Aamsanchar

झापामा करणीका मुद्दा बढ्दै

Author Image
आइतवार, असार ३१, २०७५

भद्रपुर।

जबरजस्ती करणी सम्बन्धी मुद्दा काठमाडौंपछि झापा जिल्लामा बढी पर्ने गरेको झापा जिल्ला अदालतले जनाएको छ ।

जबरजस्ती करणी अन्तर्गतको उद्योग तथा हाडनाता मुद्दामा चालूआर्थिक बर्षको जेठ मसान्तसम्म १०६ वटा मुद्दा झापा अदालतमा पेश भएको जनाइएको छ । त्यसमध्ये अघिल्लो बर्षका गरी ७४ वटा मुद्दा फछ्र्यौट भएको झापा अदालतका प्रमुख जिल्ला न्यायाधीश खिलनाथ रेग्मीले जानकारी दिए ।

‘काठमाडौपछि झापामा सबैभन्दा बढी मुद्दा जबरजस्ती करणीको पेश भएको छ’–उनले भने– ‘पहिला सहमति भएर क्रियाकलाप हुन्छ, पछि सम्बन्ध बिग्रिएर करणीमा मुद्दा हाल्ने अदालती र प्रहरी अनुसन्धानबाट धेरै केस भेटिए ।’ ‘स्थानीयको बयान अनुसार घटनास्थलमा प्रहरीले मुचुल्का बनाउँछ, त्यही मुचुल्काको आधारमा अदालतमा मुद्दा पेश गरिन्छ, तर पीडितले अदालतमा आएर बयान फेर्दा यस्ता घटनाको फैसला गर्न न्यायाधीशलाई समेत समस्या हुने गरेको छ– उनले भने ।

१८ बर्ष केटी हुन्छ भने २० बर्षको केटा हुन्छ, अब त्यस्तो उमेरमा केटीले जबरजस्ती करणी गरेको भन्दै मुद्दा हाल्छन्– न्यायाधीश माधव अधिकारीले भने– त्यस्तोमा जबरजस्ती करणी कसरी सम्भव हुन्छ । जबरजस्ती करणी गर्दा त शरीरका विभिन्न अंगमा चोट पटक लाग्नुपर्ने त्यस्तो पनि भएको पाइँदैन– उनले थपे ।

झापामा ४९ प्रतिशत मुद्दा फछ्र्यौट

झापा जिल्ला अदालतले चालूआर्थिक बर्षको जेठ मसान्तसम्म ४९.०६ प्रतिशत मुद्दा फछ्र्यौट भएको अदालतका सूचना अधिकारी हरि पराजुलीले जानकारी दिए । अघिल्लो आर्थिक बर्षको एक हजार ६ सय ३९ गरी यस आर्थिक बर्षको जेठ मसान्तसम्म चार हजार एक सय ७ मुद्दा दर्ता भएको छ । त्यसमध्ये रिट र पुनरावेदन गरी दुई हजार १५ मुद्दा फछ्र्यौट भएको छ भने दुई हजार ९२ मुद्दा फछ्र्याैट हुन बाँकी रहेको पराजुलीले बताए ।

उनका अनुसार अंशमा चार सय १६, सम्बन्ध विच्छेद छ सय ६३, मानव बेचबिखन तथा ओसार पसारमा २७, लागू औषधमा एक सय ११ र अन्यमा १ हजार एक सय ४५ वटा मुद्दा दर्ता भएको मध्ये अंशमा तीन सय ३३, सम्बन्ध विच्छेदमा छ सय २, मानव बेचबिखन तथा ओसारपसारमा १८, लागूऔषधमा ८२ र अन्यमा नौ सय ६ वटा मुद्दा फछ्र्यौट भइसकेको छ ।

अदालतले अघिल्लो र यसबर्ष गरी चार हजार चार सय ३२ मुद्दा दर्ता हुने र ६५ प्रतिशत मुद्दा फछ्र्याैट हुने लक्ष्य राखेको प्रमुख जिल्ला न्यायाधीश खिलनाथ रेग्मीले जानकारी दिए । उनले भने– ‘प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा न्यायाधीश खटिनुपर्ने भएकाले लक्ष्य अनुसार मुद्दा फछ्र्याैट हुन सकेन ।’ अदालतमा ६ जना न्यायाधीशको दरबन्दी भए पनि हाल चार जना न्यायाधीशबाट मुद्दा फछ्र्याैट भइरहेकोले लक्ष्य पूरा हुन नसकेको उनले थपे ।

३८ करोड भन्दाबढी जरिवाना बक्यौता

झापा जिल्ला अदालतले ३८ करोड ८१ लाख ८० हजार ९० रुपैयाँ विभिन्न व्यक्तिबाट बक्यौता रकम असुल उपर गर्न बाँकी रहेको जनाएको छ ।

विभिन्न प्रकृतिका मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएको रकममध्ये ५१ करोड २३ लाख ३६ हजार ९ सय ५९ रुपैयाँ उठाउनुपर्नेमा १२ करोड ४१ लाख ५६ हजार आठ सय ६९ रुपैयाँ जरिवाना रकम असुली भएको अदालतका सूचना अधिकारी हरि पराजुलीले जानकारी दिए ।

यता प्रहरीको विशेष अभियानबाट चालू आर्थिक बर्षमा अदालतले विभिन्न मुद्दामा सजाय तोकी फरार रहेका १ सय ७० जना अभियुक्तलाई प्रहरी कार्यालय झापाले पक्राउ गरी अदालत पेश गरेको जनाइएको छ ।

Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर