Aamsanchar

मागुरमाडीमा उम्मेद्वारलाई भव्य स्वागत

Author Image
सोमवार, मंसिर ११, २०७४

मेचीनगर, 

कम्युनिस्ट एकताका सुत्रधार राम कार्कीले दशवर्षे जनयुद्धका क्रममा भूमिगत जीवन बिताएको स्थान मेचीनगर–९ को माथिल्लो मागुरमाडीका स्थानीयसँग सोमवार भेटघाट गरेका छन् ।

भेटघाटका क्रममा स्थानीयले कार्कीलाई परिवर्तनको पक्षमा वकालत गरिरहन आग्रह गरे । त्यसका लागि आफूहरुले सधैं साथ दिने बताए । कार्की र प्रदेश २ का उम्मेद्वार गोपालचन्द्र बुढाथोकीलाई स्थानीयले फुलमाला लगाईदिएर भव्य स्वागत गरेका थिए ।

भेटघाटपछि कार्कीले आफू लामो समय यहि क्षेत्रमा बसेर राजनीति गरेको बताउँदै यस क्षेत्रको विकासका लागि लागीपर्ने वचन दिए ।
मागुरमाडी कम्युनिस्टहरुको गढ मानिन्छ । झापा विद्रोह र माओवादी जनयुद्ध सोही ठाउँबाट शुरुवात भएको थियो । त्यसबेला कम्युनिस्ट नेताहरुको मागुरमाडी सेल्टर थियो ।केपी शर्मा ओलीदेखि राम कार्कीसम्मका नेताहरुले भूमिगत कालमा धेरै समय सोही क्षेत्रमा बिताएका थिए । कम्युनिस्ट आन्दोलनलाई उचाईमा पुर्याउन त्यस क्षेत्रका बासिन्दाको ठूलो सहयोग रहँदै आएको छ ।

चुनाव प्रचारका सिलसिलामा सोमबार मागुमाडी पुुगेका झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेद्वार राम कार्कीले विगत सम्झिँदै भने–‘यस ठाउँको दुखसुख मैले पनि भोगेको छु, यहाँको भावनात्मक सम्बन्ध मसँंग जोडिएको छ, त्यसैले यो क्षेत्रको विकासका निम्ति म लागीरहनेछु ।’उनले मागुरमाडीको झण्डी चोकमा आयोजित कोण सभामा बोल्दै वामपन्थी गठबन्धनलाई जिताउन आग्रह गरे । उनले भने–‘हामीलाई यो पटक जिताउनुहोस्, एक वर्षभित्रमा मागुरमाडीको मुहार फेरिदिन्छौँ ।’

कार्कीले देशभर कम्युनिस्टको पक्षमा जनलहर उर्लिनुले वामपन्थी शक्तिको विजय सुनिश्चित रहेको दावी गरेका छन् ।माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् पूर्व सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका वाम गठबन्धनका सूत्रधार कार्कीले भने–‘मुलुकले स्थायी शान्ति र समृद्धि चाहेको छ, नेपाली जनताको त्यो सपना कम्युनिस्ट सरकारले मात्र पूरा गर्छ ।’

कार्यक्रममा गठबन्धनतर्फ प्रदेश नम्बर २ का उम्मेद्वार गोपालचन्द्र बुढाथोकीले विभिन्न चिरामा विभाजित कम्युनिस्ट पार्टीहरु मुलुकको हितका लागि एक ठाउँमा उभिदा अस्तित्व समाप्त हुने डरले अन्य पार्टीहरु आत्तिएको बताए ।

उनले कम्युनिस्टको आधारभूमि झापा क्षेत्र नम्बर १ को इतिहासलाई जोगाउन गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन मतदातालाई आग्रह गरे ।
उम्मेद्वारहरुले उक्त वडाका झण्डी चोक, झापा मार्ग टोल, लिला वस्ती, च्यावल्नी गाउँ, खुट्टिडाँगी चोक, नयाँ वस्ती, रिङरोड चोक, मेचे गाउँ, घाटगद्दी, धुलाबारी बजार, झोडालगायतका मतदातासँग भेटघाट गरेको गठबन्धनको एक नम्बर क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु प्रसाईंले जानकारी दिए ।

यसैबीच, वडाका विभिन्न स्थानमा आयोजित कार्यक्रममा जानुका ओली, हेमलाल उप्रेती, नरेन्द्र नेम्बाङ (सरमान), अरुण श्रेष्ठ, चन्द्रबहादूर श्रेष्ठ, घनश्याम चिमरिया, उद्धव चिमरिया, पदमप्रसाद कोइराला, रोमादेवी कोइरालालगायत नेपाली काँग्रेसको विभिन्न जिम्मेवारीमा रहेका क्रियाशिल कार्यकर्ताहरु वाम गठबन्धनमा प्रवेश गरेको वाम गठबन्धनका कार्यकर्ता कञ्चन तामाङले बताए ।

त्यस्तै, चुनावी अभियानकै क्रममा गठबन्धनतर्फ प्रदेश नम्बर १ का उम्मेद्वार श्रीप्रसाद मैनालीले सोमबार मेचीनगर—१० का मतदातासँग भेटघाट गरेका छन् ।उक्त वडामा घरदैलो अभियानपछि विभिन्न स्थानमा आयोजित कोण सभामा उनले गठबन्धनका उम्मेद्वारलाई विजयी गराई कम्युनिस्टको राज्य सत्ता स्थापना गर्न आग्रह गरे ।

‘मुलुकको अबको ५ वर्षे खाका मंसीर २१ ले निर्धारण गर्दैछ,’ मैनालीले भने–‘मेरो अनुरोध छ, त्यस दिन तपाईंहरुले विवेक पुर्याएर बाम गठबन्धनलाई मतदान गर्नुहोस् ।’ सोमबार धुलाबारी माथ्लो बजारदेखि खयरडाँगी चोकसम्म घरदौलो अभियान सम्पन्न भएको एमालेका नेता देवकुमार राईले जानकारी दिए ।

Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर