Aamsanchar

सिद्धिहाइड्रोको पहुँच मार्ग निमार्ण शुरु

Author Image
शुक्रवार, चैत १६, २०७४

इलाम।

इलामको रोङ गाउँपालिका–६ जिर्मलेमा निर्माण हुने जलबिद्यत् योजनाको लागि सडक निर्माण शुरु भएको छ । रोङ–६ जिर्मलेको सिद्धिखोलामा निमार्णाधीन हाइड्रोको लागि काम थालनी भएको हो । १० मेघावट क्षमताको सिद्धि हाइड्रोको मुहान र पावर हाउस जानको लागि बाटो निर्माणको कार्य धमाधम भइरहेको वडाअध्यक्ष सुवास तामाङले बताए ।

जिर्मलेको रम्भ्याङको फागुने र धजेडाँडाबाट सिद्धिखोलासम्म सडक निर्माणका लागि दैनिक दुईबटा स्काभेटरको प्रयोग गरी बाटो खन्ने काम भइरहेको छ । करिब ८ किलोमिटर बाटो निर्माण गर्दा आयोजना सञ्चालन स्थलमा पुगिने भएकाले काम धमाधम भइरहेको तामाङले बताए । हाइड्रोमा प्राइम कर्मसियल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले आधा–आधा रकम लगानी गर्ने भएका हुन् ।

कूल एक अर्ब ८३ करोडको लगानीमा २०७७ सालसम्ममा निर्माण सम्पन्न गर्ने आयोजनाका अध्यक्ष केशबकुमार बुढाथोकीले जानकारी दिए । ‘एक अर्ब २७ करोड बैंकले लगानी गर्ने र बाँकी रकम अन्य श्रोतबाट जुटाउने योजना रहेको छ’– अध्यक्ष बुढाथोकीले भने– ‘पूर्वाधार निर्माण सम्पन्न भई एक बर्षमा आयोजनाको काम शुरु हुने छ ।’

आयोजनाको लागि सिद्धिखोलामा २३ मिटरको बाँध बाँधिने भएको छ । लुम्बिनी हाइड्रो प्रालिबाट सिद्धिहाईड्रो कम्पनीमा स्वामित्व हस्तानतरण गरी गत असोजको २६ गते पीपीए सम्झौता गरिएको र सम्झौता गरिएको एक बर्षभित्र काम थालनी गर्नुपर्ने भएकाले पनि अब भने काम हुनेमा स्थानीयहरु विश्वस्त रहेका छन् । उत्पादन भएको बिद्युत्लाई १६ किलोमिटर लामो दुरीबाट ३३ केभी प्रशारण लाइन फिक्कलमा जडान गरिने योजना रहेको छ ।

इलामको सुदूरपूर्वको निक्कै दुर्गम मानिएको स्थानमा उक्त जलबिद्युत् आयोजना निर्माण हँुदा स्थानीय स्तरमा बिकास निमार्णमा सहयोग मिल्ने स्थानीय केशर प्रधानले बताए । जलबिद्युत्को लागि तयार भएको सडक स्थानीयबासीले पनि प्रयोग गर्न सक्नेछन् भने सो क्षेत्रमा उत्पादित तरकारी लगायतको स्थानीय उत्पादनले बजार पाउन सक्नेछ ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर