Aamsanchar

पारिवारिक यातनामा सञ्जिला

Author Image
शनिवार, साउन २६, २०७५

इनरुवा।

सुनसरी भोक्राहा नरसिहं गाउँपालिका–१ का सञ्जिला खातुनलाई विवाहमा थोरै दाइजो ल्याएको निहुँमा एक वर्षदेखि परिवारले चरम यातना दिँदै आएका छन् ।

भोक्राहा नरसिंह–१ का सराज मियाँकी छोरी सञ्जिला खातुनको विवाह डेढ वर्ष अगाडि भोक्राहा नरसिहं–५ का सद्धाम मियाँसँग भएको थियो ।

श्रीमान् र उनका बाबु–आमासमेतले विवाह भएको केही महिनादेखि तिम्रा बुबाले दाइजोमा थोरै रकम दिएको र थप रकम नदिए ठीक नहुने भन्दै शारीरिक तथा मानसिक यातना दिँदै आएको पीडित सञ्जिला खातुनले बताउनुभयो ।

दैनिक काममा लगाउने तर खानदिन भने बेवस्था गर्ने र बेलुका भएपछि कुटपिट समेत गर्ने गरेकाले माइतीमा गएर जानकारी गराएपछि परिवारका सदस्यलाई सम्झाउँदासमेत बेवास्था गरेकाले न्यायका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उहाँले जानकारी दिनुभयो ।

दिउस घरमा काम नगरी किन बसेको भन्दै सासू–ससुरा मुस्तुकले खानसमेत नदिई बाहिर काम गर्न पठाउने र श्रीमान्ले तलाक दिएर सम्बन्धबिच्छेद गर्न बाध्य नहुञ्जेल कुट्न नछाडने भनी कुट्ने गरेकाले प्रहरीसमक्ष घटनाको बारेमा उजुरी दिएको सञ्जिलाले पीडा सुनाउनुभयो ।

हालसम्म सन्तानसमेत नभएकाले सञ्जिलाका श्रीमान्ले विवाह दर्ता गरेर नागरिकसमेत बनाउन अस्विकार गर्दै आएकाले ज्वाइँको नियत छोरीलाई दुःख दिने मात्र भएको बुबा सराजले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले कुटपिटको घटना भनी निवेदन परेकाले यसबारेमा दुवै पक्षसँग बुझ्ने कार्य भइरहेकाले दोषी पाइएमा कारवाही गर्ने जनाएको छ ।

Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर