भोजपुर :
जिल्ला अदालतले अरुण गाउँपालिका याकु र आमचोक गाउँपालिका दुम्मानामा बलात्कार गर्ने दुई जनालाई जेल सजाय सुनाएको छ।कात्तिक ११ गते दुम्मानामा १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रयास गरेको भन्दै १८ वर्षीय सन्तोष श्रेष्ठलाई १४ वर्ष जेल सजाय सुनाइएको हो।
उनले बलात्कारमा १० वर्ष र अंगभंगतर्फ चार वर्ष जेल बस्नुपर्ने भएको हो। उनले एक लाख ५० हजार जरिवाना र दुई लाख ५० हजार क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ। उनले घाँस काट्न गएकी बालिकालाई बलात्कार गरेका थिए।
साउन ४ गते याकु आरुखर्ककी ११ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाउने स्थानीय १९ वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई पनि १२ वर्ष जेल सजाय अदालतले सुनाएको छ। पीडितलाई एक लाख ५० हजार क्षतिपूर्ति दिनुपर्ने फैसलासमेत भएको छ। श्रेष्ठले २०७३ पुस ९ गते घरमा कोही नभएका बेला धम्की देखाउँदै बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
दुवै घटनामा जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले सजाय तोकेको हो। याकुकी बालिका काठमाडौंमा सिविनको संरक्षणमा छिन्। दुम्मानाकी बालिकालाई रक्षा नेपाल काठमाडौंको संरक्षणमा राखिएको महिला तथा बालबालिका कार्यालय भोजपुरकी प्रमुख पुष्पलता उप्रेतीले बताइन्।-अन्नपूर्णबाट