Aamsanchar

धुर्मुस-सुन्तलीले भने, ‘हामी कति पनि विचलित छैनौं’

Author Image
शुक्रवार, असार २९, २०७५

काँकरभिट्टा,

भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाको सम्मान थाप्न गृह जिल्ला झापा आएका कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले सामाजिक काम गर्न आफूहरु कति पनि विचलित नभएको बताएका छन्।

प्रतिष्ठानको एक लाख नगद पुरस्कारसहितको सम्मान थापेपछि कलाकार तथा सामाजिक अभियन्ता धुर्मुसले आलोचनाकै कारण सजग भएर काम गर्ने प्रेरणा मिलेको बताए।

उनले भने, ‘आलोचना भए पनि हामी त्यस्लाई सकारात्मक रुपमा लिएर सामाजिक काम गर्न हिँडेका छौं। हामी काम गर्नबाट बिचलित हुने छैनौं।’उनले नेपालीहरुको साथ माया पाइरहे काम गर्न कुनै गाह्रो नहुने बताए। धुर्मुसले भने, ‘हामी देश बनाउन भनेर हिँडेका मान्छे पछि हट्दैनौं।’

कलाकार कुञ्जना घिमिरेले आलोचना भयो भनेर चिन्ता लिनुपर्ने अवस्था नरहेको बताइन्। आफू सम्मानबाट निकै उत्साहित बनेको बताउँदै उनले भनिन्, ‘काम गर्नेमाथि मात्र आलोचना हुन्छ। कामै नगरि बस्नेलाई कस्ले के भन्छ र!’

आफूले सानैदेखि आलोचना खेप्दै आएको हुनाले अहिलेको सामाजिक सञ्जालमा धुर्मुस सुन्तली फाउन्डेसनमाथि लागेको आरोप केही नविगार्ने उनको भनाइ थियो। २०५ औँ भानु जयन्तीको अवसरमा शुक्रबार काँकरभिट्टामा भएको कार्यक्रममा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत उनीहरुलाई सम्मान गरिएको हो।

पत्रकार राजु अधिकारीलाई रु २५ हजारको धनमाया देवकुमारी, प्रजापति उप्रेती पत्रकारिता पुरस्कार र साहित्यकार राजेन्द्र संग्रौलालाई रु २५ हजारको हेमराज मेदनी खरेल साहित्यिक पुरस्कार प्रदान गरिएको छ ।

दृष्टिविहीन गायक जेठा मुर्मुलाई भानु प्रतिभा पुरस्कार र इञ्जिनियर रुद्र मैनालीलाई प्रतिभा सम्मान प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले जानकारी दिए। उनीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले दोसला, सम्मान पत्र र नगदले सम्मान गरेका थिए।-देशसञ्चार अनलाइनबाट

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर