भद्रपुर।
झापाको मेचीनगर–१०स्थित धुलावारी चोकमा सुविधासम्पन्न ‘धुलावारी बिजनेस पार्क’ बन्ने भएको छ ।
पूर्वकै चिरपरिचत धुलावारी बजार पछिल्लो समयमा सबै दृष्टिकोणले खस्कदै गएको कुरालाई मध्यनजर गर्दै स्थानीय व्यवसायीको पहलमा ‘धुलावारी बिजनेस पार्क’ बनाउन लागिएको हो । पूर्व–पश्चिम राजमार्ग जोडिएको धुलाबारी चोक उत्तर पुरानो कोलोनी परिसर क्षेत्रमा निर्माण हुने भौतिक पूर्वाधार सम्पन्न पार्कको निर्माण कार्यको शुभारम्भको उद्घाटन शुक्रबार एक कार्यक्रमकाबीच मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले गरेका हुन् ।
उदघाटन कार्यक्रममा बोल्दै मेचीनगर प्रमुख आचार्यले यस बिजनेस पार्कले मेचीनगरको गौरव बढाउने बताए । भारत सीमासँग जोडिएको धुलावारी बजारको नेपाल तथा भारतमा छुट्टै पहिचान रहेको स्मरण गराउँदै आचार्यले भने– ‘बिजनेस पार्क निर्माणका लागि नगरपालिकाले समेत सक्दो सहयोग गर्नेछ ।’
चार वटा मुलुकसंग अन्तर्राष्ट्रिय नाका जोडिएको काँकरभिट्टा नजिकैको धुलाबारी बजारले व्यवसायिक दृष्टिकोणबाट प्रशस्त सम्भावना बोकेको चर्चा गर्दै मेचीनगर उपप्रमुख मीना उप्रेतीले भनिन्– ‘व्यवसायिक प्रयोजनको नमूना शहर बनाउने अभियानमा नगरपालिका प्रतिवद्ध रहेको छ ।’
त्रिशुली हाइड्रोपावरका निर्देशक निरञ्जन रेग्मीले विदेशी थोक तथा खुद्रा सामानका लागि आयात निर्यातको भरपर्दो व्यवसायिक गन्तव्यका रुपमा स्थापित धुलाबारी बजारले अब बिजनेस पार्क निर्माणपछि काँचुली फेर्ने विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा एक्सेल डेभलपमेन्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल, प्राइम बैङ्कका प्रमुख कार्यकारी अधिकृत नेपाल भुषण श्रेष्ठलगायतले पार्कको महत्वको बारेमा धारण राखेका थिए । बिजनेस पार्कको बारेमा जानकारी गराउँदै लगानीकर्ता गंगालाल श्रेष्ठले भने– पार्कमा सुविधासम्पन्न मल्टीप्लेक्ससहित व्यवसायी पसलहरु सञ्चालन हुनेछन् ।