सुर्खेत, 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वातावरण संरक्षण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल वातावरण पत्रकार समूहद्वारा आज यहाँ आयोजित ‘प्राथमिकतामा वातावरण’ सञ्चार बहस कार्यक्रममा उहाँले जलवायु परिवर्तनको विश्वव्यापी असरलाई मध्यनजर गर्दै प्रदेश सरकारले वातावरण संरक्षणमा विशेष जोड दिएको बताउनुभयो ।

अबको विकास निर्माण कार्य वातावरणीय प्रभाव मूल्याङ्कन गरेरमात्र अघि बढाउने बताउँदै उहाँले मुलुकले दीर्घकालीन प्रभाव पार्ने गुरुयोजना निर्माण नगरेकै कारण अपेक्षित विकास हुन नसकेको धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री शाहीले अबको मुद्दा देश विकास निर्माण गर्नु नै हो भन्दै शक्तिका आधारमा बजेट विनियोजन गर्ने प्रक्रिया कायम रहें देश अझै ५० वर्षपछि धकेलिन्छ बताउनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कर्णाली अन्य प्रदेश भन्दा वातावरणमा सुरक्षित रहेको उल्लेख गर्दै मन्त्रालयबाट अब बन्ने संरचना वातावरणमैत्री हुने बताउनुभयो ।
मध्यपश्चिम विश्वविद्यालयका एशोसियट प्रोफेसर डा विनय मिश्रले जलवायु परिवर्तनले दिनहुँ बढिरहेको विश्व तापमान, प्रभाव र त्यससँग जुध्ने हाम्रो संयन्त्र निर्माणका लागि प्रदेश सरकारले अगे्रणी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
प्रदेशसभा सदस्यद्वय अमरबहादुर थापा र सुशीला शाही, गाउँपालिका महासङ्घका अध्यक्ष कविन्द्र केसी, वातावरण श्रमिक सङ्घका अध्यक्ष चन्द्रप्रसाद थानी, नेपाल वातावरण पत्रकार समूहका कोषाध्यक्ष सोमनाथ लामिछाने र कर्णालीका दशवटै जिल्लाका सहभागी प्रतिनिधिले जलवायु परिवर्तनले वातावरणमा पारेको असरका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

