
तस्वीर फायल

मोरङ ।

मोरङको विराटनगरबाट प्रहरीले नक्कली औषधिसहित तीन जनालाई पक्राउ गरी कारवाहीका लागि औषधिविभाग पठाएको छ ।

औषधिको नक्कली बिल, औषधिमा टाँस्ने लेवलहरू र अन्य कागजातसहित सुनसरीको धरान उपमहानगरपालिका–४ बस्ने बर्ष ३२ को जीवन अग्रवाल, मोरङ विराटनगर–१० बस्ने वर्ष ३३ को दीपककुमार राय र सप्तरी महुली–५ बस्ने वर्ष ३०को प्रशान्त अग्रवाललाई नियन्त्रणमा लिई औषधि व्यवस्था विभागमा पठाइएको हो ।

बिराटनगर महानगरपालिका क्षेत्रभित्र भारतबाट ल्याएको बिभिन्न ब्राण्डका नक्कली औषधिहरू विक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले आइतबार उनीहरुलाई विराटनगर महानगरपालिका–१०स्थित न्यूरो अस्पताल अगाडिबाट पक्राउ गरेको थियो ।
प्रहरीले अग्रवालको पसलबाट लामो समयदेखि बिक्री बितरण भइरहेको लङलाइफ फार्मेसी, महुली फार्मेसी, लाइफ सपोर्ट फार्मेसी, फेमेली फार्मेसी र मेडीप्लस फार्मेसीबाट आईसीयू लगायत अस्पतालको आकस्मिक उपचारमा प्रयोग हुने औष्ािधहरु तथा मनोनान, जी–भेन्क, नोरार्ड लगायतका विभिन्न ६६ किसिमका ३०४४ पिस (९७१ बट्टा) औषधि बरामद भएको जनाएको छ । बरामद औषधिसहित तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि औषधि ब्यवस्था विभाग, विराटनगर शाखामा पठाइएको उक्त कार्यालयले जनाएको छ ।

