Aamsanchar

तरकारीमा छोराले पिसाब फेरीदिएपछि …

Author Image
शुक्रवार, साउन १८, २०७५

 

सुरेन्द्र भण्डारी

बिर्तामोड । ‘आमा–बुबाको मन छोराछोरीमाथि–छोराछोरीको मन ढुंगामुढामाथि’ भन्ने उखान चरितार्थ भएको छ– झापाको अर्जुनधारा–५ निवासी बुढाथोकी थरकी एक ८६ वर्षीया महिलाको जीवनमा ।

केही वर्षअघि नै श्रीमान्को निधन हुनु, भएको छोराले पनि दिनहुँ मरणासन्न हुने गरी कुटपिट गर्नु र सहारा विहीन भएपछि वृद्धाश्रमको शरण पर्नु उनको रहर होइन वाध्यता हो । ९ महिनासम्म कोखमा राखेर जन्मिएपछि १० घारा दूध पिलाउँदै हुर्काएको छोराले वुढेसकालमा यसरी सताउला भन्ने उनले कल्पनासम्म गरेकी थिइनन् । तर, २७ वर्षीय छोराले दिनहुँ मादकपदार्थ र लागूऔषध सेवन गर्दै कुटपिट गर्न थालेपछि सक्त घाइते अवस्थामा रहेकी बुढाथोकीलाई उद्धार गर्दै औषधि उपचारपछि अहिले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रम राखिएको छ ।

छोराको कुटाइबाट वृद्ध महिलाको अनुहार सुन्निएको छ भने हात र खुट्टामा लागेको चोट निको भएको छैन । उनलाई एक महिना अघिदेखि छोराले निरन्तर कुटपिट गर्दै आएको बताइएको छ । ‘छोरा भोकायो भनेर सकिनसकी भात पकाएँ’– वृद्धा महिला रुँदै भनिन्– ‘कुपुत्र परेछ तरकारी पकाउन ओइरेको मात्र के थिएँ, तरकारी मै पिसाव फेरीदियो ।’ छोराले कुटेर लागेको चोट देखाउँदै उनले भनिन्– ‘पैसा माग्दै मलाई दिनहँुँ कुट्थ्यो, मैले यो उमेरमा कहाँबाट पैसा ल्याएर दिनु ? उभिने त तागत त छैन घस्रिएर भाततिउन गर्थेँ, एकदिन त तरकारीमै पिसाब फेरीदियो । हुर्किएको छोराले लालनपालन गर्ला भन्ने कत्रो आश थियो । तर, दिनहुँ छोराले कुटेको देखेर अहिले मलाई यहाँ ल्याएर मेरो ज्यान बचाई दिए, कुनबेला कुट्ताकुट्तै घुत्रुक्क हुन्थँे, कसैलाई पत्तै हुँदैन थियो, मेरो लास कुहिएर गनाउन थालेपछि मात्रै कठै बुढी मरिछ भन्थे होला छिमेकले पनि ।’

सुकुम्बासी टोलमा बस्दै आएकी बुढाथोकीलाई अर्जुनधारा–७ निवासी विशाल शिवाकोटीको पहलमा अहिले बिर्तामोडस्थित वृद्धाश्रम ल्याइएको हो । म मर्निङवाक जाँदै थिएँ, उसलाई म कुपुत्र भन्न रुचाउँछु, ८६ वर्षीया आमालाई कुटेर पसारेको देखेपछि मन थाम्न सकिनँ र दुई थप्पड लगाएर उनका छोरालाई सम्झाएँ– शिवाकोटीले भने १५ दिन अघि सम्झाएको थिएँ हुन्छ, अबदेखि कुट्दिन भन्थ्यो तर, उसले आमा कुट्न छाडेनछ, एक दिन म त्यहीं बाटो मर्निङवाक जाँदै थिए, आमा रोइरहेको देखेर घर पुग्दा आमालाई कुटेर पसारेछ– शिवाकोटीले भने ।

शनिश्चरे प्रहरी चौकीलाई तत्काल खबर गर्दै त्यो केटालाई पक्राउ गरेर दिनभर चौकीमा ल्याएर सम्झाइ बुझाइ गर्दै बेलुका छोडियो तर बानी सुध्रिएनछ– शिवाकोटीले भने– दिनभरि चोकीमा थुनिएको छोरो भोकायो भनेर आमाले भात पकाएर तरकारी पकाउँदै हुनुहुँदोरहेछ, तरकारीमै पिसाव फेरीदिएछ ।’ चौकीबाट छुटेकै रात तैँ बुढी हैनस् मलाई चौकी लाने भन्दै बेस्सरी बेलुका आमालाई कुटेर घाइते बनाएछ उसले– शिवाकोटीले भने –‘त्यो थाहा पाएको भोलिपल्टै मैले उहाँलाई यहाँ ल्याएको हुँ ।’

