सुरुङ्गा ।कनकाई नगरपालिका–४ टेक्रा देउराली चौककी ४१ वर्षीय गीता थापाको खोजी गरिदिन उनका जेठा छोरा मनोज थापाले अनुरोध गरेका छन् ।
गत असार ६ गते बुधबार २१ वर्षीय छोरा मनोजसँग एक सय रुपैयाँ मागेर सब्जी किन्न सुरुङ्गा बजार गएकी आमा घर नफर्किएपछि उनले आमाको खोजी गरिदिन सार्वजनिक अपिल गरेका हुन् । आमा घर नफर्किएपछि सवै नातेदार र आफन्तकोमा बुझ्दा समेत पत्तो नलागेपछि उनले इलाका प्रहरी कार्यालय सुरुङ्गा र माइती नेपाल काँकरभिट्टालाई समेत जानकारी गराएका छन् ।
गीतालाई उनका श्रीमान्ले ७ वर्ष अघि छोडेर कान्छी श्रीमती ल्याएपछि उनी उर्लाबारीमा बस्तै आएको बताइन्छ । गीता दुई छोराहरु मनोज र निश्चलसहित टेक्रामै बस्दै आएकी थिइन् । कुशल भनेर बोलाइने जेठा छोरा मनोज वैदेशिक रोजगारमा जाने तयारीमा छन् भने १६ वर्षीय कान्छा छोरा निश्चल झापा मेरिगोल्ड अंग्रेजी मावि कनकाई–४ इलुवाबारीमा अध्ययनरत् छन् । थापा परिवारको मूलघर मोरङ पथरीमा रहेको र उनीहरु सुरुङ्गामा १२ वर्षअघि बसाइँ सरी आएका थिए । हराएकी गीताको माइती गिरी रहेका र उनीहरुको बसोबास चतरा रहेको बताइएको छ । आमा हराए पछि छोराहरुले आमाको खोजीलाई तीब्र पारेका छन् ।
कनकाई वनको नर्सरी, झापाका विभिन्न वृद्धाश्राम, कनकाई नदीको किनारकिनारै भारतभित्र ३० किलोमिटरसम्म खोजी गर्दा र फोटो देखाएर कोशी नदीको किनार, कोशी ब्यारेज तथा अन्य सम्भावित क्षेत्रमा खोज्दा पनि कुनै संकेत नमिलेपछि अहिले छोराहरु निराश बनेका छन् । बाबु तेजबहादुरले आमा र आफूलाई नहेरेको, दशैतिहार चाडबाडमा पनि वास्ता नगरेको भए पनि आमालाई अप्ठेरो पार्ने गरी बाबुले कुनै काम गरेको हुन नसक्ने छोरा मनोजको भनाइ छ । उनले आमा हराउनुमा बाबुको हात नरहेको समेत बताएका छन् । उनले गाडीले हानेर बेवारिसे रुपमा आमाको शरीर कतै पल्टिरहेको पो छ कि भनेर काँकरभिट्टादेखि दमकसम्म सडक किनारा पनि हेरेको बताए । सुरुङ्गाका विभिन्न पसलका रहेका सीसी क्यामेराका फुटेजमा पनि आमालाई नदेखिएको र गाडी चढेर कतै गएको पनि कसैले सूचना दिन नसकेको बताइएको छ । गीता गाउँघरमा आफ्नो सुतीखेती गरेर खाने, कसैसँग झैझगडा नगर्ने र मोबाइलसमेत नचलाउने एक सोझी, सर्वसाधारण महिला भएको र उनका सम्बन्धमा अहिलेसम्म कुनै कुरा नसुनिएको स्थानीय गाउँलेले बताएका छन् । बाबुले छोडेर जति पीडा भए पनि यतिबेला आमालाई अन्य कुनै विषयमा तनाव नभएको भन्दै छोरा मनोजले बताए ।
सुरुङ्गामा पत्रकार भेटघाटको आयोजना गरी छोरा मनोजले आमा रहस्यमय ढंगले बेपत्ता हुनुले गाउँसमाज र आफन्तहरुलाई गहिरो दुःख लागेको बताए । उनले भावविव्हल हुँदै आमालाई जहाँ भए पनि घर फर्केर आउन अनुरोध गरेका छन् । उनले सबै सञ्चारकर्मी, स्थानीय सरकार कनकाई नगरपालिका, प्रहरी प्रशासन, माइती नेपाल, मानवअधिकार संगठनहरु, नागरिक समाज लगायत आम जनसमुदायसँग आमाको खोजी गरिदिन अपिल गरेका छन् ।
मनोजले सुरुङ्गामा केही समय यता सक्रिय रहेको महिला बेचबिखन गर्ने गिरोहले रुपैयाँपैसाको प्रलोभन देखाएर, आमालाई अप्ठेरोमा पारेर वा अपहरण गरेर लगे कि भनी आशंका पनि गरेका छन् । तर, आमाको यस प्रकारका कुनै कुरासँग सम्पर्क नभएको उनको भनाइ छ । १० दिन यता सुरुङ्गामा करोडौं रुपैयाँको प्रलोभन देखाएर महिला बेचबिखन गिरोह तान्त्रिकको नाममा सक्रिय भएको हल्ला चलेपछि सुरुङ्गावासीमा त्रास फैलिएको छ । यस सम्बन्धमा प्रहरीले केही महिलासहित शंकास्पद व्यक्तिलाई पक्राउ गरेको तर सूचना बाहिरिए मुख्य अभियुक्त फरार हुनसक्ने भन्दै अहिलेसम्म सार्वजनिक गरेको छैन ।
यतिबेला सुरुङ्गामा बुद्धिजीवीदेखि सर्वसाधारणसम्म सबैको बीचमा महिला बेच्ने गिरोहकै छलफल हुने गरेको छ । करोडौं रुपैयाँ आम्दानी हुने भन्दै महिलालाई आकर्षण गरी ललाइफकाइ बेचबिखनका लागि विदेशतर्फ लैजाने समूह क्रियाशील रहेको र यसमा मुख्य भूमिका स्थानीय शंकास्पद व्यक्तिको रहेको चर्चा छ । यस सम्बन्धमा प्रहरी प्रशासन र स्थानीय सरकारले प्रष्ट पार्न जरुरी रहेको नागरिक समाजको भनाइ छ ।

Views: 274

