Aamsanchar

आर्थिक समृद्धिको मार्गमा झापावासी

Author Image
मङ्गलवार, साउन १, २०७५

झापा।

३४ हजार ६ सय १ जनसंख्या रहेको झापा गाउँपालिकाका सवै नागरिक अब समृद्धिको बाटोमा लम्किने भएका छन् । गाउँपालिकाले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाएर कृषि पशुपालन, उद्योग तथा वाणिज्य र पर्यटन व्यवसायलाई बढावा दिएसंगै झापावासी समृद्धिको बाटोमा लम्किने भएका हुन् ।

गाउँपालिकाले सोमवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५÷०७६ को वजेटमा पनि आर्थिक समृद्धि उज्यालो झापा गाउँपालिका र गाउँ–गाउँमा कालोपत्रे बाटोलाई पहिलो प्राथमिकतामा राखेको छ । गाउँपालिकाले ‘झापा गाउँपालिकाको अभियान आर्थिक समृद्धि उज्यालो र गाउँ–गाउँमा कालोपत्रे बाटो हाम्रो पहिचान’ भन्ने नारासहित विकास निर्माणलाई तीव्रता दिएको छ ।

सात हजार ९८ घरधुरी रहेको झापा गाउँपालिका झापाको पुरानो सदरमुकाम हो । तर, विकासको दृष्टिले पछि परेको झापा गाउँपालिकामा स्थानीय सरकार गठनसँगै विकास निर्माणका कामले तीव्रता पाएको छ । गाउँपालिकाले विकासलाई नै पहिलोे प्राथमिकतामा राखेर ३६ करोड ४७ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा पूर्वाधार विकासका लागि दश करोड ४० लाख २० हजार रुपैयाँ र आर्थिक विकासतर्फ ३० लाख ३० हजार रुपैयाँ छुट्याइएको छ ।

गाउँपालिकाले विद्युतीकरण कार्यक्रमलाई सवै गाउँ र टोलमा निरन्तरता दिएको छ । ठूला नदीहरुको चपेटामा पर्ने झापा गाउँपालिकालाई सुरक्षित राख्न कनकाई, सानो माई, विरीङ लगायतका साना–ठूला नदीबाट हुने कटान नियन्त्रणमा विशेष भूमिका खेल्ने भएको छ । गाउँपालिकाले अघिल्लो वर्ष आएको वाढीका कारण मानवीयसहित अर्वाैं रुपैयाँको क्षति व्यहोरेपछि नदी कटान रोक्न तटवन्धनलाई तीव्रता दिएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए ।

गाउँपालिकाभित्रका लक्षित वर्गहरु पहिचान गरी विभिन्न संघ–संस्थाको साझेदारीमा फुस हटाउँ टिन लगाउँ कार्यक्रम लागू गर्ने जनाएको छ । गाउँपालिकाले दीगो विकास र आम्दानीका लागि सपिङ कम्प्लेक्स भवन बनाउन जग्गाको खोजी गर्ने र ज्येष्ठ नागरिक लगायतलाई विश्राम सुविधा दिनका लागि प्रत्येक वडामा चौतारा तथा विश्राम केन्द्र निर्माण गरिने बजेटमा उल्लेख छ । गाउँपालिकाले भू–उपयोग नीति तयार गर्दै सवै जग्गालाई उपयोगमा ल्याउने नीति समेत तयार गर्ने भएको छ ।

गाउँपालिकामा रहेका सवै घरहरुलाई २०७२ को नक्सा पास मापदण्ड स्वीकृत गर्दै नक्सा पासलाई अनिवार्य बनाउने भएको छ । गाउँपालिकामा एकीकृत वस्ती विकासको अवधारणालाई समेत अगाडि बढाइने भएको छ । गाउँपालिका र वडा कार्यालयका लागि जग्गा व्यवस्थापन गर्दै भवन निर्माण कार्यलाई अगाडि बढाउने वजेटमा उल्लेख गरिएको छ ।

किसानहरुका लागि सरकारी तथा गैरसरकारी कार्यालयहरुको सहकार्यमा धान मकै र आलु वालीको व्यवसायिक खेती, यसको उत्पादन विकास र प्रर्वद्धनमा जोड दिने भएको छ । गाउँपालिकाले पशुपालनका लागि विभिन्न तालिमका साथै नश्ल सुधार गरी व्यवसायिक पशुपालनतर्फ किसानलाई उत्प्रेरित गर्ने भएको छ । खेतीयोग्य जमिनमा घर निर्माणलाई निरुत्साहित गर्ने, सामुहिक तथा सहकारी खेती कार्यक्रमलाई विस्तार तथा सञ्चालन गर्ने, उद्यमशीलता विकासमा जोड दिँदै कृषितर्फ प्रोत्साहित गर्ने, प्लाष्टिक टनेलमा वेमौसमी तरकारी खेती विस्तारतर्फ किसानलाई उत्प्रेरित गर्ने गाउँपालिकाले रणानीति बनाएको छ ।

वातावरण सन्तुलनका लागि गाउँपालिकाले एक घर पाँच रुख उत्पादन र संरक्षणतर्फ गाउँँवासीलाई प्रोत्साहित गर्ने , गाउँमा उत्पादन भएका कृषिजन्य वस्तुको भण्डारणका लागि गाउँमै शीत भण्डार कार्यक्रमलाई समेत अगाडि बढाउने भएको छ । गाउँपालिकाले गाउँमा उत्पादन भएका कृषि उत्पादनलाई प्रचारप्रसार गर्ने भएको छ । सिञ्चाई व्यवस्थापनमा भौतिक पूर्वाधार निर्माण, तरकारी खेतीलाई पकेट क्षेत्रको रुपमा विकास, उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कृत, मोही र ऐलानी जग्गा सम्बन्धी समाधानका लागि पहल गर्दै किसानलाई कृषि र पशुपालनमा आकर्षित गर्ने भएको छ ।

यता पर्यटन क्षेत्रलाई आधारशीला बनाउँदै गाउँपालिका भित्र रहेका सम्भावित क्षेत्रहरुमा विकास गर्ने भएको छ । गाउँपालिकाकै प्रमुख पर्यटकीय पहिचानको रुपमा रहेको रानी वनलाई विकास गर्दै यसलाई विस्तृत परियोजना प्रतिवेदन तयार गर्दै पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाउन पहल थालेको छ । गाउँपालिकाभित्र रहेको गोफा खाडीलाई थप व्यवस्थित र पर्यटकीय क्षेत्र बनाउन गाउँपालिकाले विशेष वजेटको व्यवस्था गरेको अध्यक्ष साहले बताए । उनका अनुसार गाउँपालिका क्षेत्रभित्र भएका सहकारी तथा वित्तीय संस्थाहरुसँग समन्वय गर्दै पर्यटन सम्वन्धी आर्थिक गतिविधि अगाडि बढाउने भएको छ ।

गाउँपालिकाले शिक्षा क्षेत्रको सुधार गर्दै गाउँपालिकाभित्र सञ्चालित सवै विद्यालयमा अनिवार्य अंग्रेजी माध्यमबाट पठनपाठनलाई निरन्तरता दिने भएको छ । शिक्षा क्षेत्रलाई व्यवस्थित तथा थप गुणस्तरीय वनाउनका लागि स्थानीय तहका शिक्षा सम्बन्धी कानून नियमावली नीतिनियम बनाई लागू गर्ने भएको छ ।

शिक्षक दरवन्दी खाली रहेको ठाउँमा तत्काल पदपूर्ति गर्दै हरेक तहको अध्ययन अध्यापनमा कुनै असर गर्न नदिने नीति अवलम्वन गर्ने भएको छ । प्राविधिक व्यवसायिक तथा सिपमूलक शिक्षाको विकासमा गाउँपालिकाले विशेष जोड दिने भएको छ । शिक्षा क्षेत्रको भौतिक पूर्वाधार निर्माण अन्तर्गत वडाबाट प्राथमिकता क्रम निर्धारण भई आएका योजनालाई सरकारी तथा गैरसरकारी निकाय मार्फत निर्माण गर्न सहकार्य गरिने बताइएको छ ।

यस्तै गाउँपालिकाले गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकी र खोप केन्द्र र भवनको आवश्यक व्यवस्था गर्ने भएको छ । गाउँपालिकामा सेवारत् महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन स्वरुप मासिक रुपमा खाजा खर्च उपलब्ध गराउने भएको छ । स्वास्थ्य चौकीहरुलाई प्रत्येक वडामा विस्तार गर्नका लागि जग्गा तथा भवनको व्यवस्था गरिने भएको छ ।

बजेट सार्वजनिक समारोहमा बोल्दै गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी वुढाथोकीले महिला सशक्तीकरण कार्यक्रमलाई जोड दिने बताइन् । उनले भनिन्– महिला विशेष कार्यक्रमहरुमा बजेटको व्यवस्था गरिएको छ । युवा, महिला तथा लक्षित समूहका लागि आयमूलक तालिम तथा कार्यक्रम, वालवालिका तथा अपाङ्गहरुका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने छ ।

तोकिएको समयभित्र जन्मदर्ता गराउने दलितवर्गहरुलाई एक हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलव्ध गराइने भएको छ । गाउँपालिकाभित्र रहेका सवै सरकारी कार्यालयलाई अपाङ्गमैत्री र महिला मैत्री बनाइने उपाध्यक्ष वुढाथोकीले बताइन् । उनले गाउँपालिकाभित्र लिङ्ग, भाषा, धर्म जात, क्षेत्र वा कुनै पनि विषयको आधारमा भेदभाव वा असमानता हुन नदिने नीतिलाई अवलम्वन गरिने बताइन् ।

गत बर्ष बाढीका कारण १० जनाले ज्यान गुमाएका थिए । विपद्बाट बच्न आर्थिक वर्ष २०७५÷०७६मा रेडक्रस जस्ता सामाजिक संस्थाहरुसँग समन्वय गरी बाढी जोखिमको पहिचान गरी विपद् पूर्वसूचना प्रणाली राख्ने भएको छ । विपद् जोखिम न्यूनीकरणका लागि विपद् व्यवस्थापन कोष खडा गरी कार्यान्वयन गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।