उनी त वृद्धाश्रममा रहेकी एक प्रतिनिधि महिला पात्र मात्र हुन् । उनी जस्ता त्यहाँ बेसाहारा अवस्थाका २५ जना वृद्ध–वृद्धा आश्रय लिएर बसेका छन् । उनको जस्तै कारुणिक कथा छ अर्जुनधारा–५की कुसुम मुसहरको पनि । कुसुमलाई पनि शिवाकोटीले उद्धार गर्दै वृद्धाश्रममा ल्याएका हुन् । कुसुमका पति रामप्रसादको दश वर्षअघि नै निधन भएको बताइन्छ । पतिको निधनपछि छोराको सहारामा बस्दै आएकी थिइन् कुसुम । कञ्चनबाडीस्थित एक व्यक्तिको घर नजिकैको ग्वालीसँगै जोडिएको बासझ्याङमा उनको बास थियो । रिक्सा चलाएर आमाको हेरचाह गर्दै आएका छोरा ‘कान्छा’ को पनि खोलाले बगाएर मृत्यु भएपछि उनी सहाराविहीन भइन् ।

बाँच्नकै लागि ७५ वर्षीया कुसुमले मेरुदण्ड भाँचिए पनि घिस्रिएर मागेर हिँड्ने गरेकी थिइन् । हातपाउ टेकेर दिनभर मागेर जुटाएको अन्नले प्राण धान्दै आएकी थिइन् । उद्धारपछि उनी पनि अहिले आश्रममा आश्रय लिएर बसेकी छिन् ।
आश्रममा अहिले ९८ वर्षसम्मका वृद्धवृद्धा आश्रय लिएर बसेका छन् । दाताकै सहयोगबाट सञ्चालनमा रहेको सो आश्रममा अहिले खानाको समस्या हुन थालेको बताइन्छ । मुठ्ठीदान संकलन गरेर दाताको सहयोगमा सञ्चालनमा रहेको आश्रममा अहिले खाद्य सामग्री अभाव हुन थालेको छ– आश्रमका अध्यक्ष बिक्रम मादेनले भने । उनले भने– ‘अहिले कहिलेकहीँ मात्र सहयोग जुट्छ अरुवेला आफैं सहयोग जुटाउनुपर्छ । सहयोग नजुट्ता पाकशाला नै बन्द हुने अबस्था पनि आउँछ, त्यो बेला हामी आफैं ल्याएर आश्रमका वृद्धवृद्धालाई खुवाउँछौं । त्यसमाथि कोही बिरामी भइहाले उपचार गर्ने अवस्था नै छैन । कहिलेकाहीँ त आतेस नै पर्छ’– अध्यक्ष मादेनले भने ।

आश्रममा रहेका वृद्धवृद्धालाई खाना खुवाउन समस्या भए सञ्चालक समितिका सदस्यले नै आलोपालो गर्दै खाद्य सामग्री उपलब्ध गराउदै आएका छौं– मादेनले भने– ‘दातालाई पनि कति भन्नु आश्रम निर्माणपछि सरकारले अहिलेसम्म फर्केर हेरेको छैन ।’ ‘बिर्तामोड नगरपालिकाले हालसम्म दुई अढाई लाख रुपैयाँ विभिन्न शीर्षकमा दियो’– मादेनले भने– त्यस अलावा यहाँ न राज्यको लगानी छ न त सरकारी तथा गैरसरकारी संघ–संस्थाको नै । आश्रम दाताकै भरमा चलेको छ ।’

एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित स्थापना गरिएको आश्रममा हालसम्म ३० लाख रुपैयाँ जुटेको बताइन्छ । दिनहुँ एक–एक रुपैयाँ जम्मा गरेर २० लाख रुपैयाँ बचत गरेको र १० लाख रुपैयाँ दाता समक्ष मागेर जम्मा गर्दै अक्षयकोष स्थापना गरिएको अध्यक्ष मादेनले बताए ।

वृद्धवृद्धाको हेरचाहका लागि अहिले मासिक सवा लाखभन्दा बढी रुपैयाँ खर्च हुनेगरेको छ– अध्यक्ष मादेनले भने– ‘कहिलेकाहीँ जन्मदिन, वार्षिकी र विभिन्न संस्थाको स्थापना दिवस पारेर दाताले एकछाक यहाँका वृद्ध–वृद्धालाई खान खुवाउँदै आएका छन्, नभए हामी आफैंले गाँस काटेर यो वृद्धाश्रम सञ्चालन गरिरहेका छौं ।’
केही समय अघि व्यवसायी जगदीश मिण्डाले सहयोग गरेपछि गाई समेत वृद्धाश्रममै पालेर यहाँका वृद्धावृद्धालाई दूध खुवाउने गरेका थियौं– उनले भने– अहिले गाई पाल्न समस्या भएकाले यहाँ पालिएका गाई हटाएका छौं । वृद्धवृद्धालाई अहिले किनेरै भएपनि दूध खुवाउँदै आएको उनको भनाइ छ ।

आफ्नै घर भत्काएर आश्रम बनाए– अध्यक्ष मादेन
बिर्तामोडका विक्रम मादेन पूर्व व्रिटिस आर्मी हुन् । लामो समयसम्म उनले व्रिटिस आर्मीमा रहेर आफ्नो ऊर्जाशील समय बिताए । कक्षा १० पढ्दापढ्दै व्रिटिस आर्मीमा भर्ती भएका उनी अहिले मानवीय सेवामा समर्पित छन् ।
व्रिटिस आर्मीबाट अवकासपछि उनले बिर्तामोड–४मा असहाय बृद्धबृद्धालाई सहारा दिन बृद्धाश्रम खोलेका छन् । स्थानीय गुरुप्रसाद ओझाले एक कठ्ठा जमिन उपलब्ध गराएपछि परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रम विधिवत् रुपमा २०६६ सालमा दर्ता गर्दै दाता ओझा र मादेनले आश्रम सञ्चालनमा ल्याएका हुन् । आश्रम शुरु गर्दा जग्गादाता ओझाले आठ लाख रुपैयाँ र मादेनले २१ लाख रुपैयाँसहित समितिका अन्य पदाधिकारीहरुले एक÷एक लाख रुपैयाँ जुटाएर भवन निर्माण प्रारम्भ गर्र्दै बृद्धबृद्धालाई आश्रयदिन शुरु गरिएको थियो । आश्रम सञ्चालनका लागि शुरुवाती दिनमा मादेन र ओझाले घर–घरमा पुगेर माइन्युट पुस्तिकामा हस्ताक्षर गर्दै आश्रमलाई दर्ता प्रक्रियामा लगेको बताइन्छ ।

आश्रम दर्तापछि २०६७ दुई जना बृद्धबृद्धा राखेर सञ्चालन गरिएको आश्रममा अहिले २५ जना बृद्धबृद्धालाई आश्रय दिइएको छ । आश्रम निर्माणका लागि तत्कालीन कोषाध्यक्ष समेत रहेका ओझाले जग्गासहित आठ लाख रुपैयाँ उपलब्ध गराएपछि समितिका सचिव हरि सिटौला, हरिशंकर श्रेष्ठ, ईश्वरी तिम्सिना र भरतराज श्रेष्ठले पनि एक÷एक लाख रुपैयाँ सहयोग गरेको बताइन्छ ।
त्यस्तै समितिका सदस्य कल्पना दाहाल, सूर्यनारायण गणेश लगायतले ४०÷४० हजार रुपैयाँ सहयोग गर्दै आश्रम निर्माण प्रारम्भ गरिएको अध्यक्ष मादेनले बताए । उनले भने– पहिलो बर्ष विष्णुमाया पौडेल र नर्वदा ढकाललाई आश्रय दिएर यो आश्रमको औपचारिक सुरुवात गरेका थियौं । उतिवेला कोषाध्यक्ष रहनुभएका ओझा अहिले संस्थाको उपाध्यक्ष हुनुहुन्छ– मादेनले भने– ‘एक कठ्ठा जग्गामा चार कोठे पक्की भवन निर्माण गर्ने सोचका साथ हामीले भवन निर्माण शुरु त ग¥यौं तर हामीसँग पैसा थिएन । अध्यक्ष मादेनले थपे – ‘समितिका अन्य पदाधिकारीले पनि सहयोग गरेपछि हामीले एक तले भवन निर्माण गरेका हौं, त्योसंगै अगाडितर्फ पाकशाला पनि बनाएका छौं ।’
ट्रस लगाएर बनाइएको पाकशालालाई अहिले विस्तार गरिएको मादेनले बताए । चार कोठे भवनलाई बढाउँदै अहिले हामीले ११ कोठे दुई तले भवन बनाएका छौं– अध्यक्ष मादेनले भने– ‘यहाँ ३० जनासम्म बृद्धबृद्धा सहज रुपमा बस्न मिल्छ ।’ भवन बनाउँदा काठ अभाव भएपछि आफ्नो अन्नपूर्ण चोकमा रहेको घर भत्काएर त्यो काठ ल्याएर आश्रम बनाएको हुँ– उनले भने– घर भत्काएर आश्रम बनायो भन्दा अहिले कस्ले पत्याउला र तर मे

 

रो वास्तविकता यही हो ।’ काठसंगै मादेनको घरमा लगाइएको घरको टिन पनि आश्रम बनाउन प्रयोग गरिएको बताइन्छ ।

दाताको सहयोगमा अहिले बृद्धाश्रमले झण्डै दुई करोड रुपैयाँको जायजेथो जोडेको छ । स्थानीय दाताकै सहयोगमा यो संस्था चलेको छ– मादेनले भने– सबैले सहयोग गर्ने हो भने यसलाई अझमाथि उठाएर लान सकिन्छ । एक्लो प्रयासमा आश्रमलाई आफै आश्रय दिनु प¥यो भने आश्रम खोल्नुको औचित्य रहँदैन– उनले भने–कोही मनकारी दाता भए सहयोग गर्न म उहाँहरुलाई आग्रह गर्छु ।
आश्रम निर्माणको सुरुवाती दिन सम्झँदै– उनले भने– त्यो बेला आश्रम खोल्नु पर्यो भन्दा सबैले हुन्छ भन्थे तर सहयोग गर्न कोही अघि सर्दैैन थिए । दुई जनाको प्रयासमा शुरु गरिएको आश्रम अहिले पनि २५ जनालाई आश्रय दिएको देख्दा खुशी लाग्छ– मादेनले भने ।

को हुन् मादेन
२०१६ सालमा ताप्लेजुङको फुङ्लिङमा आमा जमुना र वुवा नरप्रसाद मादेनका जेठा छोरा हुन्– विक्रम । भानु माध्यमिक विद्यालयमा कक्षा १०सम्म मात्र औपचारिक शिक्षा लिएका छन्– उनले । आर्थिक अवस्था कमजोर भएका कारण उनले सन् १९३५मा व्रिटिस आर्मीमा भर्ती भए । पढ्दापढ्दै व्रिटिस आर्मीमा भर्ती भएका मादेनले १५ वर्ष सेवा गरे । हङ्कङमा ९ महिने तालिम लिएर गोर्खा सिग्नल रेजिमेन्ट पल्टनमा पोष्टिङ भएका मादेनले १९९२सम्म व्रिटिस आर्मीमा रहेर काम गरे । सो क्रममा उनले युके, जर्मनी, फ्रान्स, वेल्जियम, नेदरल्याण्ड, नर्वे, हङ्कङ, सिंगापुर, मलेसिया थाइल्याण्डमा पुगेर वीर गोर्खालीको उत्कृष्ट पहिचान प्रस्तुत गरे । जागिरबाट अवकास भएपछि नेपाल फर्किएर उनले धरान–काठमाडौं रात्री बस सेवा सञ्चालन गरे पनि आत्मसन्तुष्टि नभएपछि दुई वर्षपछि त्यो व्यवसाय छाडे ।
व्यवसाय छाडे लगत्तै उनी व्रुनाइ गए । त्यहाँ उनले गोर्खा रिर्जव युनिटमा २००४सम्म सेक्युरिटीको काम गरे । त्यस यता सन् २००६मा उनले इराकमा गएर सेक्युरिटीको काम गरे । दुई वर्षसम्म इराक बसेर नेपाल फर्किएका मादेनले अन्ततः बाँकी जीवन सामाजिक सेवामा सर्मपित गर्ने निधो गरे अनि आफ्नै ठाउँमा उनले असाहय वृद्धवृद्धाका लागि आश्रम सञ्चालनमा ल्याए । उनी अहिले त्यही आश्रममा दिनभर वृद्धावृद्धासँगै रमाउने गरेका छन् ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर