राजगढ।
विद्यालय स्थापनाको ५५ वर्षपछि पहिलोपटक विद्यालयले वार्षिक उत्सव मनायो भन्दा अचम्म लाग्न सक्छ तर, भयो यस्तै । वाह्रदशी गाउँपालिका–३ मा रहेको पशुपति माविले विद्यालय स्थापनाको ५५ वर्षपछि आइतवार पहिलोपटक वार्षिकोत्सव मनाएको छ ।
शिक्षाको मोह बढ्दै गएपछि स्थानीय छविलाल राजवंशीसहितका केही सामाजिक अगुवाले २०१६ सालमा राजगढ प्रावि सञ्चालन गर्ने निर्णय गरेका थिए । दाताको सहयोगमा २०१६ सालमा विद्यालय स्थापना गरे पनि २०१९ सालमा सो विद्यालयले बैधानिकता पाएसँगै त्यसैलाई आधार मान्दै पशुपति माविले आइतवार पहिलोपटक तर ५५औं वार्षिकोत्सव मनाएको छ । २०१६ सालमा छविलाल राजवंशीको अध्यक्षतामा बसेको गाउँ भेलाले राजगढमा विद्यालयको आवश्यकता महशुस गरी छाप्रोबाट विद्यालयको शुरुवात गरेको विद्यालयका संस्थापक प्रधानाध्यापक अर्जुनप्रसाद पौडेलले बताए ।
उनले कार्यक्रमलाई सम्वोधन गर्दै भने– ‘मुष्ठी दानबाट उठाएको अन्न र चारआना–आठआनाले विद्यालय चलाएका थियौं, आज यही विद्यालयमा अध्ययनरत् विद्यार्थी राज्यको माथिल्लो स्तरमा पुगिसकेका छन् तर, कसैको ध्यान पनि विद्यालयतर्फ गएन ।’ विद्यालय स्थापनाको लामो समयपछि भए पनि पहिलोपटक विद्यालयले वार्षिकोत्सव मनाउँदा म खुशी छु– विद्यालयका संस्थापक प्रअ पौडेलले भने– ‘अब यो कार्यले निरन्तरता पाओस् ।
कार्यक्रममा बोल्दै पूर्व विद्यार्थी मीठाराम बस्नेतले विद्यालयले लामो समयपछि आयोजना गरेको कार्यक्रममा सहभागी हुन पाउँदा आफूमा उत्साह थपिएको बताए । पूर्वविद्यार्थीलाई समेटेर विद्यालयले ठोस् काम अघि सारे आफूहरुको तर्फबाट सक्दो सहयोग हुने उनले बताए । त्यस्तै बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्ना राजवंशीले विद्यालयको शैक्षिक र भौतिक उन्नतिका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने र शैक्षिक गुणस्तर उकास्न जस्तोसुकै कार्यक्रम सञ्चालन गरे पनि सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
स्रोतव्यक्ति छवि बस्नेतले विद्यालयले लामो समयपछि कार्यक्रम गरेको र अन्य विद्यालयको तुलनामा पशुपति अभिभावकका रुपमा चिनिएको र शैक्षिक गुणस्तर समेत सुध्रदै गएको बताए । उनले समयानुकूल शिक्षा प्रदान गर्न सके, पशुपतिले निकट भविष्यमै दक्षिण क्षेत्रमै सामुदायिक विद्यालयको शाख जोगाउने बताए ।
कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापक नन्दकुमार कुँवरले आफ्नो पालामा दूतावासको सहयोगमा विद्यालय भवन निर्माण गरेको र अझै विद्यालयको भौतिक संरचनाको निर्माण गर्दै शैक्षिक गुणस्तर अभिबृद्धि गर्न सके, पशुपति दक्षिण क्षेत्रकै उत्कृष्ट विद्यालय हुने बताए ।
विद्यालयले २०३७ सालमा पहिलोपटक एसएलसी परीक्षामा सहभागी भएका ४० जना विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा मीठाराम बस्नेत, महेन्द्र राजवंशी, भोला मिश्र, भूपाल पौडेल, इमाजुद्दिन मियाँ, कृष्णप्रसाद खरेल, दिलबहादुर श्रेष्ठ लगायत रहेका छन् । त्यस्तै ४० जना पूर्व शिक्षक तथा कर्मचारीलाई पनि सम्मानसहित विदाई गरिएको छ । सम्मानसहित विदाई हुने शिक्षकहरुमा विद्यालयका निवर्तमान प्रधानाध्यापक कुँवर, जग्गनाथ ओझा, हरि ओझा, लक्ष्मी दाहाल, टीका रिजाल, भवकलाल राजवंशी, रंगलाल राजवंशी, बाबुलाल साह लगायत रहेका छन् ।
त्यस्तै विद्यालयले स्थापनादेखि हालसम्म रहेका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका पदाधिकारीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा समाजसेवी इन्द्रप्रसाद अधिकारी लगायत रहेका छन् ।
जिल्ला शिक्षा कार्यालय झापाका उपजिल्ला शिक्षा अधिकारी होमनाथ भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत विद्यालयका सहायक प्रधानाध्यापक गुणनिधि लुइँटेलले गरेका थिए भने विद्यालयको सांगठनिक प्रतिवेदन प्रधानाध्यापक विद्यासागर चौधरीले प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ पोखरेल(सागर)को सभापतित्वमा भएको कार्यक्रममाको सञ्चालन शिक्षक लोचन गुरागाँईले गरेका थिए ।
सोही अवसरमा २०७३ सालको परीक्षामा कक्षा प्रथम र दोस्रो हुने विद्यार्थी तथा खेलकुद प्रतियोगितामा बिजयी खेलाडीलाई पुरस्कृत समेत गरिएको थियो ।