चितवन,
राप्ती र नारायणी नदीमा रहेको एकमात्रै भाले घडियाल गोही गतवर्षको जेठमा मरेपछि भालेविहीन बनेको यी दुई नदीलाई लक्षित गरी आज राप्ती बगरमा एउटा भाले गोही छाडिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार शुक्रबार दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्व–पश्चिम राजमार्गको बबई खोलाको पुलमुनिबाट भाले गोही नियन्त्रणमा लिई आज बिहान यहाँ ल्याइएको हो । सो गोहीलाई राप्ती नदीको खोरिया मुहान बगरमा छाडिएको हो ।
कँडेलका अनुसार राप्ती र नारायणीको संगमस्थल गोलाघाटबाट एक किमी पूर्वतर्फ खोरिया मुहानमा राप्तीको निकुञ्जतर्फको बगरमा गोही छाडिएको हो ।
करिब ३५ वर्षको सो भाले गोही ४१६ सेन्टिमिटर लामो रहेको उहाँले बताउनुभयो । सो गोहीको तौल ८०० किलो हाराहारीको छ । ती दुई नदीमा प्रजननमा सहयोगी बन्दै आएको एकमात्रै भाले गोही गएको जेठ १० गते नारायणी नदीको अमलटारीदेखि पश्चिम नन्दपुरमा जालमा परेर मरेको थियो । सोपश्चात् ती दुवै नदी भाले गोहीविहीन बन्न पुगेका थिए ।
सन् २०१६ को तथ्यांकअनुसार यी दुई नदीमा १६६ गोही रहेका थिए । हालसम्म प्रजनन केन्द्रमा हुर्काएर राप्तीमा ५६६ वटा र नारायणीमा ३९९ वटा छाडिएको कसरामा रहेको गोही प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले बताउनुभयो ।
सन् २०१६ को गणनामा बबईमा ३१ वटा र कर्णालीमा एउटा मात्रै गोही फेला परेको थियो । हालसम्म बबईमा ११० र कर्णालीमा ४१ वटा गोही छाडिसकिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा गोही प्रजनन केन्द्र रहेको छ । सोही प्रजनन केन्द्रमा गोही हुर्काएर विभिन्न नदीमा छाडिँदै आएको छ ।
बबईबाट गोही ल्याउनुअघि निकुञ्जको टोलीले कर्णाली नदीमा पनि भाले गोहीको खोजी गरेको थियो । कर्णालीमा गोही नभेटिएको कँडेलले बताउनुभयो ।
भारतीय क्षेत्रमा भने भाले गोही देखिएको उहाँले बताउनुभयो । भारतीय क्षेत्रको कतरनियाघाट टाइगर रिजर्वका डिएफओ ज्ञानप्रकाश सिंहसँग भारतबाट नेपालमा भाले गोही ल्याउने विषयमा छलफल भएको कँडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कूटनीतिक प्रक्रिया पु¥याएर भाले गोही ल्याउने विषयमा हाम्रो सकारात्मक छलफल भएको छ ।” कसराको प्रजनन केन्द्रमा एउटा मात्रै भाले गोही रहेको छ । अर्काे एक भाले गोही गएको फागुनमा मरेपछि हाल प्रजनन केन्द्रमा एउटा गोहीले धानेको छ जसका कारण प्रजननमा समस्या आएको खड्काले बताउनुभयो ।
प्रजनन केन्द्र र राप्ती तथा नारायणीमा एक–एक वटा भाले गोही भारतबाट ल्याउनु पर्ने कँडेलले बताउनुभयो । कसराको प्रजनन केन्द्रमा एउटा मात्रै भाले गोही रहेको र राप्ती र नारायणी नदीमा एउटा पनि भाले गोही नभएपछि निकुञ्ज छ महिनायता भाले गोहीको खोजीमा रहेको थियो ।