भद्रपुर।

झापाको सदरमुकाम भद्रपुर नगरपालिका अन्तर्गत १, २ र ३ का वडाबासीले घर नक्सा पास गराउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
घर नक्सा पास पीडित न्याय माग संघर्ष समितिले भद्रपुर नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला समन्वय समिति झापामा ज्ञापनपत्र बुझाएका हुन् ।

चारआली–केचना सडकखण्ड निर्माणको क्रममा सडक आसपासका घरधनीको घर नक्सा पासमा भद्रपुर नगरपालिकाले रोक लगाएपछि त्यसको विरोधमा वडाबासी संघर्षमा उत्रिएका हुन् ।
सडकदेखि दायाँबायाँ १५÷१५ मीटर (५०÷५० फिट) सडक खाली गर्नुपर्ने प्रावधान अनुसार सडक आसपासका स्थानीयले जमिन खाली गराइसकेका छन् । १५÷१५ मिटर जमिन खाली गराइसक्दा पनि थप दायाँबायाँ ६÷६ मिटर जमिन खाली गर्नुपर्ने र त्यसभित्र घर तथा भवन बनाउन नपाउने सडक विभागको प्रावधान अनुसार नगरपालिकाले घर नक्सा पासमा रोक लगाएको हो । घर नक्सा पासमा नगरपालिकाले रोक लगाएपछि त्यस क्षेत्रका चार सय बढी घरपरिवार पीडित बनेको संघर्ष समितिका अध्यष्क्ष शिवकुमार राजभण्डारीले जानकारी दिए ।

२०३७ सालमा पूर्नवास कम्पनीले पृथ्वीनगरमा स्थानीयलाई जमिन दिएपछि कम्पनीको नियम अनुसार उनीहरुले सडक छाडेर घर निर्माण गरेका थिए । सडकदेखि १५ मिटर त्यसमा पनि ६ मिटर थपेर २१ मिटर जमिन खाली गराएमा सडक आसपासमा निर्माणाधिन घर भत्किनुका साथै सुकुम्बासी हुने अवस्था सृजना हुन लागेको समितिका सल्लाहकार गणेश पोखरेलले जानकारी दिए ।
उनले भने– ‘साविक पृथ्वीनगर गाविस हुदाँ निर्माण तथा यातायात मन्त्रालयको सडक वर्गीकरणमा निर्माणाधीन सडकखण्ड सहायक राजमार्गमा नपरेको र त्यतिबेला भद्रपुर–चारआली र इलामसम्मको सडकलाई मात्र सहायक राजमार्ग भनिएको अवस्था अहिले जमिन खाली गराउने वहानमा नगरपालिकाले नक्सा पास रोक्नु उचित होइन ।’ ‘सडक विभागको ऐन र नीति अनुसार नै यहाँ बासिन्दा बसोबास आएको छ, उनले भने– ‘अहिले सडक विस्तारको नाममा जमिन खाली गराउने कुरा नियमसंगत भएन ।’
नगरपालिकाले घर नक्सा तथा जग्गा पास गरी दर्ता गर्नुपर्ने वा चलनचल्तीको मुनासिव मुआब्जा दिने ठोस निर्णय सम्बन्धित निकायले तत्काल नगरिदिए चरणबद्ध आन्दोलनमा उत्रिने स्थानीय खड्ग लिम्बूले बताए । संघर्ष समितिले पुस ९ गते भद्रपुर नगरपालिका र चैत १२ गते प्रधानमन्त्री कार्यालयमा न्यायका लागि निवेदन बुझाइसकेको छ ।

