झापा,
भारतीय औषधी कम्पनीले पूर्वी नेपालमा नेटवर्किङ मार्फत प्रतिबन्धित औषधीको बिक्री वितरण गर्न झापाको पूर्वी नाका काकँडभिट्टालाई प्रयोग गरेको खुलेको छ।
सरकारले स्वीकृति नदिएको भारतीय कम्पनीका औषधी नेपाल भित्र्याउन संलग्न नेपाली युवायुवतीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त रहस्य खुलेको हो।
पूर्वको झापा, मोरङ, सुनसरी, इलाम लगायतको जिल्लामा ओरिन्स् भारतीय कम्पनीले उत्पादन गरेको आयुर्वेदिक औषधीलाई नेटर्वकिङमार्फत नेपाली बजारमा बिक्री वितरण गराउन कलेज पढ्ने युवायुवतीलाई प्रयोग गर्दै आइरहेको अनुसन्धानबाट खुलेको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाबाट डिएसपी दिनेश बस्नेतले जानकारी दिए। रोजगारीको आश्वासनमा युवायुवतीलाई अवैध कारोबारमा संलग्न गराएको उनले बताए।
यसैक्रममा काकँडभिट्टा नाकाबाट भित्र्याएको २ लाख ३२ हजार मुल्य बराबरको नेपालमा प्रतिबन्धित आयुर्वेदिक औषधी सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले काँकडभिट्टाको मूल गेट र जोरसिमल चेकपोष्टबाट उक्त मूल्य बराबरको आयुर्वेदिक औषधी बरामद गरेको हो।
सरकारले प्रतिबन्ध लगाएको ओरिन्स् भारतीय कम्पनीले उत्पादन गरेको विभिन्न किसिमका आयुर्वेदिक औषधि बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए।
उनका अनुसार ओरिन्स् कम्पनीका ट्रोनिक्स, जुस, क्रिम, टेब्लेट लगायतको औषधी फेला परेको छ। बरामद गरिएको औषधीलाई मेची भन्सार कार्यालय काँकडभ्टिटा बुझाइसकेको डिएसपी बस्नेतले बताए।
यता काँकडभिट्टा नाकाबाट पछिल्लो समयमा सरकारले प्रतिबन्ध लगाएको आयुर्वेदिक र एलोपेथिक औषधी भित्रिन थालेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा सीमा क्षेत्रमा यसतर्फ निगरानी बढाएको छ।