Aamsanchar

समर्पण राष्ट्रिय अभियान अन्तिम चरणमा/मित्तल परिवारद्धारा ५१ हजार रुपैयाँ प्रदान

Author Image
बुधवार, पौष १२, २०७४

बिर्तामोड।

‘रकम कम छ, सहयोग गर्ने मन छ’भन्ने नाराका साथ शुरु भएको समर्पण राष्ट्रिय अभियान अन्तिम चरणमा पुगेको छ ।

दुई वर्षअघिबाट शुरु भएको समर्पण राष्ट्रिय अभियानको उद्घाटन कनकाई नदी पूर्वी तटमा झापाका तत्कालीन १७ जना सभासदहरु र चतुर्भुज चूडामणि महाराजले सामुहिक रुपमा गरेका थिए । अढाई करोड रुपैयाँको लागतमा कर्मयोग भवन निर्माणसंग अभियान समापन हुन लागेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।

अभियानको उत्तरार्धमा बिर्तामोडका व्यवसायी द्वारिकाप्रसाद मित्तलले श्रीमती सरवणदेवी मित्तलको दोस्रो वार्षिक पुण्य तिथिमा ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । उनले समर्पण राष्ट्रिय अभियान अन्तर्गत आर्यघाट निर्माणका लागि सो रकम प्रदान गरेका हुन् ।

समर्पण राष्ट्रिय अभियान अन्तर्गत कर्मयोग भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । सभा हलसहित चारवटा ब्लकमा निर्मित भवनको एउटा ब्लकमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । निर्माण गरिएको अन्य तीन व्लक मध्ये एकमा आँखा उपचार केन्द्र सञ्चालनमा गरिने तथा दुई व्लकमा किरियापुत्री राखेर काजकिरिया गर्ने तयारी भइरहेको संयोजक गिरीले बताए ।

सहारा नेपाल मुख्य आयोजक र झापाका ५३ वटा सामाजिक संघ–संस्था आयोजक रहेको अभियान अन्तर्गत झापाका पाँच हजार जनाले एक दिनको श्रम र केही रकम समुदायका लागि भन्ने साझा ऐक्यवद्धतासहित जनही दुई हजार रुपैयाँ तिरेर कार्यक्रममा सहभागी बनेका थिए ।

तर, अहिले अभियानका लागि १० हजारको सहभागिता रहेको छ । पाँच हजार जनाबाट संकलित एक करोड रुपैयाँले भने कनकाई तटमा दशगात्र कर्म गर्ने घर र सार्वजनिक शौचालय निर्माण गरिने अभियानका संयोजक गिरीले बताएपनि दुई वर्षमा अभियानका लागि २ करोड ५० लाख रुपैयाँ जुटेको उनको भनाइ छ ।

समाजसेवी समेत रहेका मित्तलले प्रदान गरेको ५१ हजार रुपैयाँ अभियान संयोजक गिरीले ग्रहण गर्दै माघमा भवनको उद्घाटन गरिने बताए । उनले भने– हामी यो अभियानको अन्तिम चरणमा छौं, माघ महिनाको अन्त्य सम्ममा कर्मयोग भवनको उद्घाटन गर्छौं । अभियानमा मित्तल परिवारका दिनेश मित्तल, हनुमान, कैलाश, ईश्वर, मोहन, प्रदीप, सुरेन्द्र, रोशन र राजेश मित्तलको समेत सहभागिता रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर