Aamsanchar

रोङ गाउँपालिकाले प्रोत्साहन नगरेको एक अगुवा कृषकको गुनासो

Author Image
शुक्रवार, साउन १८, २०७५

चारपाने । आफ्नो जग्गाको पानीको मूल आफैले उपभोग गर्न नपाउने गरी अन्यत्रै पानी लैजान इन्टेक निर्माण गरेपछि एक किसानले बिहीवार पत्रकार सम्मेलन गरी न्याय दिन आग्रह गरेका छन् ।
रोङ गाउँपालिका– २ बरफल्याङ्ग निवासी अग्रज किसान विविन्द्रदास राईले पत्रकार भेलामा आफूलाई अन्याय भएको बताएका हुन् । २०३८ सालमा किनेको ६२ रोपनी जग्गामा सुपारी, अलैंची, कटहर, बडहर, लटर, सुन्तला, सरिफा लगायतका विभिन्न कृषिजन्य विरुवा रोपिएकामा आफ्नो बारी नै सुकाएर पानी अन्यत्र लगेर अन्याय गरेकोमा कृषक राईले गाउँपालिकाप्रति समेत गुनासो गरे ।

नमूना किसान बनेर अरुलाई समेत उदाहरण बन्न आफू लागिरहेको अवस्थामा गाउँपालिकाले समृद्धिका लागि सहयोग गर्नुपर्नेमा मेरा मागहरु सुनवाई नै गर्दैन, उनले आरोप लगाए । उनले भने, ‘तीन–चार लाख व्यक्तिगत लगानी गरेर आफै बाटो खनाउँदै थिएँ, त्यो समेत रोक लगाइ दियो ।’ सहज निकास निकाल्नु पर्नेमा गाउँपालिकाले समेत आफूलाई निरुत्साहित बनाएर पलायन गराउन खोजेको उनको आरोप छ ।

सत्र बर्ष हङकङ बसेर फर्किएका उनी बरफल्याङमा श्रीमती र पन्चानब्बे बर्ष पुगेर विरामी भई ओछ्यान परेकी आमासँग बस्छन् । पाँच जना छोराछोरीहरु नै हङकङ लगायत विदेशीभूमिमा रोजगारीका लागि पुगेको भए पनि आफ्ना पूर्खाले कृषि पेशा अंगालेकाले आफूले त्यसलाई निरन्तरता दिने उनले बताए ।
कृषक राईको समस्याका बारेमा रोङ गाउँपालिका वडा नं. २ का अध्यक्ष टेकबहादुर तामाङसँग कुरा गर्दा विविन्द्रदास अग्रज र परिश्रमी कृषक भएका उनले स्वीकारे । गाउँपालिकाले अग्रज कृषकहरुलाई प्रबद्र्धनका लागि केही कार्यक्रमहरु बनाउँदै गरेकाले विविन्द्रदासलाई समेत समेटेर वडाको कृषि विकासमा अघि बढाउने अध्यक्ष तामाङले बताए ।

पानी विवादको सम्बन्धमा पानी उपभोक्ता र कृषक बीच समन्वय र बुझाबुझको कमी भएकाले त्यसको पक्षमा समझदारीकालागि आफु लागिपरेको उनले बताए । उनले चाँडै नै कृषक तामाङ सहित विवादित क्षेत्रको जग्गा नापी गरी पानीको मुहान संरक्षण गरिनुका साथै खानेपानी र खेतीका लागि आवश्यक पानीको न्यायोचित बाँडफाँड गरिने समेत बताए ।  पानीको संकट रहेको त्यस स्थानमा लामो समयदेखि पानी बाँडफाँडमा बिवाद उत्पन्न हुँदै आएको छ । त्यो बिवाद अहिले स्थानीय तहमा जनप्रतिनिधी आएपछि समेत हल हुन नसकेको स्थानीय टंक कोइरालाले बताए । उनले पानीको स्थायी ब्यवस्थापन गर्नु वडाको प्रमुख काम भएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)