(अमित खम्बू)
अर्जुनधारा।

स्थानीय सरकारले लागू गरेको निर्णय विपरीत नगरपालिका अन्तर्गतका मुख्य सडकहरुमा तोकिएको समयबाहेक निर्माण सामग्री ढुवानी गरी गुड्ने यातायातका साधनहरुलाई नियन्त्रणमा लिन शुरु गरिएको छ ।

नगरपालिकाको सूचना अनुसार अव्यवस्थित तरिकाले गुड्ने सवारी साधनहरुका कारण आवागमनमा समस्या, ध्वनि प्रदुषण तथा दैनिक जनजीवनमा असर पर्न गएको भन्दै नगरवासीहरुबाट गुनासो आएपछि नगर बोर्डको फागुन २७ गते सम्पन्न बैठकले गत मंगलबारदेखि लागू हुने गरी सो सडकहरुमा विहान ९ देखि १० बजेसम्म, दिँउसो ३ः३० देखि ४ः३० बजेसम्म र राति ९ देखि विहान ५ बजेसम्म गुड्न रोक लगाइएको हो ।

यी हुन् नगरपालिकाका मुख्य सडकहरुः

नगरपालिकाको तथ्याङ्क अनुसार बिर्तामोड–महानन्दचोक–शनिश्चरे–जयपुर सडक, बिर्तामोड–शनिश्चरे–खुदुनावारी सडक, चारपाने–ओमचोक–नारायणचोक–हात्तीकिल्ला–बरडाँडा–बुधबारे सडक, लक्ष्मीपुर–पानीकल–रातेखाल–तामाङचोक–मदनपुर सडक र दुर्गापारी–दानाबारी सडक रहेका छन् ।
यसैबीच शनिश्चरे प्रहरी चौकीका प्रमुख सई सुरेशकुमार सँग्रौला र ट्राफिक बिट प्रमुख प्रहरी हवल्दार दलबहादुर खत्रीको संयुक्त चेकजाँचको क्रममा शुक्रबार १७ वटा ट्रिपर तथा ट्याक्टर नियन्त्रणमा लिइएको चौकीका प्रमुख सई संग्रौलाले जानकारी दिए । नियन्त्रणमा लिइएको ट्रिपरहरुमा मे१ख २३८१, मे१ख २३८५, मे१ख २४३४, मे१ख २४९५, मे१ख २८६०, मे१ख २८९५ र ना१ख ६७३६ नम्बरका रहेका छन् । त्यसैगरी ट्याक्टरहरुमा मे१त १९६८, मे१त २४८०, मे१त ३६६१, मे१त ४०१४, मे१त ४५०३, मे१त ५०७५, मे१त ५१८६, मे१त ५२६४, मे१त ५९२४ र मे१त ६२०७ नम्बरका रहेका छन् ।
नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई पहिलोपटक भएको हुँदा सचेत गराई छोडिएको ट्राफिक प्रहरी बिट प्रमुख खत्रीले बताए । नियन्त्रणमा लिइएको साधनहरु छाडेरमात्र समस्याको समाधान नहुने हुँदा गुड्न प्रतिबन्ध गरिएको समय र क्षेत्रमा त्यस किसिमको यातायातका साधनहरु गुडेको फेला परे नगरपालिकासँगको समन्वयमा आवश्यक कार्वाही गरिने प्रमुख खत्रीले बताए ।
यता अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले सम्बन्धित पक्षहरुसँग छलफल गरी गरिएको सो निर्णय कार्यान्वयन गर्न आफू लाग्ने बताए । ‘जरिवानाका विषयमा अहिले नतोकिए पनि, आवश्यक परे प्रचलित ऐन अनुसार कार्वाही गर्नेछौं’– उनले भने ।

