घैलाडुब्बा।

पाँचबर्षे गुरुयोजना बमोजिम कोच संग्राहलयको निर्माण कार्य शुरु भएको छ ।

कनकाई नगरपालिका–९मा दाताहरुले दिएको आठ कठ्ठा जग्गामा कोच संग्राहलय निर्माण भइरहेको हो । पहिलो चरणमा संग्राहलयको कम्पाउन्ड वालको काम थालिएको छ । त्यसका लागि पूरातत्व बिभाग काठमाडौंले पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ ।
सो कम्पाउन्ड वालको कनकाई–९का वडाध्यक्ष प्रेम राजवंशीले मंगलवार शिलान्यास गरे । मातृभूमि निर्माण सेवाले कम्पाउन्ड वाल निर्माण गर्ने जिम्मेवारी पाएको कम्पनीका गोपाल खतिवडाले बताए । कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रबद्र्धन केन्द्रले गुरुयोजना बनाएर कोच संग्राहलय निर्माण थालेको हो ।

कनकाई नगरपालिकाको सहयोगमा बनाइएको गुरुयोजना तीन करोड भन्दाबढीको छ । गुरुयोजना अनुसार पहिलो चरणमा घेरावारा गर्ने र त्यसपछि कोच राजवंशी सांस्कृतिक केन्द्र, बहुउद्देश्यीय प्रदर्शनी केन्द्र, पार्किङ लगायतका काम गरिने कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रबद्र्धन केन्द्रका अध्यक्ष समेत रहेका वडाध्यक्ष राजवंशीले बताए । उनले बिस्तृत परियोजना प्रतिवेदन तयार गरी बिभिन्न निकायसमक्ष बजेट माग गरिएको जानकारी दिए ।
झापा, मोरङ र सुनसरीमा आदिमकालदेखि बसोबास गर्दै आएका कोच राजवंशीहरुको पहिचान लोप हुँदै गएको र हराउँदै गएको आफ्नो संस्कार संस्कृति र पहिचानलाई जोगाउनका लागि संग्राहलय निर्माण गर्न जग्गा प्रदान गरिएको जग्गादाता बिक्रम राजवंशीले बताए ।

