बिर्तामोड।
झापामा मोटरसाइकल चोरी गर्ने गिरोह पुनः सक्रिय भएको छ । नागरिकको सुरक्षाका लागि प्रहरीले विशेष सतर्कता अपनाए पनि चोरीमा संलग्न गिरोहले प्रहरीलाई नै छक्याएर मोटरसाइकल चोरी गर्न थालेपछि सर्वसाधारणमा त्रास थपिएको छ । बिर्तामोड क्षेत्रबाटै दुई दिनको अबधिमा तीन वटा मोटरसाइकल चोरी भएपछि सर्वसाधारणमा त्रास थपिएको हो ।
गतवर्षको भदौ महिनामा मोटरसाइकल चोरीमा संलग्न गिरोह सक्रिय भएपछि तत्कालीन प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वको टोलीले एकैदिन २२ थान चोरीएका मोटरसाइकल र चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको थियो । त्यस यता मोटरसाइकल चोरी हुने क्रम रोकिएको थियो ।
तर, पछिल्लो समय झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी हुने क्रम पुनः शुरु भएको छ । शुक्रवारसाँझ मसला जोनकी सञ्चालक कञ्चना बरालको को१४प ५३०४ नम्वरको मोटरसाइकल चोरी भएको छ । साँझ ५ः३० बजे होटल अगाडि मोटरसाइकल पार्किङ गरेरमाथि चढेका थियौं, साँझ ७ नबज्दै मोटरसाइकल चोरी भएछ– कञ्चनाले भनिन्– बजार एरियाबाटै साँझै मोटरसाइकल चोरी हुनु भनेको सुरक्षामा चुनौति हो ।
बिर्तामोड नगरवासीको सुरक्षाका लागि विभिन्न संघ–संस्था र दातासँग सहकार्य गर्दै मुक्ति चौकमा सीसी क्यामेरा जडान गरिए पनि गतकात्तिक १० गते अर्जुनधारा–८का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनका क्रममा तोडफोड भएको थियो ।
एक महिनाको अवधिमा बिर्तामोड क्षेत्रबाट पाँचवटा मोटरसाइकल चोरी भएको उजुरी परेको बताउँदै इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले चोरीमा सम्लग्नको खोजी कार्य तीव्र पारिएको बताए । उनले भने– अस्तव्यस्त छ बिर्तामोड, सुधारका लागि सीसी क्यामेरा जडानसहित विशेष कार्यक्रम लिएर आएको छु । एक दुई दिनभित्रै बिर्तामोडका सबै गल्ली–गल्लीमा ५०÷६० बटा सीसी क्यामेरा जडान गरेर चोरीडकैती नियन्त्रण गर्ने मेरो पहिलो लक्ष्य छ ।
मोटरसाइकल चोरीमा सम्लग्न हुने मध्ये कोही त्यही कार्यमा पहिला पक्राउ परेर छुटेका हुनसक्छन् कि भन्दै उनीहरुको पनि विशेष निगरानी राखेका छौं– प्रहरी नायव उपरीक्षक कोइरालाले भने– जतिसक्दो चाँडो चोरीमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गर्छौं ।