बिर्तामोड।

चालू आर्थिक वर्षको आठ महिनामा झापामा ३९ हजार दुई सय ५० सवारी कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालू आर्थिक वर्षमा कारवाहीमा परेका सवारी साधनबाट ट्राफिक प्रहरीले दुई करोड ४९ लाख ३९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

प्रहरी निरीक्षक राजेश राईका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा कारवाहीमा परेका सवारीबाट उक्त राजश्व संकलन भएको हो । चालू आर्थिक वर्षको फागुन महिनामा मात्रै सबैभन्दा बढी राजश्व संकलन भएको थियो । प्रहरीका अनुसार फागुन महिनामा मात्रै पाँच हजार नौ सय सवारी कारवाहीमा पर्दा ५० लाख ९९ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।

फागुन महिनामै दुई हजार एक वटा मोटरसाइकल कारवाहीमा परेका हुन् । जसवाट प्रहरीले १५ लाख ३० हजार पाँचसय रुपैयाँ राजश्व संकलन गरेको छ । त्यस्तै एक हजार पाँच सय १८ वटा वटा ट्रक कारवाहीमा पर्दा १९ लाख ३८ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी मध्ये सात सय ६२ वटा कार, जीप, भेन कारवाहीमा परेका छन् । जसबाट प्रहरीले पाँच लाख ९० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

यता छ सय ३२ वटा वस कारवाहीमा पर्दा चार लाख ३५ हजार रुपैयाँ राजश्व संकलन भएको छ । पाँच सय ८५ ट्याक्टर कारवाहीमा पर्दा तीन लाख ८४ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको बताइएको छ । त्यस्तै चार सय ११ वटा टेम्पो र इ–रिक्सा कारवाहीमा पर्दा प्रहरीले दुई लाख ४२ हजार रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्ष ट्राफिक प्रहरीले तीन करोड १० लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । गत वर्ष ५२ हजार छ सय २७ सवारी कारवाहीमा परेका थिए । गत वर्ष पनि सवैभन्दा बढी दुई पाङ्गे्र सवारी अर्थात् मोटरसाइकल चालक नै कारवाहीमा परेका थिए । गत वर्ष २१ हजार दुई सय ५३ वटा मोटरसाइकल कारवाहीमा परेका थिए ।
वर्षेनि सवारी चाप बढ्नु र ट्राफिक नियम जानाजान उल्लंघन गर्नुले बढी सवारी कारवाहीमा पर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राईको भनाइ छ । उनले पूर्वाञ्चलसँग कुराकानी गर्दै भने – ट्राफिक नियम आफ्नै लागि हो भन्ने जान्दाजान्दै पनि सर्वसाधारणले ट्राफिक नियमपालना गर्दैनन् ।

