Aamsanchar

२८ वर्षपछि सिमसार क्षेत्रको संरक्षण

Author Image
मङ्गलवार, साउन ८, २०७५

दमक।

झापाको रतुवामाई वृक्षारोपण आयोजना शुरु भएको करिब २८ बर्षपछि यहाँको सिमसार क्षेत्रको खोजी र संरक्षणको काम शुरु भएको छ ।

कमल गाँउपालिका र शिवसताक्षी नगरपालिकका तीन वटा ठूला र पर्यटकीय महत्व राख्न सक्ने सिमसारहरुको व्यवस्थापनका लागि काम शुरु भएको बताइएको छ । वन पैदावार विकास समितिको आफ्नै वित्तीय स्रोतबाट झापा जिल्लामा आर्थिक वर्ष २०३५÷०३६ देखि रतुवामाई वृक्षारोपण आयोजना शुरु गरिएको र यहाँको सिमसार संरक्षणको प्रयास भने पहिलो पटक भएको बताइन्छ ।

स्थानीय तहहरुसँग समन्वय र सहकार्य गरेर आफूहरु अघि बढ्ने आयोजनाको भनाइ छ । छिटो बढ्ने रुख प्रजातिको उचित व्यवस्थापन मार्फत काठ, दाउरा तथा अन्य वन पैदावारको उत्पादन गर्ने, आयोजनाहरुले उत्पादन गरेका वन पैदावारको सदुपयोग, बिक्री तथा आपूर्ति व्यवस्थापन गर्ने र आयोजना वरिपरि बस्ने स्थानीय जनतालाई रोजगारीको अवसर प्रदान गर्नेतर्फ मात्र ध्यान जाँदा सिमसारहरु संरक्षण हुन सकेको थिएन ।

कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाले पनि यस आयोजना भित्र रहेका सिमसार संरक्षणका लागि बजेट बिनियोजन गर्न थालेपछि संरक्षणको प्रयास शुरु भएको बताइए पनि स्वामित्व विवादले लगानी भने गर्न समस्या हुने देखिएको छ । शिवसताक्षी नगरपालिकाले चालू आर्थिक बर्षका लागि वडा नं. ३ मा पर्ने डुडामारीमा राजमार्गसँगै सटेको डुँडामारी–सताक्षी सिमसारका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको बताइन्छ ।

रतुवामाई वृक्षारोपण आयोजना केर्खाका प्रमुख खेमलाल विश्वकर्माले अघिल्लो आर्थिक बर्षदेखि मात्र आफूहरुले यहाँको सिमसारलाई पर्यटकीय गन्तब्य बनाउन सकिने भएकाले काम थालनी गरेको बताए । यसबाट आम्दानीको स्रोत बढ्नुको साथै पर्यावरणीय सुधारका लागि समेत टेवा पुग्ने अपेक्षा रहेको विश्वकर्माले बताए ।

शिवसताक्षीको सिमसार करिब डेढ हेक्टरमा फैलिएको उनले जानकारी दिए । सरसफाई गरेर अहिले यसको परियोजना विवरण बनाउने काम शुरु भएको बताउँदै यसका लागि १० लाख रुपैयाँ बजेट समेत आयोजनाको तर्फबाट छुट्याइएको विश्वकर्माको भनाइ छ । ‘हामी यसको बिकास, सम्बद्र्धन र प्रवद्र्धनका लागि योजनाका साथ अघि बढ्दैछौ’ं –विश्वकर्मा भन्छन् ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्र शेर्माले आफूहरुले गुरुयोजना बनाउन थालिसकेको र बनलाई कुनै असर नगर्ने गरी पर्यटकीय क्षेत्रको रुपमा यसलाई विकास गर्ने बताए । गुरुयोजनाको आधारमा नै यहाँ काम शुरु हुने बताउँदै यस बिषयमा रतुवामाई वृक्षारोपण आयोजनासँग समेत छलफल गरेर अघि बढ्ने उनको भनाइ छ ।

कमल गाउँपालिकामा दुईवटा सिमसारका लागि स्थानीयस्तरमा संरक्षणको प्रयास शुरु भएको र यसका लागि समिति समेत बनेको जनाइएको छ । यो पनि एकदेखि डेढ हेक्टरमा फैलिएको र व्यवस्थित गर्न बाँकी रहेको बताइएको छ । साधुहोली सिमसार क्षेत्र बर्षौदेखिको वनभोजस्थलको रुपमा समेत चिनिँदै आएको छ । गाउँपालिकाले यसको संरक्षणका लागि गुरुयोजना बनाएर काम गर्ने सोच अनुसार गुरुयोजना बनाउने काम थालनी भएको कमल गाउँपालिकाका कार्यापालिका सदस्य चक्र गुरुङले बताए ।

बाल्मिकी सिमसार क्षेत्र भने एक बर्ष अघिदेखि संरक्षण शुरु गरिएको स्थानीय राजनीतिक तथा सामाजिक अगुवा शिव ढुंगेलले बताए । धार्मिक र ऐतिहासिक महत्व बोकेको क्षेत्र भएकाले आफूहरुले यसको संरक्षणका लागि समिति बनाएर काम शुरु गरिएको ढुंगेलको भनाइ रहेको छ । यहाँ पहिला बाल्मिकी आश्रम रहेको स्थानीयहरुले दाबी गर्दै आएका छन् ।

आयोजना पूर्वमा कन्काइ माई नदी, पश्चिममा रतुवा खोला, उत्तरमा इलाम जिल्लाको चुलाचुली गउँपालिका र माई नगरपालिका, दक्षिणमा झापा जिल्लाको शिवशताक्षी नगरपालिका, कमल गाउँपालिका र दमक नगरपालिकाको पूर्व–पश्चिम लोकमार्ग चारकिल्ला भित्रको तीन हजार एक सय २५.३१ हेक्टरमा फैलिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 288

प्रतिक्रिया (०)

सम्बन्धित खबर