Aamsanchar

चार घर आगलागी हुँदा लाखौँको क्षति

Author Image
सोमवार, चैत २६, २०७४

खोटाङ, 

आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेमा चार घर जलेर नष्ट भएको छ । स्थानीयवासी पदमराज राईको घरबाट सल्किएको आगोले आइतबार छिमेकी अकिलराज राई, अगमराज राई र गमराज राईको घर तथा गोठ जलेर नष्ट भएको हो ।

आगलागीमा पदमराजको रु २४ लाख ३० हजार, अकिलराजको रु २५ लाख ७९ हजार, अगमराजको रु २४ लाख ५१ हजार, गमराजको रु २२ लाख ९६ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै, गोठ जल्दा गमराजको तीन बंगुर, ११ बाख्रा र आठ पाठा, अकिलराजको एउटा बाख्रा र नौ पाठा, पदमराजको दुई वटा बंगुर र चार वटा बाख्रा र अगमराजको दुईवटा बंगुर जलेर मरेको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

आगलागीबाट बिचल्लीमा परेका पीडितलाई आइतबार राति नै पाल, चामल, नूनतेल, तरकारी, चिउरा, चाउचाउलगायत प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताउनुभयो । यसअघि हलेसी बजारमा भएको आगलागीमा १३ घर क्षति भएको थियो ।

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित जुरेथुम्का सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । शनिबार बिहानदेखि शुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो ।

डढेलो क्रमशः खनालबेँसी, ढकाल बेँसी र राईगाउँ हुँदै वनपालातर्फ फैलिएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताउनुभयो । जिल्लाकै दोस्रो ठूलो सामुदायिक वनको पूर्वी जुरेथुम्काबाट शुरु भएको भीषण डढेलो क्रमशः पश्चिम जुरेथुम्कातर्फ फैलिँदै गएको छ ।

डढेलो निभाउने क्रममा स्थानीयवासी विप्लव राई घाइते भएका छन् । डढेलोमा परेर अनुहार पिल्सिएका राईलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको छ । पचास हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा लागेको डढेलोको धुवाँ टाढाटाढाबाट समेत देखिएको छ । शनिबार दिनभर २०० जना स्थानीयवासी भेला भएर निभाउने प्रयास गर्दा पनि डढेलो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले बताएका छन् ।

जंगल सकिएपछि मात्र डढेलो आफँै नियन्त्रणमा आउने अवस्था देखिएको छ । सुक्खा मौसम भएकाले आगो नियन्त्रणमा लिन कठिनाइ भएको हो ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर