भद्रपुर।
कहिले आकाशमा कालो बादल लाग्छ र पानी पर्छ, भन्दै झापा भद्रपुरका खरबुजा किसान पानीको पर्खाईमा बसेका छन् । बगर खेतीतर्फ आकर्षित बनेका यहाँका किसानको आकाशे पानी पर्ने चाहना पूरा नभएपछि उनीहरु चिन्तित देखिएका हुन् ।
पानी नपर्दा अज्ञात रोगका कारण अहिले धमाधम खरबुजाका बोटहरु मर्न थालेको छ । बजारमा खरबुजा बेच्ने समयमा फलसहितको बोट मर्न थालेपछि लगानी डुब्ने चिन्ताले किसानलाई सताइरहेको छ ।
‘तीन महिनाको कडा परिश्रम पश्चात बल्ल बोटमा थोरै भएपनि खरबुजा फलेको छ, तर, यसपटक अज्ञात रोगले मेची बगरका अधिकांश किसानको निद्रा उडाइ दिएको छ’– स्थानीय किसान बिक्रम सहनीले भने । सहनीले भने– ‘पहिला खरबुजाको बोटमा सामान्य रोग लाग्दा औषधि छर्दा निको हुन्थ्यो, यसपल्ट कहाँबाट यस्तो रोग लाग्यो थाहा नै पाइएन ।’
‘करिब आधा विगाहा जमिनमा ३५ हजार खर्चिएर ९ सय थल्ला (विरुवा) लगाएर खरबुजा खेती गरेको छु, सोचे जस्तो खरबुजा नफलेको त्यसमाथि बोट मर्न थालेकोले यसपल्ट लगानी उठाउनै समस्या हुने भो’– उनले भने । खरबुजाको बोटबाट निस्किएको पातको टुप्पोमा रोग लाग्न थालेको छ, त्यसबाट लागेको रोग फैलिँदै जरासम्म पुगेर बोटलाई पहेंलो रंगको बनाइदिने, त्यसपछि बोट मर्न थालेको अर्को किसान राजेन्द्र साहले बताए ।
उनले भने– ‘बगरखेती गरेको धेरै बर्ष भयो, यसपल्ट पानी नै परेन, पानी परेको भए बोटमा रोग लाग्ने थिएन कि ? कुन रोग लाग्यो लाग्यो बुझ्नै सकेनांै ।’ करिव २ विगाहा जमिनमा ३ हजार विरुवा रोपेका छौं– उनले भने– डेढ लाख लगानी गरेका छांै, चार महिनामा २देखि ३ लाख कमाउने योजना थियो, तर यसबर्ष लगानी उठाउन सकिँदैनौ जस्तो छ ।’
नेपाल–भारतको सीमावर्ती नाकामा पर्ने भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारत दुवै देशका किसानले बर्षोदेखि खरबुजा र तरबुजा खेती गर्दै आइरहेका छन् । भद्रपुरको उत्तरदेखि दक्षिणसम्मको करिव २०देखि २५ विगाहा जमिनमा यहाँका किसानले बगरखेती गर्दै आइरहेका छन् । यसपल्ट अज्ञात रोगले सताएको किसान आम्दानी गर्नुभन्दा लगानी नडुब्ने योजनाका साथ दिनरात खटिरहेका छन् । एउटा बोटमा ४देखि ६ वटा खरबुजा फल्नुपर्नेमा यसपटक १ देखि ३ वटासम्म खरबुजा फलेकोमा उनीहरु चिन्तित छन् ।
किसान भन्छन्– सरकारी निकायले सहयोग गरेन
भद्रपुरस्थित मेची नदीको बगरमा किसानले आफ्नै लगानीमा बगरखेती गर्दै आइरहेका छन् । बर्षेनि बगरखेती गर्दै आइरहेका यहाँका किसानलाई गतबर्ष कृषि विकास कार्यालय झापाले केही विरुवा, खाद्यमल, पम्पसेट उपलब्ध गराएको थियो ।
साथै किसानहरुलाई खरबुजा खेतीमा लाग्ने रोगको बारेमा पनि जानकारी गराइएको थियो । तर, यसपल्ट न स्थानीय तहले सहयोग गरेको छ, न त कृषि विकास कार्यालयले नै । ‘गतसाल कृषिबाट कर्मचारी आएको थियो, तर यसबर्ष कसैले चासो देखाएन, जसले गर्दा हामी मारमा परेका छांै’– किसान सुखदेव सहनीले भने ।
सो ठाउँमा ३०देखि ४० किसानले बर्षेनि खेती गर्दै आइरहेका छन्, किसानलाई सरकारी निकायले सहयोग गरेको भए, हाम्रो परिश्रम खेर जान थिएन– उनले भने । भद्रपुर नगरपालिकाका कृषि शाखा प्रमुख शेषराज पौडेलले मेची नदीमा स्थानीय तहबाट कुनै सहयोग नभएको स्वीकार्दै कृषि विकास कार्यालयको बारेमा आफूलाई थाहा नभएको बताए ।
मेची नदीको खरबुजा पूर्वको बजार ह“ुदै काठमाडौंसम्म
कुनै बेला थियो, भद्रपुरको मेची नदीमा उत्पादित खरबुजा नेपालका विभिन्न जिल्लामा बिक्री वितरणका लागि लगिन्थ्यो । अहिले विभिन्न नदी तथा खोला किनारमा किसानले बगरखेती गर्न थालेकोले केही व्यापार खुम्चिएको छ ।
तथापि यहाँका खरबुजा अहिले पनि पूर्वको विभिन्न जिल्ला हँुदै काठमाडौसम्म लगिने गरेको छ । पहिला मेची नदीमा ६देखि ८ केजीसम्मको खरबुजा उत्पादन हुँदै आएको थियो, अहिले ५ केजीको खरबुजा पनि उत्पादन हुन छाडेको भन्दै किसानहरुले चिन्ता व्यक्त गरेका छन् ।
यहाँका किसानले प्रतिकेजी १०देखि १५ रुपैयाँसम्ममा आफ्नो उत्पादन बेच्दै आएका थिए । बिचौलियाका कारण उनीहरुले आफूले भने जस्तो मूल्य नपाएको स्थानीय किसान रामचन्द्र कामतीले बताए ।