बिर्तामोड ।

शान्तिपुर–झापा एकता समाजको पहलमा संयुक्त अरब इमिरेट्स युएईको जेलमा रहेका एक ब्यक्तिलाई घर र्फकाइएको छ ।

इलामको शान्तिपुरमा जन्मेर झापाका विभिन्न स्थानमा स्थायी तथा अस्थायी रुपमा बसोबास गरिरहेका ब्यक्तिहरुको पहलमा गठन भएको समाजले तत्कालिन शान्तिपुर गाविस हाल रोङ गाँउपालिका –१ का केशव अधिकारीलाई जेलबाट छुटाउन सफल भएको हो ।

२०७३ साल माघमा युएईको दुबई स्थित ट्रोजन कम्पनीमा वाचम्यानको रुपमा कार्यरत रहेका थिए । उनलाई उक्त कम्पनीमा रहेको समान चोरी गरेको आरोपमा २०७४ साल असोज ३ गते प्रहरीले पक्राउ गरेको थियो ।

कम्पनीमा कार्यरत पाकिस्तानी नागरिकले सामान चोरी गरेर लैजादैं गर्दा सिआईडीले पक्राउ गरेको थियो । उक्त कार्यमा आफु संलग्न नभएपनि एकै कम्पनीमा कार्यरत पाकिस्तानीले आफ्नो नाम लिएर बिनाकारण आफुलाई फसाएको अधिकारीले बताए ।
पक्राउ परे लगत्तै शान्तिपुर–झापा एकता समाजको पहलमा पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नम्बर–१ का सांसद झलनाथ खनाल उनको सचिवालयका कृष्ण भट्टराई, प्रधानमन्त्री केपी शर्मा ओली, उनको सचिवालय तथा प्रेस सल्लाहकार चेतन अधिकारी, नेपाली राजदुतावास, सुर्योदय नगरपालिकाका मेयर आरबि राई, शान्तिरका नेकपाका स्थानीय नेता उपेन्द्र न्यौपाने लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको पहलमा अधिकारीलाई नेपाल र्फकाउन सफल भइएको समाजका सचिव नरेन्द्र ढकालले बताए ।


कम्पनीको सामन चोरी गरेको प्रमाणित नभएपछि ९ महिना १० दिन पुरपक्षका लागी जेलमा रहेका अधिकारी निर्दोष ठहरीदै घर र्फकिएका हुन् । गत साता नेपाल आइपुगेका अधिकारीले आज (शुक्रबार) शान्तिपुर–झापा एकता समाजलाई धन्यवाद दिएका छन् । ढिलो चाँडो सत्यको नै जीत भएको भन्दै अधिकारीले भने–शान्तिपुर–झापा एकता समाज सहित विभिन्न संघसंस्था, ब्यक्तिहरुले ठूलो पहल गरिदिनुभएकाले मलाई नेपाल आउन सहज भयो ।
आफ्नो जन्म स्थलका ब्यक्तिलाई छुटाउन विभिन्न प्रयत्न गरिएको भन्दै समाजका अध्यक्ष ज्ञानेन्द्र अधिकारीले भने– सबैको साथ र सहयोगले केशवलाई नेपाल र्फकाउन पाएकोमा हामी खुशी छौं । बिर्तामोडको एक मेनपावर मार्फत विदेश गएका केशवले गल्ती नगरेपनि फैसला कुर्नका लागी निकै लामो समयसम्म पुरपक्षका लागी जेलमा बस्नुपरेको समाजका सदस्य शम्भु दाहालको भनाई छ ।
इमान्दर रुपमा काम गरेपनि साथीसंगतले विदेशमा फस्न सकिने भन्दै केशवले विदेशमा जाँदा चनाखो हुन सबैलाई सुझाव समेत दिएका छन् । उनले जेलमा कुनै यातना नपाएको तथा अब स्वदेशमा नै केही गर्ने लक्ष्य लिएर आएको बताए । जीवनमा अहिलेसम्म प्रहरीको फन्दामा नपरेपनि विदेशमा भने पाकिस्तानी नागरिकले आफुलाई फसाएको बताए । केशव घर फर्किएसंगै उनको परिवारमा खुशीयाली छाएको छ । ३ जना छोरीहरु रहेका केशवले अब नेपालमा नै छोरीहरु तथा श्रीमतीसंग खुशीका साथ बस्ने जानकारी दिए ।

