Aamsanchar

गुरुयोजना निर्माणको काम अन्तिम चरणमा

Author Image
सोमवार, वैशाख १०, २०७५

अर्जुनधारा।

झापाको अर्जुनधारा–१ मा प्रारम्भिक चरणको कार्य भइरहेको भिमले–सातकटेरी–कालीखोला पर्यापर्यटन सिमसार क्षेत्रको गुरुयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहद्वारा आयोजित गुरुयोजनाको मस्यौदा माथि छलफल कार्यक्रममा सो क्षेत्रको गुरुयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताइएको हो ।

जनप्रतिनिधिहरु, समूहका सल्लाहकारहरु, पदाधिकारी तथा सदस्यहरु, उपभोक्ताहरुसहितको सहभागितामा सम्पन्न सो कार्यक्रमबाट संकलन भएको सुझावहरु समावेश गरी गुरुयोजनाको अन्तिम प्रतिवेदन तयारी हुने गुरुयोजना तयारीको जिम्मा पाएको लक्ष्मी आले मगरले जानकारी दिए ।

कार्यक्रममा मगरसहित लोकप्रिय खनालले सिमसार क्षेत्रको परिकल्पना, अवधारणा, विधि र प्रक्रिया, पर्यापर्यटनको मूल्य मान्यताहरु, ध्येय, लक्ष्य, उद्देश्यहरु, क्रियाकलापहरु, विशेषताहरुको विषयमा सहजिकरण गरेका थिए ।

समूहका अध्यक्ष चक्रबहादुर तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, अर्जुनधारा–१ का वडाध्यक्ष गजाधर खतिवडा, वडा सदस्य दिलबहादुर सारु, सामुदायिक वन नगर महासंघका अध्यक्ष दिव्यप्रसाद कट्टेल, सल्लाहकार सन्तबहादुर गोले, हरि घिमिरे, मिलनकुमार श्रेष्ठ लगायतले सुझाव राखेका थिए ।

बहुधार्मिक, सांस्कृतिक र पर्यावरणमैत्री पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक विकासमा विविधकरण गर्ने परिकल्पनासहित पञ्च वर्षे योजना अन्तर्गत निर्माण हुन लागेको सो क्षेत्रको जम्मा क्षेत्रफल अनुमानित २२ हेक्टर र जम्मा लागत सात करोड रुपैयाँ लाग्ने बताइएको छ । कार्यक्रमको सञ्चालन समूहकी सहसचिव तारा आचार्यले गरेकी थिइन् ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर