Aamsanchar

सेतीमायालाई यामाराजको मुखबाट खोसे ऋषिले

Author Image
बिहिवार, साउन १०, २०७५

नरेन्द्र ढकाल/ सुरेन्द्र भण्डारी
बिर्तामोड ।
 

‘मलामी भेला भएर कुन संस्कार अनुसार दाहसंस्कार गर्ने भन्दै सल्लाह भइरहेको थियो । एम्वुलेन्समा शव लिएर घरतर्फ जाँदै गर्दा एकाएक उनको ओठ चल्यो, हामी सबै अचम्ममा प¥यांै’ सप्तरीकी शकुन्तला राईले भनिन् ।

गत असार १९ गते राति सप्तरी निवासी ५५ वर्षीया सेतीमाया आचार्यलाई सर्पले डसेपछि गोल्डेन अस्पताल बिराटनगरमा उपचारका लागि लगिएको थियो । त्यहाँ तीन दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि सेतीमायाको होस् नआएपछि घर फर्काइएको थियो– विगत सम्झँदै राईले भनिन्– ‘अन्तिम संस्कारका लागि चिसिएको सेतीमायाको शरीर लिएर घर जाँदै थियौं, अचानक उनको ओठ चल्यो र उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली ल्याएका थियौं ।’

खाना खाएर सुत्नका लागि ओच्छ्यान पुग्नासाथ उनलाई विषालु सर्प करेतले डसेको थियो– राईले भनिन् –‘सेतीमायालाई सर्पले डसे लगत्तै उपचारका लागि राति नै नेपाली सेनाको सर्पदंश उपचार केन्द्र इटहरी पु¥यायौं त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानसम्म पुग्यांै, तर धरानले पनि गोल्डेन अस्पताल विराटनगर रेफर ग¥यो ।’

विहानको राति ४ बजे गोल्डेन हस्पिटल बिराटनगर पु¥याइएकी सेतीमायालाई सो अस्पतालमा तीन दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उपचार सम्भव नभएपछि हामी आफन्तले नै घर फर्काएका थियौं– राईले भनिन् –‘सेतीमायाको मृत्यु भयो भन्दै हामीले उनलाई घर लाँदै गर्दा उनको ओठ चल्यो र उपचारका लागि झापा ल्याएका थियौं ।’ नातामा सोल्टिनी पर्ने सेतीमायाले राईसँग विवाह गरेकाले उनको मृत्यु संस्कार कसरी गर्ने भन्ने विषयमा एम्बुलेन्समा छलफल भइरहेको थियो– शकुन्तलाले भनिन्– ‘भाग्य बलियो रहेछ, हामीले उनलाई गुमाउनु परेन ।’

यता सर्पले डसेको चार दिनपछि मात्र सर्पदंश उपचार केन्द्र चारआली आइपुगेकी सेतीमायाले भगवानकै अर्काे रुप मानेकी छिन्– सर्पदंश उपचार केन्द्रका प्राविधिक ऋषिराम पोख्रेललाई । पूर्वाञ्चलसँग कुराकानी गर्दै सेतीमायाले भनिन्– ‘मलाई जलाउन चिता बनाउने तयारी हुँदैरहेछ, भाग्यले सर्पदंश उपचार केन्द्र चारआली ल्याएर मेरो उपचार गरियो, उपचार गर्ने डाक्टर त मेरा लागि भगवान नै हुनुहुन्छ ।’
अचेत अवस्थामा सर्पदंश उपचार केन्द्र चारआली ल्याइपु¥याएकी सेतीमायालाई तत्काल सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने थियो, सोही अनुसार हामीले उनलाई वीएण्डसी हस्पिटलको सघन उपचार कक्षमा राखेर उपचार शुरु ग¥यौ, उपचार पनि सफल भयो– प्राविधिक पोखरेलले भने – ‘सही समयमा सही उपचार पाउने हो भने सर्पको डसाइका कारण कसैको पनि मृत्यु हुँदैन ।’

सेतीमायालाई हामीले तत्काल अस्पतालमै आएर औषधि चलाएका थियौं– उनले भने– ‘यदि आईसीयू र भेन्टिलेटर हामी कहाँ भए विरामीलाई अन्यत्र रेफर नै गर्नु पर्ने थिएन ।’ सेतीमायाको उपचारमा म आफैं अस्पताल आएर उपचार गरे, उनी अहिले नयाँ जीवन पाएर दंग छिन्– पोखरेलले भने ।

