Aamsanchar

ग्रीस डढेलो: कम्तीमा २४ को मृत्यु

Author Image
मङ्गलवार, साउन ८, २०७५

काठमाण्डौं ।

ग्रीसको राजधानी एथेन्स नजिकैको पर्यटकीय क्षेत्रमा लागेको डढेलोले कम्तीमा २४ जनाको ज्यान लिएको थाहा हुन आएको छ।

राजधानीको पूर्वमा रहेको माती गाउँको तटीय क्षेत्रमा उनीहरूको ज्यान गएको हो। टेलिभिजनका तस्बिरहरूले खरानी रंगको धुवाँको बाक्लो मुस्लो आवासीय क्षेत्र हुँदै आकाशमा गइरहेको देखाएका छन्। अग्नी नियन्त्रकहरूले आगो निभाउन निकै कठिन भएको बताएका छन्।

अपिल

ग्रीसका प्रधानमन्त्री एलेक्सिस सीप्रासले त्यहाँ भएको आपत्तकालीन बैठकपछि बोल्दै भने, “डढेलो नियन्त्रणका लागि गर्न सकिने सबै प्रयासहरू भइरहेका छन्।

ग्रीसका लागि यो कठिन रात हो। ६ सय भन्दा बढी अग्नी नियन्त्रक अनि ३ सय गाडीहरू आगो लागेका तीन ठूला क्षेत्रमा अहिले परिचालन गरिएका छन्।”

यसैबीच ग्रीसका अधिकारीहरूले कैयौं ठाउँमा फैलिएको उक्त डढेलो निभाउनका लागि अन्तर्राष्ट्रिय सहायताको अपिल गरेका छन्।अधिकारीहरूले एथेन्सको पश्चिममा रहेको किनेटा नगरका बासिन्दालाई आफ्नो घर छोड्न आग्रह गरेका छन्।

घाइतेको अवस्था

डढेलो लागेसँगै बाटोहरू बन्द भएका छन् र रेल सेवा पनि रद्द भएको छ। धेरैजसो पीडितहरू एथेन्सको उत्तरपूर्वमा रहेको माती गाउँस्थित समुद्री क्षेत्रको रिजोर्टमा फसेका छन्।

डढेलोका कारण १ सय ४ जना घाइते भएका छन्। ती मध्ये ११ जना गम्भीर घाइते भएको बताइएको छ। घाइतेमध्ये १६ जना बालबालिका रहेका छन्।-साभार–बिबिसि नेपाली

Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर