Aamsanchar

मलद्वारमा अढाई किलो सुन, विमानस्थलबाट दुई भारतीय पक्राउ

Author Image
आइतवार, साउन ६, २०७५

काठमाडौं,

 सरकारले सुन तस्करी रोक्न कडाइ गरिरहेका बेला त्रिभुवन विमानस्थलबाट अढाई किलो भन्दा धेरै सुन प्रहरीले बरामद गरेको छ। शनिबार दिउँसो थाइल्यान्डको बैंककबाट थाई एयरवेजको जहाजमा सवार भएर काठमाडौँ उत्रेका दुई भारतीय नागरिकको मलद्वारबाट २ किलो ६ सय ८० ग्राम सुन बरामद गरिएको हो ।

प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार भारतको नयाँ दिल्ली घर भएका राहदानी नम्बर एन ४६१७८९० बाहक ३१ वर्षीय इमरान र उत्तर प्रदेश घर भएका २१ वर्षीय राहदानी नम्बर जेड ४१७४१०७ बाहक अरिफ अलीलाई त्यो परिमाणको  सुनसहित पक्राउ गरिएको हो ।

दुवैको शरीरभित्र मलद्वारबाट बरामद भएको सुनको बजार मूल्य करिब १ करोड २० लाख रुपैयाँ भन्दामाथि रहेको छ । प्रहरीका अनुसार त्यो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेटबाट उनीहरुलाई पक्राउ गरी बरामद गरेको हो ।

प्रहरीका अनुसार इमरनको साथबाट तीन थान र अलीको साथबाट पाँच थान सुनको ढिक्का बरामद भएको छ। उनीहरु दुवैले त्यो सुन मलद्वारमा हालेर ल्याएका थिए । पक्राउ परेका दुवैलाई कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको एसपी मैनालीले जानकारी दिए । -अन्नपूर्ण अनलाईनबाट

Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर