Aamsanchar

दान गरेर नथाक्ने श्रेष्ठ दम्पत्ति,ट्राफिकलाई मन्दिरसहित दुई कठ्ठा जमिन प्रदान

Author Image
सोमवार, साउन ७, २०७५

नरेन्द्र ढकाल/सुरेन्द्र भण्डारी,बिर्तामोड।

 श्रेष्ठ दम्पत्ति सहित ट्राफिक प्रहरी जवान शंकर

‘धन देख्दा महादेवको तीन नेत्र’– नेपाली समाजमा प्रचलित यो भनाइ धेरै नेपालीको धनप्रतिको आकर्षणसँग मेल खान्छ । तर, आफूसँग भएको धनसम्पत्ति समाजसेवामा प्रयोग गर्ने थोरै मात्र मनकारीहरु हाम्रो समाजमा भेटिन्छन् ।

दक्षिणी झापाको गौरादह नगरपालिका–१का ८९ वर्षीय रत्नबहादुर श्रेष्ठ उक्त क्षेत्रका मनकारी व्यक्तिका रुपमा परिचित छन् । गोरखा जिल्लाबाट २०१० सालमा गौरादह आएका श्रेष्ठका ४ छोरा र ३ छोरी रहेका छन् । वृद्ध अवस्थामा रहेका श्रेष्ठ समाजसेवा गर्न भने हुरुक्कै हुने गरेका छन् ।

आइतबार पूर्वाञ्चलकर्मी उनको निवास पुग्दा निकै उत्साहका साथ उनले भने– ०१० सालमा म यहाँ आउँदा बस्ती थिएन्, सेवासुविधाको त कुरै नगरौं । झापामा आएर नै आफूले दुःख गरेर जोडेको सम्पत्तिमध्ये पनि केही प्रतिशत सामाजिक हितमा समर्पित गरेको श्रेष्ठको भनाइ छ । उनले गौरादहमा नै स्वास्थ्य चौकी सञ्चालन गर्न ५ कठ्ठा जमिन दिएको बताए । तत्कालीन गौरादह क्याम्पस हाल गौरादह कृषि क्याम्पसलाई पनि श्रेष्ठले ५ कठ्ठा जग्गा दिइसकेका छन् ।

नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सेवा र अनिवार्य रहेको शिक्षालाई थप प्रवद्र्धन गर्नका लागि आफूले जग्गा प्रदान गरेको उनको भनाइ छ । वृद्ध अवस्थामा रहेका रत्नबहादुरलाई धर्मपत्नी पानकुमारीले समाजसेवामा प्रेरित गरेको बताइन् । उनले भनिन्– मानिस मरेर एकदिन जानै पर्छ, मरेपछि पनि बाँच्नका लागि भने समाजसेवा गर्नै पर्छ ।

श्रेष्ठ दम्पत्तिले पछिल्लो समय गौरादह ट्राफिक प्रहरीलाई समेत दुई कठ्ठा जग्गा निःशुल्क प्रदान गरेसँगै हाल उक्त स्थानमा ट्राफिक प्रहरीको भवन निर्माण कार्य धमाधम चलिरहेको छ । ट्राफिक प्रहरीलाई मात्रै श्रेष्ठले ४० लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क प्रदान गरेका हुन् । धर्मकर्ममा अत्यन्तै ख्याल गर्ने रत्नबहादुरले ट्राफिक प्रहरीलाई आफैंले निर्माण गरेको गणेश मन्दिर समेत प्रदान गरेका छन् । सम्पत्ति जे जति भए पनि समाजसेवामा आफ्ना बुबाआमाले देखाएको उदारताले आफूहरु सन्तुष्ट भएको कान्छा छोरा गणेशकुमार श्रेष्ठ बताउँछन् ।

आमाबुबाले जग्गा प्रदान गरेपछि भवन निर्माण गर्नका लागि गणेशकुमारकै अध्यक्षतामा भवन निर्माण समिति गठन गरेर काम भइरहेको बताइएको छ । चार कोठे भवन निर्माणका क्रममा हालसम्म १६ लाखभन्दा बढी रकम खर्च भइसकेको जनाइएको छ । भवन निर्माणका लागि गौरादह नगरपालिकाले गत आर्थिक वर्षमा मात्रै ४ लाख रुपैयाँ प्रदान गरेको थियो । सबै रकम सहयोग मागेरै निर्माण कार्य भइरहेको गणेशकुमारको भनाइ छ ।

गौरादहका प्यारा शंकर

इच्छा शक्ति भए एउटा ट्राफिक प्रहरीले पनि समाजमा उदाहरणीय कार्य गर्न सक्छ भन्ने सन्देश गौरादह ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरी जवान शंकरप्रसाद यादवले दिएका छन् ।

ट्राफिक प्रहरीको आफ्नै भवन नभएपछि उनले गौरादहका सबै मनकारी समाजसेवीको मन जीतेका छन् । भवन अभावको विषय समाजसेवी रत्नबहादुरलाई बताएपछि उनले तत्काल दुई कठ्ठा जग्गा दिएर भवन निर्माण कार्यमा समेत उनका छोराले नै सहयोग गरिरहेका छन् ।

वृद्ध दम्पत्ति श्रेष्ठले ट्राफिक प्रहरी जवानको गुणगान गाउँदै भने– शंकर हाम्रो छोरा हो । यो गौरादहको विकास र यहाँ दुर्घटना नहोस् भनेर दिनरात काममा खटिन्छ यस्ता मनकारी राष्ट्रसेवकलाई सलाम गर्नैपर्छ ।

सबैलाई हौसला प्रदान ग¥यो शंकरले

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश राईले काम गर्ने इच्छाशक्ति भएका एउटा प्रहरी जवानले पनि ठूलो काम गर्न सक्दो रहेछ भन्ने उदाहरण शंकर बनेको बताए ।

उनले ट्राफिक प्रहरीमा थोरै जनशक्ति भए पनि जिल्लाभर भ्याउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै दुई जना ट्राफिक प्रहरीलाई गौरादहमा खटाएको बताए । ट्राफिक प्रहरीले विभिन्न समयमा सचेतनामूलक कार्यक्रमहरु गर्दै दुर्घटना न्यूनीकरणका लागि पहल गरे पनि चलकको लापरबाही तथा सडकको दुरावस्थाका कारण दिनप्रतिदिन सवारी दुर्घटना बढ्दै जानु सबैका लागि चिन्ताको विषय भएको राईले बताए ।

ट्राफिक जवान शंकरले आम गौरादहबासीको मन जितेर सबैको साथ पाएका छन्– प्रहरी निरीक्षक राईले भने– शंकरको मेहेनतका कारण ट्राफिक प्रहरी सबै गौरादहबासीको नजरमा उत्कृष्ट भएको छ । यो प्रहरी संगठनकै लागि गौरवको विषय हो ।

सडकले गर्दैन ट्राफिकलाई हैरानी

ट्राफिक व्यवस्थापन गर्ने जिम्मा ट्राफिक प्रहरीलाई तीन प्रतिशत मात्र रहेको ट्राफिक व्यवस्था ऐनमा उल्लेख छ । तर सडक विभाग, यातायात कार्यालयले ट्राफिक व्यवस्थापनको विषयमा कानमा तेल हालेर बसेपछि ट्राफिक प्रहरीले नै सबै काम गर्नुपरेको छ ।

होर्डिङबोर्ड राख्ने, ट्राफिक संकेत राख्ने, जेब्राक्रस बनाउने, सडकको अवस्थाको बारेमा जानकारी दिने तथा सडकलाई व्यवस्थित बनाउने लगायतका काम सडक विभागको हो । त्यस्तै सवारी साधनको अनुगमन गर्ने लगायतका काम यातायात व्यवस्था कार्यालयको हुने यातायात व्यवस्था ऐनमा नै उल्लेख गरिएको छ ।

तर यी सबै व्यवस्था कागजमा नै सीमित भएपछि ट्राफिक जाम खुलाउने तथा सवारी दुर्घटना हुन नदिने विषयमा सचेत हुने काम मात्र गर्नुपर्ने ट्राफिकले सबै काम गर्नैपर्ने बाध्यता आएको जनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राई भन्छन्– सबैकाम ट्राफिकले गर्नुपर्ने, काम गर्दा गर्दै दोष पनि ट्राफिक प्रहरीकै देखाइन्छ ।

२५ स्पीड लिमिट बोर्ड गाडियो

झापाको गौरादह, गौरीगञ्ज तथा दमक क्षेत्रका विभिन्न सडकहरुमा २५ वटा स्पीड लिमिट बोर्ड गाडिएको छ । तीब्र गतिमा सवारी नचलाउन तथा उक्त सडकखण्डमा कतिको स्पीडमा सवारी सञ्चालन गर्ने भन्ने जानकारी सवारी चालकलाई दिन पनि यी बोर्डहरु गाडिएको ट्राफिक प्रहरी निरीक्षक राईले बताए ।

बोर्डहरु विभिन्न सामाजिक व्यक्ति, स्थानीय जनप्रतिनिधि, व्यवसायीहरुले उपलब्ध गराएको तथा बोर्डलाई सडक किनारमा गाड्न पनि ट्राफिक प्रहरीसँगै उनीहरुले हातेमालो गरेका थिए । आफूहरु नै दिनरात सवारी साधनमा हिँड्नुपर्ने, सवारी साधन बिस्तारै कुदाउ भन्दै दिनरात सडकमा खटिने ट्राफिक प्रहरीलाई सबैले सहयोग गर्नु पर्ने गौरादहका स्थानीयको भनाइ रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर