विर्तामोड ।
नेपाल अलैंची व्यवसायी महासंघ र नेपाल सरकार क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजनामा बिर्तामोडमा बिहिबार अलैंचीको गुणस्तर व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको अध्यक्षता, गुण नियन्त्रण कार्यालयका प्रमुख प्रमोद कोइरालाको प्रमुख आतिथ्यता तथा महासंघका केन्द्रीय पदाधिकारी तथा सल्लाहकारहरुको सहभागितामा भएको छलफलमा अलैंचीको भण्डारण, प्याकेजिङ तथा लेबलिङमा देखिएका गुणस्तर सम्बन्धी समस्या उजागर गरिएको थियो भने समाधानका उपायहरु पनि खोजिएको थियो ।
महासंघका केन्द्रीय कोषाध्यक्ष सुभाष भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले गरेका थिए ।
सहभागी व्यवसायीहरुले अलैंचीको मूल्यमा लगातार आइरहेको गिरावटप्रति चिन्ता जनाउँदै नेपाली अलैंचीको गुणस्तर बृद्धिका लागि राज्यले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने अपेक्षा राखेका थिए । उनीहरुले अलैंचीको ग्रेडिङ तथा प्रशोधनको प्रविधि आवश्यक रहेको औंल्याए ।
व्यवसायीहरुले सुदूर पूर्वको भन्सार नाकामा नेपालतर्फ अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तर परीक्षण प्रयोगशाला नहुँदा व्यवसायीले विविध किसिमका समस्या झेल्नु परिरहेको पनि अवगत गराए भने प्रमुख अतिथि कोइरालाले अलैंची निर्यातजन्य उत्पादन भएकोले यसको गुणस्तरमा व्यवसायी गम्भीर बन्नुपर्ने उल्लेख गरे ।
महासंघको तर्फबाट महासचिव ओमकृष्ण विमलीले नेपाली अलैंचीको गुणस्तरसम्बन्धी महासंघले सञ्चालन गर्दै आएका कार्यक्रम र उपलब्धीका विषयमा कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रममा क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत पुष्पलाल राई र खाद्य निरीक्षक दिनेश ढुंगानाको पनि उपस्थिति थियो ।