Aamsanchar

चाहेको सडकमा सवारी साधनलाई अनुमति दिइने

Author Image
शुक्रवार, चैत २३, २०७४

काठमाडौँ,

यातायात व्यवस्था विभागले देशभरका यातायात व्यवस्था कार्यालयलाई जुनसुकै सडकमा अनुमति लिन आउने यातायात कम्पनीका सवारी चल्न पाउने गरी रुट इजाजत दिन निर्देशन दिएको छ ।

विभागले आज देशभरका सबै कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । यो निर्देशनपछि देशभरका यातायात एकाधिकार (सिण्डिकेट) हट्ने विश्वास गरिएको छ । राजधानीकै धेरै सडकमा एउटै यातायात समितिका सवारी मात्र सञ्चालन हुँदै आएको छ । यसले यात्रु मारमा पर्ने गरेका छन् ।

विभागले चैत १८ गते आइतबार यातायातसम्बन्धी पुराना तीनवटा निर्देशिका कार्यविधिलाई संशोधन गर्दै छवटा नयाँ जारी गरेको थियो । संशोधन एवम् नयाँ जारी भएका निर्देशिका कार्यविधिबमोजिम कार्यालयलाई पत्राचार गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले राससलाई जानकारी दिनुभयो ।

विभागले नयाँ रुट परमिट लिन यातायात समितिको सिफारिश लिनुपर्ने व्यवस्था पनि हटाएकाले अब जुनसुकै कम्पनीका सवारी सबै सडकमा निर्बाध गुड्न पाउने उहाँले बताउनुभयो । यातायात कम्पनीलाई विभागमा पञ्जीकरण भई रुट परमिट लिन यातायात कार्यालयमा निवेदन दिन पनि विभागले आह्वान गरेको छ ।

Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर