Aamsanchar

कांग्रेसले बिर्सिएका पुराना नेता निरौला

Author Image
बुधवार, माघ २४, २०७४

(सुनिरा मैनाली)

झापा।

नेपाली कांग्रेसले पटक–पटक सरकारको नेतृत्व गर्ने अवसर पायो । पाँचपटकसम्म प्रधानमन्त्री बनेका गिरीजाप्रसाद कोइरालाका विश्वासका पात्र मानिएका झापाका कुमारप्रसाद निरौलालाई न अहिले उनको पार्टीले खोज्छ न त उनलाई भेट्न कुनै नेता नै उनको ढोकासम्म पुग्छन् ।

कोइरालाका निजी सचिव अर्थात् (पिए) भएरका काम गरेका निरौला जब कोइरालाको निधन भयो, त्यसपश्चात अभिभावकबिहीन जस्तै हुन पुगे । विराटनगरका कोइरालाले झापाका निरौलालाई सवैभन्दा विश्वास पात्रको रुपमा लिने गरेका थिए । तर, न उनी कुनै मिडियाको अगाडि आए न त उनको खोजी नै कसैले गरे । प्रधानमन्त्री मात्र नभइ पटक–पटक कांग्रेस पार्टीको सभापति समेत बनेका कोइरालालाई सफल बनाउन निरौलाको देन अतुलनीय रहेको बताइन्छ ।

बि.सं. २०२१ सालमा भोजपुरको कुलुग गाविसमा जन्मिएका निरौला हाल झापाको लक्ष्मीपुरमा बस्दै आएका छन् । जीवनका उकाली–ओराली गर्ने क्रममा ५४ बर्ष पार गरेका निरौलाले संघर्ष गर्न कहिल्यै छाडेनन् । सानैदेखि हकी स्वभावका उनी प्रधानमन्त्रीको पिएसम्म बने । राजनीति शास्त्रमा स्नातक र पत्रकारिता विषयमा बिएसम्मको अध्ययन गरेका निरौलाले एसएलसी भने झापाको घैलाडुब्बा रहेको आदर्श बिद्या मन्दिरबाट उत्तीण गरेका हुन् । बि.सं.२०३९ सालमा एसएलसी पास गरेका निरौलाले रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंबाट कलेजको यात्रा शुरु गरेका थिए ।

वि.सं. २०४३ सालमा शारदा घिमिरेसँग बैबाहिक बन्धनमा बाँधिएका कुमारको परिवारमा श्रीमती एक छोरा र एक छोरी रहेका छन् । राजनीतिक यात्राको कुरा गर्दा निरौलाका आँखामा आँशु टिलपिल–टिलपिल भरिएर आउने गर्छ । पूर्वाञ्चलकर्मीसँग खुलेरै कुरा गरेका निरौलाले २०४४÷०४५ सालबाट राजनीतिक यात्रा शुरु गरेको तर कहिल्यै पद र कुर्सीको मोहनले नछोएको बताए ।

यसरी भयो कोइराला र निरौलाको भेट

वि.सं. २००७ सालमा राणा शासनबिरुद्ध खरो रुपमा उत्रिएको कांग्रेसले नेपालमा प्रजातन्त्र स्थापना गर्न अहम् भूमिका निर्वाह गरेको छ । राणाबिरुद्ध मात्र नभई पञ्चायतबिरुद्ध समेत आफूलाई सशक्त रुपमा अगाडि बढाउने क्रममा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको ठूलो भूमिका रहेको छ ।

कोइरालासँग बिसं. २०४४ सालमा बिराटनगरमा निरौलाको पहिलोपटक भेट भएको थियो । एकै भेटमा प्रभावित भनेका निरौला अहिले पनि कोइरालालाई उत्तिकै आदार र सम्मान गर्दछन् । त्यतिबेला निरौला बिराटनगरको एक सहकारी संस्थामा काम गर्दै थिए । चुनाव प्रचारप्रसारको क्रममा गरिजिाबाबु विराटनगर आएका बेला निरौलासँग चिनजान भएको थियो ।

कार्यकर्तादेखि पिएसम्मको यात्रा

कांग्रेस पार्टीप्रति आस्थावान निरौला जब पार्टीको चुनाव प्रचारप्रसार समितिको सदस्य बने उनले कोइरालासँग नजिक हुने अवसर प्राप्त गरे । त्यस बखतको राजनीतिक विश्लेषण गर्न सक्ने निरौला कोइरालासँग छिट्टै घुलमिल हुन पुगे । युवा जोश र जाँगर भएका निरौला कोइरालासँग निरन्तर सम्पर्कमा रहे ।

फलस्वरुप उनलाई कोइरालाले अध्ययनका लागि राजधानी जान आग्रह गरे । अध्ययनसँगै राजनीतिलाई अगाडि बढाउने उद्देश्यले कोइरालाको पछि लागेका निरौलाले भरपर्दो साथ पाएपछि उनी दंग भए ।

जागिर छाड्दा १७ सय तलब

वि.सं. २०४४ सालमा ११ सय रुपैयाँ तलबबाट उनले जागिर शुरु गरेका थिए । जागिरे जीवन अन्तर्गत २०६० सालमा १७ सय हुँदा उनले खरिदारको पेसा छाडेका थिए । नेताको पछि लागेको लामो समयपछि उनले घर व्यवहारलाई सम्झँदै झापा फर्किएका थिए ।

अहिले उनी सम्झन्छन् कोइरालासँगको अन्तिम भेट भने २०६५ सालमा भएको थियो । लामो समय कोइरालासँग सँगै बसेर राजनीतिक यात्रामा रहेका निरौलालाई पार्टीको संरक्षण गर्दै सबैलाई कांग्रेसमा गोलबद्ध बनाउन र एकतालाई मजबुत बनाएर लैजान आग्रह गरेको कुरालाई आज पनि उनी सम्झिरहन्छन् ।

आकाश–पातालको फरकमा कांग्रेस

देशको राजनीतिक परिर्वतनका लागि जसरी कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको थियो, त्यो अहिले बिसर्जन भइसकेको पुराना नेताहरुको ठम्याइ छ । जननायक वीपी कोइराला र गिरिजाप्रसादको भावनाबाट प्रेरित निरौला विगतको कांग्रेस र वर्तमानको कांग्रेसलाई आकाश र पातालको संज्ञा दिन्छन् ।

गिरिजाबाबु भइञ्जेलसम्मको कांग्रेसमा पार्टीप्रति सबैको भावनात्मक सम्बन्ध थियो, पार्टी सबैको लागि सर्बेसर्बा हो भन्ने बिचार आउँथ्यो । तर, अहिले त्यो किसिमको भावना कुनै कांग्रेसीहरुमा नभएको टिप्पणी गर्छन्– उनी । राष्ट्रियस्तरकै नेता पनि बेकामे भएको भन्दै निजी स्वार्थका लागि पार्टीको खोल ओढेर मनपरी गरेको भन्दै असन्तुष्ट व्यक्त गरे– उनले ।

उनी जिल्लास्तरका नेताहरु पनि सोही मानसिकता लिएर राजनीतिमा होमिएको कारण यसपटकको निर्वाचनमा कांग्रेसले पराजय भोग्नुपरेको उनको विश्लेषण रहेको छ ।

अहिलेसम्म खोजेन कांग्रेसले

लामो समय पार्टीलाई योग्दान गरेका निरौला हाल अस्वस्थ छन् । उच्चरक्तचाप भएपछि उनको शरीर अहिले काम्ने गरेको छ । तर, पनि उनी आफ्नो जीवनदेखि हार मानेका छैनन् । आफू छिट्टै निको भएर पार्टीलाई अगाडि बढाउनुपर्छ भन्ने अठोटका साथ लागेका छन् । लामो कुरामा उनले पार्टीमा लागे पनि हालसम्म स्थानीयदेखि केन्द्रस्तरका कुनै पनि नेताले खोजी नगर्दा भने दुःखी देखिए ।

बिरामी भए पश्चात पार्टीले हेर्नु त परको कुरा कुनै खोजखबर नै नगरेको भन्दै उनले भने– म त पढेँलेखेको मान्छे, राजनीतिक चेतना बोकेको मान्छे, त्यसैले आफंैले केहीनकेही सोच्नुपर्छ भन्ने हिसाबले एक्लै अगाडि बढेँ । म निको भएरै छोड्छु भन्ने आत्मविश्वास छ ।

लक्ष्मीपुरमा सबैका ‘मामा’

कनकाई नगरपालिकामा रहेका लक्ष्मीपुर बजारमा निरौलालाई सबैले ‘मामा’ भनेर चिन्ने गरेका छन् । यो वा त्यो पार्टी नहेरी सबैलाई समान दृष्टिकोणले हेर्ने गरेका निरौला बजार क्षेत्रमा सबैका प्यारा छन् । उनी अझै पनि बजारमा आउँदा सबैका पसलहरुमा निस्कने गरेको स्थानीय बताउँछन् । उनीले बिर्तामोडबाट प्रकाशित हुने अर्जुनधारा दैनिकमा समेत आवद्ध रहेर काम गरेका थिए ।

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर