Aamsanchar

मोटरसाइकल फिर्ता, साइकल चढ्ने घोषणा

Author Image
आइतवार, साउन ६, २०७५

बिर्तामोड।

सरकारी सेवा सुविधा लिन स्थानीय तहका जनप्रतिनिधिबीच होडवाजी चलिरहेका वेला झापाका एक वडाध्यक्षले आफूले पाएको सवारी सुविधा फिर्ता गरेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका–८का अध्यक्ष केहरसिंह बस्नेतले नगरपालिकाले दिएको मोटरसाइकल नगरपालिकालाई नै फिर्ता गरेका हुन् । जनताको सेवामा समर्पित हुने भन्दै स्थानीय तहको निर्वाचनमा आफू चुनाव लडेको तर जितेपछि उनीहरुले तिरेको करबाट आफूहरुले मोटरसाइकल नकुदाउने निर्णय गर्दै मोटरसाइकल नगरपालिकालाई नै फिर्ता गरेको बताए । नगरपालिकाले प्रदान गरेको सवारी साधन उनले यसअघि असारमा लिएका थिए ।

यमाहा कम्पनीको मोटरसाइकल उनलाई प्रदान गरिए पनि वडाध्यक्ष वस्नेतले शनिवार वडा कार्यालयमा आयोजित आर्थिक वर्ष २०७४÷०७५ को योजना तथा कार्यक्रम समीक्षा समारोहमा सो मोटरसाइकलको चावी नगरकी उपप्रमुख भोजकुमारी नेपाललाई फिर्ता गरे ।

चावी फिर्ता गर्दै वडा अध्यक्ष बस्नेतले भने– ‘मोटरसाइकल फिर्ता गर्दैछु, मलाई साइकल भए पुग्छ । म मात्र होइन मेरा वडाका कुनै पनि सदस्यले नगरपालिकाबाट मोटरसाइकलको सेवासुविधा लिने छैनन् ।’ मोटरसाइकल किन्ने पैसाले साइकल दिनुहोस्– उनले भने– बाँकी रहेको रकमले पर्यटकीय क्षेत्रमा खर्च गरेर पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउँछु ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख नेपालले नगरपालिकाले मोटरसाइकल वडा अध्यक्षलाई नभई वडालाई दिएको भए पनि मोटरसाइकल फिर्ता गरेर साइकलमा भए पनि जनताको सेवा गर्छु भन्नु सह्राहनीय काम भएको बताइन् । नगरपालिकाले यस अघि १६ वटा मोटरसाइकल खरिद गरी सवैलाई बितरण गरेको थियो ।

सो क्रममा वडा नम्वर ६का अध्यक्ष मनोज कार्कीले मोटरसाइकल लिएका थिएनन् । उनले वडा अध्यक्षलाई मोटरसाइकल दिनुहुन्न भन्दै नोटअफडिसेन्ट लेखेका थिए । कार्की वाहेक अरु सवैले मोटरसाइकल लिएपनि बस्नेतले आफूले लिएको मोटरसाइकल फिर्ता गरेपछि स्थानीयले धन्यवाद दिएका छन् ।

वडाध्यक्ष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख नेपालको प्रमुख आतिथ्य रहेको थियो । उपस्थित सबैलाई चन्द्रकुमार लावतीले स्वागत गरेको कार्यक्रममा वडासचिव पुष्पलाल पाण्डेले आर्थिक बर्ष २०७४÷०७५को योजना तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर