भद्रपुर ९ र १० नम्बर वडामा दिनहुँ जंगली हात्तीले उपद्रो मच्चाउन थालेको छ । कात्तिक १४ गते हात्तीको आक्रमणमा परी वडा नम्बर ९ बस्ने ३७ बर्षीय दुर्गाबहादुर कुटवालको मृत्यु भएपछि नगरबासीमा त्रास फैलिएको छ ।

यसअघि हात्तीले भद्रपुर–१० बस्ने ७० बर्षीय डम्बरबहादुर लिम्बूको ज्यान लिएको थियो । चारआली जंगलभित्र रहेका आधा दर्जन भन्दा बढी जंगली हात्ती साँझ परेपछि गाउँवस्तीमा आउने गरेकाले स्थानीय पीडित बनेका छन् । धान भित्र्याउने समयले गर्दा हात्ती आतंक बढेको स्थानीय बताउँछन् ।

बर्षभरी खाने धानसहितको अन्नवाली हात्तीले क्षति पुर्याइदिएको छ । सयांै विगाहा जमिनमा लगाइएको अन्नबाली समेत नष्ट गरिदिएको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिरा पोखरेलले बताए । अहिलेसम्म भद्रपुर ९ र १० नम्बर वडाका ४७ किसानको भौतिक तथा अन्नवालीमा क्षति पुर्याएको पोखरेलले बताए ।

हात्ती नियन्त्रणका लागि जिल्ला वन कार्यालय झापाबाट कर्मचारीसहित सुरक्षाकर्मी खटिँदै आए पनि पर्याप्त स्रोतसाधनको आभावले हात्ती नियन्त्रणमा हुन नसकेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर