Aamsanchar

पूर्वी नाकामा ‘एक्स–रे मेसिन’

Author Image
शुक्रवार, असार २९, २०७५

खगेन्द्र घिमिरे / काँकरभिट्टा।

नाकाको सुरक्षाको बिषयमा हरेक समय आवाज उठ्ने गर्दछ । सीमा नाका क्षेत्रमा हुने तस्करी जस्ता कुराले सीमा नाका सँधै विवादमा पर्ने गरेका छन् ।

नेपालको पूर्वी नाका काँकरभिट्टा पनि यस बिषयमा बारम्वार चर्चा कमाउँदै आउने नाकामध्ये एक हो । नाम भन्दा बढी तस्करीको अखडाको रुपमा परिचय पाएको यो नाकामा नाकाको सुरक्षाको निम्ति सुरक्षा फौज तैनाथ अवस्थामा रहेका छन् । भारतबाट नेपाल भित्रिन सक्ने अवैध सामानको चेकजाँचका लागि एक्स–रे मेसिन भित्रिएसँगै अब भने यस नाकाको बदनाम कम हुने अनुमान गरिएको छ ।

सीमा क्षेत्रमा हुने अवैध ओसारप्रसार नियन्त्रणका लागि नेपालको पूर्वी नाकामा ‘एक्स–रे मेसिन’ सहित एकीकृत चेकजाँच प्रणाली सञ्चालनमा आएको छ । मेची भन्सार कार्यालयले नेपाल भारत सीमावर्ती नाकामा हुन सक्ने अवैध ओसारपसारका लागि उपयुक्त प्रणालीको रुपमा पूर्वी प्रवेशद्वारमा स्क्यान मेसिन जडान गरेको हो ।

प्रवेशद्वारमा यात्रुलाई सहज तरिकाबाट चेकजाँच गर्न र शंकास्पद सामानलाई मेसिनद्वारा स्क्यान गरिने यो मेसिन भन्सार नाकाको लागि उपयुक्त हुने मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख टेकबहादुर अर्यालले बताए । भन्सार छली, अवैध सामानको पैठारी लगायत सुरक्षाको दृष्टिकोणले यो प्रणाली प्रभावकारी हुने अर्यालको भनाइ छ । यो मेसिनको प्रयोगसँगै प्रवेशद्वारमा निर्माण भएको यात्रुशाखा भवनमा मेसिनमा स्क्यान गरेको सामान सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीले संयुक्त रुपमा चेकजाँच गर्नेछन् ।

एक्स–रे मेसिन सञ्चालनमा ल्याएसँगै मेची भन्सार कार्यालयको भन्सार जाँच टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकरभिट्टाको संंयुक्त टोलीले एकै ठाउँबाट चेकजाँच गर्न थालेका छन् । नेपालको पूर्वी नाका व्यवसायिक रुपमा समेत मुख्य नाकाको रुपमा लिने गरिएको छ । यो नाका भारत, बंगलादेश, भुटान लगायतका तेस्रो मुलुकसँग सम्बन्ध जोडिएको नाकाको रुपमा परिचित छ । नाकामा जडान भएको ‘एक्स–रे मेसिन’ ले अवैध हातहतियार बरामद र व्यक्ति पहिचानमा समेत सजिलो हुने हुनेछ ।

कानूनले प्रतिबन्ध गरेका बस्तुहरु लागूऔषध, बिस्फोटक पदार्थ, हातहतियार, मादकपदार्थ लगायतका बस्तुहरु यो मेसिनको प्रयोगसँगै पत्ता लगाउन छिटो र सजिलो हुने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी टंकप्रसाद भट्टराई बताए ।

भन्सार बिभागबाट २ बर्षअघि नै मेची भन्सारमा पठाएको यो मेसिन आवश्यक कर्मचारी तथा सीमा क्षेत्रमा राख्ने स्थानको अभावले सदुपयोग हुन सकेको थिएन । करिव १ करोड मूल्य बराबरको सो मेसिनमा अवैध बस्तु भए तत्काल देखिन्छ ।

यसै नाकामा भन्सारको निगरानीमा ३२ वटा सीसी क्यामेरा समेत बिभिन्न क्षेत्रमा जडान गरिएको छ । कति पय अवस्थामा दैनिक आवतजावत गर्ने व्यापारीहरु त चेकजाँच भन्दै सेटिङ गरी सामान कटाउने गर्दै आएका थिए ।

Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर