झापा,
शिवसताक्षी नगरपालिका, वडा नं. ४ र ५ (साविक पाँचगाछी गाविस) मंगलबार खुल्ला दिसामुक्त घोषणा भएको छ । झापा जिल्ला क्षेत्र नं. ४ का सांसद एल.पी. साँवा लिम्बूले ब्यानर अनावरण गर्नुका साथै दीप प्रज्वलन गरेर पाँचगाछी खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभयो । पाँचगाछी झापामा खुल्ला दिसामुक्त भएको साविकको १० औं गाविस हो ।
कूल २ हजार ४ सय ३२ घरधुरी रहेको पाँचगाछीलाई खुल्ला दिसामुक्त अवस्थामा पु¥याउनका लागि ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम÷यू.एन. ह्याबिट्याटको सहयोगमा सगरमाथा सामुदायिक विकास केन्द्रले सहजीकरण गरेको थियो ।
घोषणा समारोहमा दिइएको जानकारी अनुसार २०७१ सालदेखि नै खुल्ला दिसामुक्त कार्यक्रम सञ्चालन भए पनि अभियानको रुप लिन सकेको थिएन । सगरमाथा सामुदायिक विकास केन्द्रले खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्ने समयमा लिइएको तथ्यांक अनुसार ८ सय १८ घरधुरीमा सुरक्षित शौचालय निर्माण भै खुल्ला दिसामुक्त घोषणा गरिएको समारोहमा जानकारी दिइयो ।
सो अवसरमा खुल्ला दिसामुक्त अभियानमा सहयोग गर्ने संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा आफैले बालुवा बोक्नुका साथै छिमेकी र अभियानकर्ताहरुको सहयोग लिई आफ्नो घरमा सुरक्षित शौचालय निर्माण गर्ने १२ वर्षीया बालिका आशिका राजवंशीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद लिम्बूले सरसफाइ जीवन पद्धति भएकोले सबैजना पूर्ण सरसफाइतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । “हामी जनप्रतिनिधिहरुको मुख्य दायित्व स्थायित्वसहितको दिगो विकास र सामाजिक रुपान्तरण हो”, प्रमुख अतिथि लिम्बूले भन्नुभयो, “यसका लागि स्वच्छ समाज र स्वस्थ जीवन निर्माण गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।”
कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभाका सांसद झलकसिं दर्लामीले शिवसताक्षी नगरपालिकामा गाभिएको साविक पाँचगाछी समेत खुल्ला दिसामुक्त घोषणा भैसकेपछि अब शिवसताक्षी नगरपालिका नै खुल्ला दिसामुक्त गर्नुपर्ने चुनौति थपिएको बताउनुभयो । “विकट मानिएको पाँचगाछी समेत खुल्ला दिसामुक्त भयो, अब बाँकी रहेका सुगमका वडाहरुलाई छिटो खुल्ला दिसामुक्त घोषणा गनुपर्ने चुनौति हो यो”, उहाँले भन्नुभयो ।
विशेष अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले सन् २०१७ भित्र खुल्ला दिसामुक्त घोषणा गर्ने राष्ट्रिय लक्ष्यअनुसार खुल्ला दिसामुक्त घोषणा गर्न नसकिए पनि छिटोभन्दा छिटो जिल्लालाई नै खुल्ला दिसामुक्त घोषणा गर्नुपर्ने बताउनुभयो । “एक पटक त हामी असफल भैसक्यौं, अब असफल हुने छुट हामीलाई छैन”, उहाँले भन्नुभयो ।
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले खुल्लामा दिसा गर्ने काम बन्द गराउन सामाजिक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
खुल्ला दिसामुक्त अभियानमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने निकाय ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका झापा जिल्ला संयोजक विनोदप्रसाद शर्माले सरसफाइलाई दिगो र निरन्तर अभियानको रुपमा लैजानुपर्नेमा जोड दिंदै पूर्ण सरसफाइ अभियानमा समेत आफूहरुको सहयोग निरन्तर रहने बताउनुभयो ।
शिवसताक्षी नगरपालिका वडा नं. ४ का अध्यक्ष अधिकचन ताजपुरियाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ५ का अध्यक्ष सत्यनारायण राजवंशी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका सरसफाइ फोकल पर्सन रुद्रबहादुर न्यौपाने लगायतले सरसफाइका विभिन्न आयामको बारेमा बोल्नुभएको थियो ।
कार्यक्रमका अतिथिहरुलाई शिवसताक्षी नगरपालिका, वडा नं. ४ र ५ को तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा परम्परागत संस्कृति झल्किने लाखे नाचका अलावा विभिन्न विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।