Aamsanchar

आशा ज्यूँदै छ, झापाबाट को–को छन् अझै वेपत्ता ?

Author Image
शुक्रवार, भदौ १५, २०७५

बिर्तामोड।

झापा राजगढका रत्नबहादुर घिमिरेका जेठा छोरा राजेन्द्र घिमिरे वेपत्ता भएको १५ बर्ष बित्यो । उनी २०६० साल भदौ २१ गतेदेखि वेपत्ता छन् ।

उनलाई राज्य पक्षले वेपत्ता पारेको उनका वुवा रत्नबहादुरले बताए । उनले भने– मेरो छोरो काठमाडौंको गुहेश्वरीमा रहेको प्रमानन्द अनाथ आश्रममा शिक्षकको काम गर्दै पशुपति क्याम्पसमा वीए पढ्दै थियो । विराटनगर आएका बेला प्रहरीले पक्राउ गरेर उसलाई वेपत्ता बनाएको छ, न उसको हालसम्म सास भेटिएको छ न त लास नै’– घिमिरेले भने– ‘छोरो भेटिने आश भने अझैं मरेको छैन ।
छोरो भेटिने आशमा उनले विहीवार बिर्तामोडस्थित मुक्तिचौकमा दीप प्रज्ज्वलन गरेका छन् । अन्तराष्ट्रिय वेपत्ता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाले आयोजना गरेको दीप प्रज्ज्वलन कार्यक्रममा उनले छोरो भेटिने आशामा मुक्तिचौकमा दीप प्रज्ज्वलन गरे । उनीमात्र होइन सशस्त्र द्वन्द्वका क्रममा झापाबाट वेपत्ता भएका परिवारले उनीहरुको स्मृतिमा विहीवार दीप प्रज्ज्वलन गरेका छन् ।

सशस्त्र द्वन्द्वका क्रममा राज्य र तत्कालीन विद्रोही पक्ष माओवादीका कारण झापाबाट १८ जना वेपत्ता छन् । दीप प्रज्ज्वलन अघि आयोजित कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले १० बर्षे सशस्त्र द्वन्द्वको अवधिमा हजारौं मानिस मारिएका र अझै पनि १३ सयभन्दा बढी वेपत्ता रहेको बताए । उनले देशभर १३ सय ३३ जना वेपत्ताको सूचीमा रहेको जानकारी दिए । वेपत्ता व्यक्तिका परिवारहरुको आवश्यकतालाई सम्बोधन गर्न नेपाल रेडक्रस सोसाइट, आईसीआरसी र अन्य धेरै संघ–संस्थाहरु समुदायमै पुगेर काम गरिरहेको उनले जानकारी दिए ।

नेपालका ७० जिल्लामा रहेका वेपत्ता परिवारका आफन्तहरुसँग सम्पर्क स्थापित गर्न नेपाल रेडक्रस सोसाइटी निरन्तर संलग्न रहेको सभापति ढकालले बताए । उस्तै प्रकारका पीडा र आवश्यकता भएका धेरै परिवार माझ साझा आवश्यकताका लागि एकजुट हुँदै पारस्परिक सहयोगको पहलकदमी गरिरहेको उनले बताए । वेपत्ता परिएका व्यक्तिको छानविन आयोग गठनपछि पनि वेपत्ता व्यक्तिहरुको परिवारसँग निरन्तर भेटघाट गरी सूचना आदानप्रदान र अध्यावधिक गर्न र अन्य सन्दर्भमा रेडक्रसको सहयोग निरन्तर रहेको उनले बताए ।

वेपत्ता पारिएका समाजका केन्द्रीय सदस्य रत्नबहादुर घिमिरेले सरकारले गठन गरेको आयोगले अहिले कामै गर्न नसकेको आरोप लगाए । यो आयोगले केही काम गरेको छैन । भत्ता मात्रै खाने काम गरेको छ, तत्काल अर्को आयोग गठन गर्दै वेपत्ता पार्नेलाई कडाभन्दा कडा कार्वाही गर्न उनले माग गरे । उनले भने– वेपत्ता पारिएका सम्पूर्ण व्यक्तिको सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्नुपर्छ । उनले आफ्नो छोरो भेटिने आश अझै नमरेको बताए । आफू जस्ता धेरै व्यक्ति अझै पनि वेपत्ताको खोजीमा भांैतारिरहेको उनले बताए ।
कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार शिवाकोटीले लामो समय वितिसक्दा समेत सरकारले वेपत्ता पारिएका व्यक्तिको सत्यतथ्य बाहिर ल्याउन नसक्नु दुःखद् भएको बताए । उनले नगरको तर्फबाट वेपत्ता पारिएका व्यक्तिको तत्काल सत्यतथ्य बाहिर ल्याइदिन सरकारसमक्ष आग्रह गरे ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखा सभापति सजेश शिवाकोटीले स्वागत गरेको कार्यक्रममा वीरता जेसीजका अध्यक्ष एकराज गिरी, पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्य, व्यवसायीहरु निर्मल भट्टराई, ओमकृष्ण बिमली, पार्वता विमली, सन्तोष अग्रवाल, घनश्याम चौधरी, वीरता लेडी जेसीजकी सरु खनाल लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन चन्द्र चुडालले गरेका थिए ।

झापाबाट को–को छन् अझै वेपत्ता ?
नेपाल रेडक्रस सोसाइटीले नेपालमा वेपत्ता भएकाहरुको अद्यावधिक सूची २०७५ सार्वजनिक गरेकोे छ ।
जसमा झापाका १८ जना छन् । वेपत्ता हुनेहरुमा दुई महिला र १६ पुरुष छन् । वेपत्ता हुनेहरुमा इन्द्रलाल ढकाल, उदयकुमार श्रेष्ठ, घना सुवेदी, चतुर्मानसिंह राजवंशी, जगन्नाथ बास्कोटा, तारा रिजाल, धीरेन्द्र बस्नेत, पुष्पराज बस्नेत, मिश्री धिमाल, राजेशकुमार ढुंगेल, राजकुमार मेचे, राजेन्द्र घिमिरे, राजेन्द्र चम्लागाई, शान्तिराम भट्टराई, सम्झना अधिकारी, सुरेशकुमार पोखरेल र भीमलाल सुवेदी रहेका छन् ।

Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर