Aamsanchar

मेची राजमार्गलाई फराकिलो बनाइँदै

Author Image
आइतवार, चैत ११, २०७४

[गणेश अर्याल] 
इलाम।

एम्बुलेन्स कुदाउन नसकिने अवस्था आएपछि इलामको हर्कटे बजारबाट सडक फराकिलो बनाउन शुरु गरिएको छ ।

इलामको सूर्योदय नगरपालिकाले नगरक्षेत्रको मेचीराजमार्ग फराकिलोे बनाउने काम शुरु गरेको हो । रोङ गाउँपालिकाको सीमाना हर्कटे बजारबाट सडक फराकिलो बनाउन शुरु गरिएको सूर्याेदय नगरपालिकाका मेयर रनबहादुर राईले बताए । ‘सूर्योदय नगरपालिका क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा बिकसित हुँदै गरेको स्थानको रुपमा रहेको छ’– मेयर राईले भने– ‘भर्खरै मात्र फिक्कलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो, त्यसैले यसमा सबै नगरबासीको साथ सहयोग पाएको छु ।’

हर्कटेदेखि भालुखोपसम्मको मेचीराजमार्ग फराकिलो बनाउने काम भइरहेको हो । कसै न कसैले काम शुरु नगरी नहुने अवस्था आएको थियो त्यही अवस्थामा नगरपालिकाले यो काम शुरु गरेको वडा नं. ६ का वडाध्यक्ष शिवकुमार बस्नेतले बताए । ‘यसलाई सफल बनाएर बाटो फराकिलो बनाउने काम नसकिएसम्म उद्योगी, ब्यापारी तथा नगरबासीले सहयोग गर्नेछन्’–नगरबासीको सहयोगको अपेक्षा राख्दै बाटो फराकिलो बनाउने समितिका संयोजक समेत रहेका बस्नेतले भने– ‘अब छिट्टै यसलाई तार्किक निष्कर्षमा पु¥याएर हामी काम सम्पन्न गर्नेछांै ।’

यसअघि बाटो चौडाको कामले सडक आसपासका धेरैलाई असर गर्ने भन्दै बिरोध गरिएको थियो । संघर्ष समिति नै बनाएर काठमाडौंसम्म डेलीगेशन पठाइएको थियो । संघर्ष समितिले बाटोको केन्द्रबाट सात–सात मिटर मात्र कायम गर्नुपर्छ भन्ने माग गरेका थिए ।

सोही अनुसार हाल सात मिटर मात्र बाटो फराकिलो बनाउन थालिएको छ । संघर्ष समिति बिकास बिरोधी नभई सहयोगी नै भएकाले हाललाई सात मिटरमा सहमती भई काम शुरु भएको संघर्ष समितिका संयोजक शिबकुमार राईले बताए । ‘बाटोलाई सात÷सात मिटर गर्दा पनि फोर लेनको बाटो हुने भएकाले हामीले त्यो प्रस्ताब लगेका हांै’ –संघर्ष समितिका संयोजक राईले भने– ‘नगरपालिकाले पनि हाम्रो प्रस्ताबलाई मानेकाले हामीले सहयोग नै गरेका छांै ।

उता २०३४ सालमा नै राजपत्रमा प्रकाशित भइसकेकाले बाटो बिस्तारमा कुनै समस्या नभएको नगपालिकाले जनाएको छ । तत्काललाई सडकको केन्द्रबाट दुबैतिर सात–सात मिटर कायम रहने छ । तर, क्रमशः यसलाई सडकको केन्द्रबाट १५–१५ मिटर बनाउँदै लैजाने नगरप्रमुख रनबहादुर राई बताएका छन् । हर्कटेबाट शुरु गरिएको बाटो बिस्तारको कार्य राती पनि निरन्तर गरेर केही दिनभित्रमा पुरा गर्ने बताइएको छ ।

सडक सार्वजनिक सम्पत्ति भएकाले यस्को बिस्तार हुनु स्वागत योग्य कदम भएको यातायात ब्यवसायीहरुले बताएका छन् । नगरपालिकाको यो कामको धेरैले स्वागत गरेका छन् तर केहीको भने यो कदमले घरबारविहीन हुनुपर्ने अवस्था पनि आएको छ । नगरपालिकाले छापामारशैलीमा बाटो बिस्तार गर्दा सडक छेउमा बस्नेहरु भने त्रसित भएको हर्कटेका दुर्गा निरौलाले बताए ।

‘सडकको लगत कट्टा पनि नभएको अवस्थामा जग्गा धनीले मालपोत तिरीरहनु परेको छ’ –निरौलाले भने– ‘सडक क्षेत्र बिस्तार गर्ने सवालमा सहमत नै भए पनि बिधी र प्रक्रिया नपुगेर स्थानीयमा अन्यौल भएको हो ।’ नगरपालिकाले पहिलो चरनमा रोङ गाउँपालिकाको सीमाना हर्कटेबाट पाल्टागेको पहिलो कल्भर्टसम्मको सडक क्षेत्र फराकिलो बनाउने योजना रहेको जनाएको छ ।

Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर