Aamsanchar

‘ओली–प्रचण्डले मेडिकल माफियाबाट पैसा उठाएर खाएका छन्’

Author Image
आइतवार, साउन ६, २०७५

काठमाडौं,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल कलेज सञ्चालकहरुबाट पैसा उठाएर खाएकोले सरकारले गोविन्द केसीका मागहरु सम्बोधन गर्न नसकेको बताएका छन्।

३६ औं विपी स्मृति दिवसको अवसर पारेर कांग्रेस केन्द्रीय कार्यालय काठमाडौंमा भएको कार्यक्रममा देउवाले कम्युनिष्टहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा मेडिकल माफियाबाट पैसा उठाएर खाएकोले अहिले डा. केसीका माग पुरा नगरेको गम्भीर आरोप लगाए।

‘गोविन्द केसीका मागहरु ठीक छन्, हामीले माथेमा आयोगको प्रतिवेदनका आधारमा अध्यादेश ल्याएका थियौं, त्यो अध्यादेश नै समस्या समाधानको बाटो हो,’ देउवाले भने, ‘कम्युनिस्टहरूले निजी मेडिकल सञ्चालकबाट पैसा उठाएर खाएका छन्, मेडिकल शिक्षाका विकृति हटाउन सक्दैनन्।’

देउवाले कांग्रेस राणा र राजाका विरुद्धमा लडेकोले अब कम्युनिस्टका विरुद्धमा लड्ने बताए। नेकपा नेतृत्वको सरकारले एक दलीय, तानाशाही र सर्वसत्तावाद लाद्न खोजेको आरोप उनले लगाए। ‘आज प्रदर्शन गर्न दिएनन, भोलि बोल्न दिँदैनन्, पर्सी लेख्न दिँदैनन्,’ देउवाले भने, ‘यो मानव अधिकार विरोधी र अप्रजातान्त्रिक भइरहेको छ।’

देउवाले विपीले कम्युनिष्टहरु कहिल्यै प्रजातन्त्रवादी हुन नसकेको बताएको स्मरण गर्दै आफूहरुले चिन्न नसकेको समेत बताए। सोही कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजवाद गुणस्तरीय शिक्षा र स्वास्थ्यसँग जोडिएको बताए। ‘अहिले त सरकारले दमन गरेर अघि बढ्न खोजेको छ,’ उनले भने, ‘यो सरकार धेरै टिक्दैन।’ पौडेलले ०७२ मा कांग्रेसको नेतृत्वमा संविधान जारी भएकोले अव रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्ने बताए। कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले देउवा र पौडेल मिल्नुपर्ने बताएका थिए। -थाहाखबरबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर