Aamsanchar

जग्गाधनीद्वारा मुआब्जा माग

Author Image
बिहिवार, वैशाख ६, २०७५

दमक, 

झापाको दमक नगरपालिकासहित कमल गाउँपालिकाको दुईवटा वडामा निर्माण हुने भनिएको औद्योगिक पार्कका लागि १९४ स्थानीय जग्गाधनीले मुआब्जाको माग दाबी गरेका छन् ।

औद्योगिक पार्क स्थापनाका लागि दमक नगरपालिका–१० र कमल गाउँपालिका–७ का बासिन्दाले औद्योगिक व्यवस्थापन लिमिटेडसँग मुआब्जाको माग गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले गत फागुन १४ गते सार्वजनिक सूचना प्रकाशित गरी माग दाबीसहितको दर्खास्त आह्वान गरेको थियो । दमकस्थित औद्योगिक पार्क जग्गा प्राप्तिसम्बन्धी सम्पर्क कार्यालयका मुख्य सम्पर्क अधिकृत सन्देश थापाले मुआब्जाका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको बताउनुभयो । सो क्षेत्रको ३६७ बिगाह जग्गा प्राप्तिका लागि ४३० जग्गाधनीको नाममा सूचना प्रकाशित गरिएको थियो ।

औद्योगिक क्षेत्र स्थापनाका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा जग्गा प्राप्ति गर्न जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो । यसै आर्थिक वर्ष भित्रमा मुआब्जासम्बन्धी काम सक्नेगरी तयारी गरिएको उहाँले बताउनुभयो ।

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर