झापा,

प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले झापादेखि पाँचथर जोड्ने दमक–चिसापानी–रबि सडक (फाल्गुनन्द मार्ग) अढाई वर्षभित्र कालोपत्रे गरिसक्ने योजना रहेको बताउनुभयो ।

हिजो इलामको माङसेवुङ गाउँपालिकास्थित बागमारा र घर्तिदोभान पुलको शिलान्यास कार्यक्रममा मन्त्री आङ्बोले आगामी निर्वाचनमा आफू भोट माग्न आउँदा यो बाटो कालोपत्रे गरेर मात्रै आउने दाबी गर्नुभयो ।

उहाँले कालोपत्रे भएपछि यस सडक मार्गले पहाड र मधेसबीच व्यापारिक सम्बन्ध सहज र सुदृढ हुने समेत धारणा राख्नुभयो । कार्यक्रममा मन्त्री आङ्बोले प्रदेशको विकासमा बजेटको अभाव हुन नदिने दाबी पनि गर्नुभयो ।

कार्यक्रममा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बूले विकासमा राजनीति नगरे सरकारसँग सहकार्य गर्न आफूहरू पनि तयार रहेको बताउनुभयो । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरीका अनुसार १८ महिनाभित्रमा दुवै वटा पुल निर्माण गरिसक्नुपर्ने गरी इलामको गजुरमुखी भगवती जेभिलाई जिम्मा दिइएको छ ।

