काठमाण्डौं ।

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा ट्रकसँग यात्रुबस ठोक्किएर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

२२ जना घाइते भएका छन् । ४ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पाल्पाका ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँका २७ वर्षीय सुमित श्रेष्ठ, २७ वर्षीया कमला श्रेष्ठ र ४० वर्षीय बाबुराम तिवारी, काठमाडौंका ३० वर्षीय रबिन गुरुङको मृत्यु भएको हो ।

एक बालक र महिलाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले २५ जनालाई उद्धार गरेर उपचारका लागि भरतपुर पठाएको थियो । केहीको अवस्था गम्भीर छ । काठमाडौंबाट पोखरा जादै गरेको ना ६ ख २५०६ नम्बरको बस मध्यान्ह करिब १२ बजेतिर ट्रकसँग ठोक्किदा त्रिशुली नदीमा खसेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी प्रभुप्रसाद ढकालले बताउनुभयो ।

ट्रकसँग ठोक्किएर बस सडकदेखि लगभग ७० मिटर तल त्रिशुली नदी तर्फ खसेको छ । घटनास्थलमा रहेका उद्धारकर्ताका अनुसार बस खोचमा अड्कीएकाले ठूलो मानवीय क्षति हुन भने नपाएको रेडियो कान्तिपुरले जनाएको छ ।

