Aamsanchar

पौडेलको खोजीका लागि उच्चस्तरीय वैधानिक समिति गठन माग

Author Image
आइतवार, असार १७, २०७५

पोखरा, 

नेपाली काँग्रेस कास्कीले नौ दिनदेखि बेपत्ता पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत तथा स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष ओमराज पौडेलको खोजी र छानवीनका उच्चस्तरीय वैधानिक समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

पार्टीका जिल्ला सभापति कृष्णबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलले आज कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै खोजीलाई प्रभावकारी बनाउन माग गरेको छ ।

अवस्था अज्ञात रहेकै अवस्थामा शनिबार महानगरपालिकाले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउनु र सोही बेला कास्की प्रहरी प्रमुखले अभिव्यक्ति र सार्वजनिक गरेका घटना विवरणप्रति पार्टीको ध्यानाकर्षण भएको पार्टी सभापति केसीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।महानगरपालिकाले पौडेललाई जिम्मेवारीबाट हटाउने र मनोबल गिराउने किसिमबाट गरिएका व्यवहारको छानवीन गर्न पार्टी सभापति केसीले माग गर्नुभयो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले बेपत्ताको खोजीलाई प्रशासनले निरन्तर रुपमा अघि बढाएको बताउँदै दवाव वा अन्य मनोवैज्ञानिक तनावका कारकको खोजी एवं अनुसन्धान गरिने उल्लेख गर्नुभयो ।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर