Aamsanchar

बिराटनगरको पाथीभरा श्रद्धाश्रमको लागि एक करोड बढी जुट्यो

Author Image
आइतवार, साउन १६, २०७३

अष्ट्रेलिया ।

dines pokhrel

परिवारबाट एक्लिएका र सहाराको आवश्यकता भएका जेष्ठ नागरिकहरुको लागि विराटनगर उपमहानगरपालिकामा एनआरएनले निर्माण गर्न लागेको पाथीभरा श्रद्धाश्रमको लागि अर्थसंकलन गर्ने उद्देश्यले अष्ट्रेलियाको सिड्नीमा आयोजित फन्डरेजिंग डिनर सम्पन्न भएको छ ।

ब्ल्याकटाउनमा आयोजना गरिएको एनआरएन न्यूसाउथवेल्सको वार्षिक कार्यक्रमका साथै फन्डरेजिंग डिनरमा एक लाखभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता ३७ जनाले जनाउनुभएको छ भने अन्यले सहयोग रकम १ करोड ११ लाख पुगेको  एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेलले जानकारी गराउनुभयो ।

शुक्रबार आयोजित कार्यक्रममा १० लाखभन्दा बढी सहयोग गर्ने दाताहरुलाई प्रमाणपत्रसहित सम्मान पनि गरिएको थियो भने अन्य सहयोगीहरुलाई समेत टोकन अफ लभका साथ खादा ओढाएर धन्यवाद ज्ञापन गरिएको छ । एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का र एनआरएन संरक्षक ईन्द्रा वनको आतिथ्यमा भएको कार्यक्रमको सुरुवात नेपाल र अष्ट्रेलियाको राष्ट्रिय धूनबाट गरिएको थियो । कार्यक्रममा लोकदोहोरी गायक पशुपति शर्मा र मञ्जु पौडेलको आकर्षक प्रस्तुति रहेको थियो भने हाँस्य कलाकार भुपेन्द्र चुडालको प्रस्तुतिले धेरैलाई हाँस्न बाध्य तुल्याएको थियो । News about Pathibhara

यसैगरी स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए । एक सय डलरको टिकट दर राखिएको कार्यक्रममा सहभागीहरुको तर्फबाट समेत टिकटमार्फत सहयोग जाने व्यवस्था मिलाइएको थियो । यस कार्यक्रमको संयोजक एनआरएन न्यूसाउथवेल्सका सदस्य निजन चौलागाईं थिए ।

कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल, एनआरएनका पूर्वअध्यक्ष ध्रुव सुवेदी र महेन्द्र ओली, पूर्वक्षेत्रीय संयोजक विष्णु हमाल लगायत एनआरएन अष्ट्रेलियाका पदाधिकारी, एनआरएन न्यूसाउथवेल्सका पदाधिकारी र अन्य नेपाली समूदायका अगुवाहरु सहभागी हुनुहुन्थ्यो । प्रमुख अतिथिको आसनबाट बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले पाथीभरा श्रद्धाश्रम सफलताउन्मुख भएकोमा खुशी व्यक्त गर्नुभयो ।

एनआरएनका सबै एकाईहरुको एकताबद्ध प्रयासले यो परियोजना सफलतातर्फ अघि बढ्नु खुशीको कुरा भएको भन्दै यसको सफल कार्यान्वयन गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

एनआरएन अष्ट्रेलिया अन्तर्गतको जुनसुकै राज्य समितिले कार्य गरे पनि समग्रमा एनआरएन अष्ट्रेलियाकै पहलमा यो परियोजना सम्पन्न हुन लागेको सन्देश जाने भन्दै सिग्देलले यसमा लाग्नुहने सबैलाई धन्यवाद दिनुभएको थियो । pathiउहाँले एक वर्षको एनआरएन अष्ट्रेलियाका कार्यहरु पनि बुँदागत रुपमा राख्नुभएको थियो । कार्यक्रममा स्वागत तथा धन्यवाद ज्ञापन गर्दै एनआरएन उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेलले अघिल्लो कार्यसमितिले सुरु गरेको यो परियोजना सुस्ताउने हो कि भन्ने आशंकाकाबीच आफुहरुले न्यूसाउथवेल्सबाट ५० लाख सहयोग जुटाउने प्रतिबद्धता जाहेर गर्दा धेरैले सम्भव होला र ? भन्ने ठानेकोमा सहयोग जुटिसकेको जानकारी दिँदै १ करोड, ११ लाख सहयोग जुटेको बताउनुभयो ।

उहाँले एनआरएन न्यूसाउथवेल्सले हरेक महिना एक कार्यक्रमको दरमा गएको वर्ष काम गर्ने योजना बनाए पनि १६ भन्दा बढी कार्यक्रम नेपाली समूदायकाबीच सञ्चालन गर्नसक्नु टिमवर्कको परिणाम नै हो भन्नुभयो । यसका लागि खट्ने, जुट्ने र साथ दिने एनआरएन न्यूसाउथवेल्सको पूरै टिम धन्यवादको पात्र छन् । पोखरेलको भनाई थियो ।

यसैगरी कार्यक्रममा अतिथिको आसनबाट बोल्दै एनआरएन संरक्षक ईन्द्रा वन र न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदुत दिपक खड्काले अष्ट्रेलियाबाट विश्वभर नै एउटा सकारात्मक सन्देश गएको बताउनुभएको थियो । एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्सालले परियोजनाको सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञनेन्द्र रेग्मी, एनआरउन न्यूसाउथवेल्सका सचिव भुपाल सिटौला र भुपेन्द्र चुडालले संयुक्त रुपमा सञ्चालकको जिम्मेवारी लिनुभएको थियो । कार्यक्रममा एनआरएन फन्डरेजिंग कोअडिंनेर रमेश पाण्डे र राजन सिटौलाले पाथीभरा श्रद्धाश्रमको अहिलेसम्मको अवस्था यसका लागि स्थानीय निकायसँग भइरहेको सहकार्य र प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा दानको महत्व र यसो गर्नाले मिल्ने शान्ति सम्बन्धी प्रवचन राजन शर्माले दिनुभएको थियो । उहाँले अरुलाई दिनुको मजा नै जीवनमा अर्कै हुने भन्दै दिनसक्ने बन्ने योजनाले मानिसलाई सफलताको बाटोमा लैजाने बताउनुभएको थियो ।

कार्यक्रमको अन्त्यतिर लोकदोहोरीको भाकामा पशुपति शर्मा र मञ्जु पौडेल स्टेजमा उक्लिएपछि रौनक बेग्लै बनेको थियो । दुईजनाको लाईभ दोहोरीमा उपस्थित दर्शकहरु निकै रमाइलो मानिरहेका देखिन्थे । कार्यक्रम एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो । अष्ट्रेलियाको न्यूसाउथवेल्सबाट मात्रै १० लाखभन्दा बढी सहयोग गर्नेहरुमा मुकेश रेग्मी, महावाणिज्यदूत दिपक खड्का, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका सञ्जीव शर्मा र बद्री अर्याल, भवानी ओली, महेन्द्र ओली र परिवार, प्यासिफिक कलेजका प्रदिप ढकाल, प्रवासी नेपाली मञ्चका अध्यक्ष रमेश पाण्डे हुनुहुन्छ भने वेष्टर्न अष्ट्रेलियाबाट भैरव ढकाल रहनुभएको छ ।

यसैगरी एक लाख बढी सहयोग गर्नेहरुमा दिनेश पोखरेल, हरि राम्जाली, दिपक खनाल, भुपाल सिटौला, उमेश पोखरेल, कोमल खतिवडा, डा. प्रविन पाठक, होम पाण्डे, डा. ज्ञानेन्द्र रेग्मी र रिना रेग्मी, राजन सिटौला, सन्तोष पाठक, रविन्द्रकुमार शर्मा, युवराज भट्टराई, एविके लयर्स, सन्दीप खनाल, राजेन्द्र श्रेष्ठ, डिला खरेल, सन्तोष सिटौला, प्रविन चौहान, समिम अनवर, मेघराज पौडेल, ईन्द्रा वन, रमेश थापा, दिपक भट्टराई र तृप्ती भट्टराई, डा. आदित्य मल्लिक, डा. शमशेरसिंह थापा, विष्णु हमाल, भीम खरेल र प्रकाश खरेल, धर्मराज अधिकारी, राज खनाल, दिनेश पहारी, बाबुराम पोखरेल, गोबा कटवाल, भरत पन्त, निरञ्जन प्रसाई, राजन भेटवाल, निर्मल केसी हुनुहुन्थ्यो ।
एनआरएन अष्ट्रेलियाको निवर्तमान अध्यक्ष महेन्द्र ओलीको कार्यकालमा विराटनगर उपमहानगरपालिकासँग सम्झौता भई सन् २०१५ मा निर्माण आरम्भ गरिएको परियोजना भूकम्प र नाकाबन्दीका कारण केही समय रोकिएको थियो । ५० जना क्षमताको यो श्रद्धाश्रम निर्माणको अनुमाति लागत ७ करोड ६१ लाख रहेको छ भने यसका लागि आवश्यक पर्ने ४ करोड ९५ लाख मूल्य बराबरको जग्गा विराटनगर उपमहानगरपालिकाले उपलब्ध गराइसकेको छ भने एनआरएन अष्ट्रेलियाले २ करोड ६६ लाख नेपाली रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमको पहिलो ब्लकको एक ढलान सकिएको यस परियोजनाका संयोजक रमेश पाण्डेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर