इलाम।

महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले ललिपप बनाउने र मुडा बुन्ने तालिम प्रदान गरिएको छ ।

फाकफोकथुम गाउँपालिका र वडा नं. १ को आर्थिक सहयोग तथा सचेतना केन्द्र र महिला सञ्जालको आयोजनामा सात दिने ललिपप बनाउने र १५ दिने मुडा बुन्ने तालिम भएको हो । सञ्जालकी अध्यक्ष सरस्वती खड्काको अध्यक्षता र वडाध्यक्ष टेकवीर नेम्वाङको प्रमुख आतिथ्यमा तालिम समापन कार्यक्रम भएको थियो ।
कार्यक्रममा वडाध्यक्ष नेम्वाङले महिलालाई स्वरोजगार बनाउन आगामी दिनमा यस्तै तालिम सञ्चालन गरिने र नयाँ आर्थिक वर्षदेखि सुत्केरी खर्च दुई हजार रुपैयाँ र मृतकको किरिया खर्च स्वरुप तीन हजार रुपैयाँ प्रदान गर्न लागिएको जानकारी दिए

यसअघि कानूनी साक्षरताको लागि महिलाहरुलाई अभिमुखीकरण जनचेतना कार्यक्रम सञ्चालन गरिएको र यसबाट चेतनाको विकासमा थप मद्दत पुगेको उनले बताए । तालिममा ललिपप बनाउन पुरुष चार र महिला ११ गरी जम्मा १५ जना सहभागी थिए भने मुडा बुन्ने तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको थियो । ललिपपको लागि खगेन्द्र लिम्बू र मुडा बुनाइको लागि धनराज नेम्वाङले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रशिक्षकलाई मायाको चिनो सहित सम्मान–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघ वडा नं. १ का अध्यक्ष दानबहादुर तामाङ, प्रशिक्ष धनराज नेम्बाङ, सञ्जालकी कोषाध्यक्ष उमादेवी भण्डारी, सदस्य रुपा तामाङ, सिर्जना भट्टराई, टीका बस्नेत, शिक्षिका तिलमाया दाहाल लगायतले बोलेका थिए ।
तालिममा उत्कृष्ट मुडा बुन्ने प्रथम, द्वितीय र तृतीयको क्रमशः विमला नेम्वाङ, जानुका खड्का र सोममाया राईलाई पुरस्कार दिइएको थियो । त्यस्तै उपस्थितलाई ललिपप र सहभागीलाई सिप अनुसारको सामग्री वितरण गरिएको थियो । तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रमको सञ्चालन सञ्जालकी सचिव सुकमाया थेगिमले गरेकी थिइन् ।

