Aamsanchar

स्व. ढकाललाई समर्पण गर्दै नेम्वाङको पुस्तक बजारमा

Author Image
बिहिवार, असार २१, २०७५

बिर्तामोड।

पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको २०७४ मंसीर २३ गते निधन भयो । उनको निधनले सिंगो पत्रकारिता जगत स्तब्ध बन्यो ।

चार दशकभन्दा बढी समय पत्रकारिता क्षेत्रमा बिताएका ढकालले समाज रुपान्तरणका लागि खेलेको भूमिका सबैका लागि प्रेरणादायी बन्यो । यसैबीच स्व। ढकाललाई समर्पण गर्दै लिम्बुवान आन्दोलनका अगुवा वीर नेम्वाङले संस्मरण संग्रह नै तयार गरेका छन् । ‘लिम्बुवान भाषिक आन्दोलनदेखि स्वायत्तता आन्दोलनसम्म’ नामक उनको संस्मरण संग्रहमा ढकालले लिम्वुवान आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरिएको छ । पुस्तकका लेखक नेम्वाङ्ले ढकालप्रति समर्पण गर्दै तयार पारेको पुस्तकमा लेखिएको छ– ‘ढकाल लिम्बुवानका भूमि पुत्र हुन् ।’

लिम्बुवान स्वायत्तताको मागलाई जातिवादी र विखण्डनवादी घोषित गर्न र लिम्बुवान स्वायत्तताका हिमायतीहरुको तेजोवध गर्न कुनै कसर बाँकी नराख्ने लिम्बुवानवासी राजनेता साहित्यकार तथा पत्रकारहरुको भीडमा ढकालले लिम्बुवान स्वायत्ततालाई त आत्मसात गरे नै ग्रेटर लिम्वुवान र रेफरेण्डमको समेत पैरवी गरेको उल्लेख छ ।

पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक ढकालप्रति समर्पण गर्दै प्रकाशन गरिएको पुस्तकको चर्चा परिचर्चा कार्यक्रममा वक्ताहरुले यस्तो उल्लेख गरेका थिए । क्षितिज साहित्यिक परिवारको आयोजनामा बिर्तामोडस्थित होटल माछापुछ्रेमा बुधवार भएको कार्यक्रममा लिम्बुवान नेताहरु मिसेकहाङ थाम्सुहाङ, पदम अधिकारी, मुकुम नेम्वाङ, भीम राई, राजकुमार पालुङ्वा, गोकुल भुजेल, समर राई, गौरीमान राई, दीपेश राई, केपी पालुङ्वा, पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला लगायतले पुस्तक लिम्बुवान र लिम्बुवान आन्दोलन बारे फैलिएको भ्रम चिर्न सफल हुने बताएका थिए ।

कार्यक्रममा लेखक वीर नेम्वाङले पुस्तक कसैप्रति पूर्वाग्रह राखेर नलेखिएको भन्दै लिम्बुवान आन्दोलनमाथि दृष्टिगत गरिएको बताए । उनले पुस्तकमा लिम्बुवान आन्दोलनसँग सम्बन्धित एकाध घटना पात्र एवम् प्रबृत्तिलाई मात्र समेटिएको बताए । निम्बल पब्लिकेशन काठमाडौंले प्रकाशन गरेको पुस्तकमा ‘लिम्वुवान आन्दोलनको प्रस्थान विन्दु’ देखि ‘लिम्बुवान आन्दोलनः एक अनुभूति’ सम्म गरेर २२ वटा संस्मरण समावेस भएको लेखक नेम्वाङले बताए । पुस्तकको सहजीकरण प्रकाशक टंक सेलिङले गरेका थिए । मित्र लिङ्देनको अध्यक्षता तथा पुस्तकका लेखक वीर नेम्वाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन सोदुहाङ लिम्बूले गरेका थिए ।

Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर