[गोविन्दप्रसाद लामिछाने]
इलाम,
लगानी अनुसारको मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुइँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी लिइरहनुभएको छ ।
इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई त्यसको बिक्रीबाट लाखौँ आम्दानी गर्नुभएको हो । उहाँले अदुवा प्रशोधनबाटै आफ्नो परिवार मात्रै पाल्नुभएको छैन, नगरपालिकाभित्रै जग्गा किनेर सामान्य घर जोड्नुका साथै छोरीलाई काठमाडौँ राखेर पढाउँदै हुनुहुन्छ ।
विसं २०६८ बाट सामान्य तालीम लिएर अदुवा प्रशोधन थाल्नुभएकी उषाले अदुवाबाट क्यान्डी, तितौरा, मिक्चर, सर्वत, सुठो र अचार बनाउने गर्नुहुन्छ । अदुवाबाट विभिन्न परिकार बनाएर जीवन चलाउँदै आएकी उनले प्रशोधन केन्द्रमै मात्रै मासिक पाँच क्विन्टल अदुवा खपत हुने गरेको बताउनुहुन्छ । “अहिले प्रशोधन केन्द्रमा पाँच क्विन्टल अदुवा खपत हुन्छ, यो सबै अदुवा अग्र्यानिक मात्रै ल्याउने गरेकी छु” उषाले भन्नुभयो । उहाँले वार्षिक रु ४५ लाख मूल्य बराबरका अदुवाको परिकार बिक्री गरी त्यसबाट करिब रु १८ लाख नाफा कमाउनुहुन्छ ।
“व्यवसायिक रूपले खेती गर्ने ठूला किसानले रासायनिक विषादीको प्रयोग गर्छन्” उहाँ भन्नुहुन्छ– “त्यही भएर साना किसानबाट मात्रै अदुवा किन्छु ।” विभिन्न समस्याले गर्दा शुरुवाती समयमा अनावश्यक झण्झट खेप्नुभएकी उहाँले यसको व्यवसाय बढेसँगै आम्दानी मात्र नभई प्रशंसा पनि बटुल्ने गरेको सुनाउनुहुन्छ ।
“जति बेला मैलै यो उद्यम शुरु गरेँ, त्यति बेला त छिमेकीबाट पनि सहयोग पाइन्, राम्रो बजारीकरण पनि नभएको बेला भएकाले अन्य मानिसलाई पनि यसका बारेमा बुझाउन समस्या प¥यो,” उषा भन्नुहुन्छ–“अहिले पनि बजार मूल्य त राम्रो पाएको छैन तर बनाइसकेका परिकार खेर चाँहि फाल्नु पर्दैन ।”
यस्ता वस्तुको माग स्वदेशमा भन्दा पनि विदेशमा बढी हुने गरेको अनुभव उहाँको छ । “यहाँ त अहिले पनि अदुवाको सर्वतभन्दा मानिसले बुझ्दैनन् तर बाह्य पर्यटकका लागि भने यही सर्वत राम्रो छ,” उषाले भन्नुभयो ।
अदुवाबाट निर्मित परिकार इलाम बजार र फिक्कलबाटै नेपालका विभिन्न शहर तथा विदेशमा समेत निर्यात हुने गरेका छन् । यो व्यवसायमा उहाँले दुई जना महिलालाईसमेत रोजगारी दिनुभएको छ । “आफू मार्केटिङमा हिँडिरहनुपर्छ, त्यही भएर मान्छे राखेकी छु,” उहाँ भन्नुहुन्छ “उनीहरूलाई कम्पनीकै मूल्यअनुसारको तलब छ ।”
अकबरे, अमलाबाट पनि परिकार बनाउने गरेकी उषाको मुख्य उद्यम भने अदुवाकै परिकार हो । नेपालमा भने यस्ता वस्तुबारेमा जानकारी नभएकाले बजारीकरणमा समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । “यहाँका मान्छे बाहिरी अखाद्य पदार्थ भने खान्छन् तर हामीले अग्र्यानिक तवरले बनाएका परिकार भने खाँदैनन्” उहाँले भन्नुभयो ।
विभिन्न संघ संस्थाबाट राम्रो सहयोग पाउनुभएकी उषालाई यो उद्यमका लागि उन्नति परियोजनाले पनि सहयोग गर्ने आश्वसन दिएको छ । “उन्नति परियोजनाले पनि मेसिन खरिदका लागि सहयोग गर्ने भन्ने कुरा चाँहि छ । यदी सहयोग ग¥यो भने अझै व्यवसाय बढाउने तरखरमा छु” उहाँ भन्नुहुन्छ ।
“हामीले खटेर यस्ता व्यवसाय गर्ने हो भने श्रमिकका रूपमा बाहिरी देश जानु पर्दैन र अदुवाजस्ता वस्तुको भाउ आएन भनेर चिन्ता पनि गर्नुपर्दैन” उहाँ बताउनुहुन्छ ।
जिल्लामा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अदुवाको मूल्य वृद्धि नहुँदा कच्चा रूपमा नै भारत निकासी भइरहेको छ ।