सरकारले सन् २०१९ भित्र सवै नेपालीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने घोषणा अनुरुप झापा गाउँपालिकाले सवै नागरिकलाई सुरक्षित तथा शुद्ध खानेपानी उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्ने भएको छ । पूर्ण सरसफाई सम्वन्धी जनचेता अभिवृद्धि कार्यक्रम अगाडि बढाउनुका साथै शौचालयको घेरावारा तथा सुरक्षित खानेपानीको व्यवस्थापनमा गाउँपालिकाले विशेष जोड दिने भएको छ ।

गाउँपालिकाभित्रका खेल मैदानको पहिचान गरी खेलमैदानहरुलाई स्तरीकरण गर्ने भएको छ । गाउँपालिकाभित्र रहेका विभिन्न खेलका खेलाडीहरुको टीम बनाई गाउँपालिकास्तरमा उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय टीम बनाउन सहयोग गर्ने नीतिलाई समेत प्राथमिकतामा राखेको गाउँपाकिलाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले बताए ।

झापा गाउपालिकाले १३ पुल बनायो

एक वर्षको अवधिमा झापा गाउँपालिकाले विभिन्न खोलामा ठूला १३ वटा पुल निर्माण गरेको छ । यसबाट झण्डै २० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् । आर्थिक वर्ष २०७४÷०७५मा १७ करोड ५ लाख ६३ हजार ५ सय ८९ रुपैयाँको लागतमा सार्वजनिक विकास निर्माण भएको गाउँपालिकाका इञ्जिनियर अभिषेक दासले बताए ।

एक नम्वर वडा अध्यक्ष राजकुमार यादवका अनुसार सानो माईमा ५९ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । यो संगै लसुनगञ्ज र लसुनाको बीचमा रहेको होलीमा २६ लाख ८२ हजारमा पक्की पुल निर्माण भएको छ । लसुनामा ८ लाख रुपैयाँको लागतमा विद्युत् विस्तार भएको छ ।

अध्यक्ष साहका अनुसार वडा नम्वर ४को अल्कास वस्तीमा २७ लाख रुपैयाँको लागतमा पुल निर्माण भएको छ ।

८ लाख रुपैयाँको लागतमा साविक टाघनडुव्वा–४मा रहेको होलीमा पुल, पल्टनवस्तीबाट शम्भु गणेशको घर जाने वाटोमा पर्ने होलीमा २१ लाख रुपैयाँमा पक्की पुल निर्माण भएको छ । त्यसैगरी वडा नम्वर ७ को दयालधाम जाने वाटोमा १९ लाखको लागतमा पुल निर्माण भएको छ । फुलगाच्छीदेखि शरणामती जाने वाटोमा पर्ने होलीमा २७ लाखमा पुल, मदरगाछदेखि उत्तर वडा नम्वर ६ को सीमानामा पक्की पुन निर्माण भएको छ । जसको लागत १० लाख रुपैयाँ रहेको छ । वीपी चौकमा कज्वे निर्माण भएको छ, जसको लागत ६ लाख रुपैयाँ रहेको छ भने वडा नम्वर ७कै खार्मेरी चौक जाने सडकमा पर्ने होलीमा १० लाखको लागतमा पुल निर्माण भएको छ ।

गाउँपालिका क्षेत्रका २४ वटा ठूला बाटाको स्तरोन्नति भएको छ । एक सय बढी सानाबाटा निर्माण र स्तरोन्नति भएका छन् । त्यसैगरी ५ वटा ठूला तटवन्धन भएका छन् । सिञ्चाई साना ठूला गरी दशवटा वढी योजना सम्पन्न भएका छन् । एक बर्षमा सार्वजनिक शौचालय झापा तीन वटा निर्माण भएको छ । विपन्न वर्गलाई र सार्वजनिक शौचालय निर्माणका लागि गाउँपालिकाले ७० लाख रुपैयाँ खर्च गरेको गाउँपालिकाका सव इञ्जिनियर फेसिस पाण्डेले बताए । विद्युत् विस्तारका लागि गाउँपालिकाले एक करोड रुपैयाँको टेण्डर आह्वान गरिएको बताइएको छ ।

मकै माग्दा तोरी दियो सरकारले

मकैका लागि पकेट क्षेत्र मानिएको झापा गाउँपालिकाले मकै जोन घोषणाका लागि सरकारसंग बजेट माग गरेपनि सरकारले तोरी जोन घोषणा गरेको छ । तोरी झापा गाउँपालिकामा उत्पादन ज्यादै न्यून हुने गरेको कृषकको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष साहले अफूले सरकारसंग मकै जोनका लागि माग गरेकोमा सरकारले बजेट भाषणमार्फत तोरी जोन घोषणा गरेको बताए । उनले भने– झापामा राम्रो मकै फल्छ सरकार तोरी रोप् भन्छ, यहाँका कृषक तोरी खेतीका लागि उत्साहित नै छैनन् ।

Views: 127

प्रतिक्रिया (०)