त्यसको त सेतीमाया मात्र होइन अहिले सर्प दंश उपचार केन्द्रबाट दिनहुँ १५देखि २० जनाले नयाँ जीवन पाइरहेका छन् । सर्पले डसेलगत्तै उपचारका लागि यहाँ आउने सवैले सफल उपचार पाएर घर फर्कने गरेको सर्पदंश उपचार केन्द्रका प्राविधिक पोखरेलले बताए । उनले भने – ‘यहाँ आएका कोही पनि विरामी औषधि नभएर र उपचार नपाएर मर्नु परेको छैन ।’

तीन महिनामा ४१४ को उपचार
सर्पदंश उपचार केन्द्र चारआलीले पछिल्लो तीन महिनामा चार सय १४ जनाको सफल उपचार गरेको छ । सर्पदंशका कारण उपचारका लागि चारआली आएका एक सय ९३ पुरुष , एक सय ६८ महिला र ५३ बालबालिकाले सफल उपचार पाएको अस्पतालका प्राविधिक पोखरेलले बताए । उनले भने– गत वर्ष नौ सय ४ जनाले सफल उपचार पाएका थिए, यो वर्ष तीन महिनामै यतिका धेरै सर्पदंशका बिरामी उपचारका लागि यहाँ आएका छन् ।

उपचारका लागि आएका बिरामी मध्ये कसैको पनि निधन भएको छैन, गम्भीर प्रकृतिका बिरामी आए सघन उपचार कक्ष भएको अस्पतालमा रेफर गरेर उहीँ पुगेर पनि सेवा दिने गरेका छौं– पोखरेलले भने– ‘यहीं भेन्टिलेटर हुने हो भने उपचारमा अझ सहज हुन्छ ।’

भेन्टिलेटरसहितको सेवा शुरु गर्छाै– अध्यक्ष भट्टराई
सर्पदंश उपचार केन्द्र चारआलीका व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद भट्टराईले दिनप्रतिदिन सर्पदंशका विरामीको चाप बढिरहेको बताएका छन् । उनले तराईमा मात्र नभई पहाडबाट पनि संर्पदंशका विरामी आउने गरेको र उपचारमा कठिनाई भएको बताए । यहाँ भेन्टिलेटरको अभाव छ– उनले भने– ‘अभावैअभावका बीच हामीले निरन्तर सेवा दिइरहेका छौं ।’

गर्मीयाम शुरु भएसँगै दिनहुँ सर्पदंशका बिरामी बढिरहेका छन्– उनले भने –‘हामी कहाँ इमरजेन्सीसहित १२ वटा मात्र बेड छन्, बिरामीको चाप बढ्यो भने कुर्सीमा राखेर र म्याट ओच्छ्याएर पनि सेवा प्रदान गरिरहेका छौं । सर्पदंशका बिरामीको चाप बढेपछि हाल दाताकै सहयोगमा नयाँ भवन निर्माण भइरहेको र स्थानीय तहले सहयोग गरेको खण्डमा भेन्टिलेटरसहितको सेवा यही वर्षभित्रै शुरु गरिने भट्टराईको भनाइ छ । १५ वटै स्थानीय तहसंग सहयोग माग गरिएको र जिल्ला समन्वय समितिसँग पनि सहयोग माग गरिएको उनले बताए ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यलाई पनि भेन्टिलेटरसहितको सघन उपचार कक्ष सञ्चालनका लागि माग गरिरहेको र उनीहरुको सहयोग रहे सर्पदंश उपचार केन्द्रले अझ गुणस्तरीय सेवा प्रदान गर्ने भट्टराईको भनाइ छ । हाल केन्द्रमा चार जना प्राविधिकसहितको टोलीले सर्पदंशका बिरामीलाई सेवा प्रदान गरिरहेको छ ।
सर्पदंश उपचार केन्द्रका लागि सहयोग गर्न बिर्तामोड नगरपालिकाको टोलीले अनुगमन गरेको छ । बिर्तामोड नगरप्रमुख धु्रवकुमार शिवाकोटीसहितको टोलीले सर्पदंश उपचार केन्द्रको स्थलगत निरीक्षण गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर