Aamsanchar

चिया खेतीमा झापा देशकै अब्बल/ १० करोड किलो हरियो चिया उत्पादन

Author Image
सोमवार, भदौ १८, २०७५

नरेन्द्र ढकाल, सुरेन्द्र भण्डारी/ झापा।

चिया खेतीको उद्गमस्थल इलाम भए पनि उत्पादनको हिसाबमा झापा सबैभन्दा अगाडि छ । वि.स. १९२०मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले चीन भ्रमणबाट फर्किदा तत्कालीन चिनिया सम्राटबाट चियाको बीऊ उपहारस्वरुप नेपाल भित्र्याएपछि यसको खेती इलामबाट शुरु भएको मानिन्छ ।

इलामका तत्कालीन वडाहाकिम गजराजसिंह थापाले चिया रोपेर नेपालमा चिया खेतीको शुरुवात गरेको इतिहास छ । यसरी स्थापना भएको इलाम टी इस्टेटपछि पूर्वी पहाडी जिल्लामा चिया खेतीले व्यवसायिकता पाएको थियो ।

पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ र धनकुटामा चिया खेती शुरु गरेसँगै झापामा पनि चिया खेतीको शुरुवात भएको थियो । नेपाली चिया उत्पादन तथा प्रशोधनका लागि सरकारी स्तरबाट वि.स. २०२३ साल असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना गरेर चिया खेतीको व्यवसायिकतालाई विश्व वजारसम्म पु¥याउन पहल भएको पाइन्छ ।

तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहले पूर्वका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम जिल्लालाई चिया क्षेत्र घोषणा गरी चिया खेतीको समग्र विकासलाई महत्व दिएसँगै झापामा चिया खेतीले व्यवसायिकता पाएको हो । नेपालमा मूलत सीटीसी, अर्थाेडक्स र ग्रीन टी उत्पादन हुँदै आएको छ ।

जसमध्ये सवैभन्दा धेरै चिया उत्पादन झापामा हुने गरेको राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । आइतवार बिर्तामोडमा व्यवसायिक चिया खेती सर्वेक्षण २०७५को प्रतिवेदन सार्वजनिक गर्दै विभागका निर्देशक बद्री कार्कीले सबैभन्दा धेरै चिया उत्पादन हुने क्षेत्र झापा भएको जानकारी दिए । उनले देशभरका ७७ जिल्ला मध्ये १४ जिल्लामा मात्र व्यवसायिक रुपले चिया खेती हुँदै आएको बताए ।

उनका अनुसार झापामा व्यक्तिगत तथा साना किसान एक हजार ५ सय ३२ र संस्थागत तथा ठूला बगान ६९ वटा रहेका छन् । जसमा कूल खेतीयोग्य जमिनको ७ हजार १ सय ९५. १५ हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ– विभागका निर्देशक कार्कीले भने– ‘झापामा मात्रै ८ करोड २५ लाख १७ हजार केजी चिया उत्पादन हुँदै आएको छ ।’


देशभरका ९ हजार २ सय ३६ कृषक तथा व्यवसायीहरुले १२ हजार ६६.५ हेक्टर क्षेत्रफलमा चिया खेती गर्दा १० करोड ८० हजार केजी हरियो पत्ती उत्पादन हुने गरेको बताइन्छ । व्यवसायिक चिया खेती गर्ने कृषक तथा व्यवसायीमध्ये एक हेक्टर भन्दा कम क्षेत्रफलमा ८२.३ प्रतिशत किसानले चिया खेती गर्दै आएका छन् । त्यस्तै एक हेक्टर भन्दा माथि १० हेक्टरसम्म १६.५ प्रतिशत, १० हेक्टरभन्दामाथि २० हेक्टरसम्म ०.४ प्रतिशतले र २० हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती गर्ने किसानको संख्या ०.८ प्रतिशत रहेको राष्ट्रिय चिया तथा कफी विकास वोर्ड केन्द्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

नेपालका ११ हजार ४१ वटा बगानहरुम ा चिया खेती गरिँदै आएको छ । जसमध्ये सवैभन्दा धेरै इलाममा ६ हजार ९ सय ९५, झापामा एक हजार ६ सय ३१ र सवैभन्दा कम सिन्धुपाल्चोकमा ८ वटा मात्र बगान रहेको बताइएको छ ।

विभागका तथ्याङ्क अधिकृत किशोर केशीका अनुसार अझै पनि नेपालमा ५९ प्रतिशत मानिसले परम्परागत रुपमा चिया खेती गर्दै आएका छन् । जसमा झापामा मात्रै ९८.६ प्रतिशतले परम्परागत रुपमा ६ हजार ५ सय ३४.२ हेक्टर क्षेत्रफलमा चिया खेती गरिरहेको अधिकृत केसीले जानकारी दिए । उनले भने– इलाममा ५७ प्रतिशत किसानले एक हजार ८ सय ८१ हेक्टरमा परम्परागत शैलीमा चिया खेती गर्दै आएका छन् ।

नेपाली चियालाई विश्व वजारमा प्रतिस्पर्धी रुपमा उतार्नका लागि किसानले प्राङ्गारिक खेतीमा अग्रसरता देखाउन शुरु गरेको अधिकृत केसीले बताए । उनले भने– ‘झापामा १.४ प्रतिशत र इलाममा २७ प्रतिशत किसानले प्राङ्गारिक खेती शुरु गरेका छन् । रासायनिक मलका कारण नेपाली चियाले विश्व बजारमा प्रतिस्पर्धा गर्न नसकेका भन्दै उनले किसानहरु प्राङ्गारिक खेतीतर्फ उन्मुख भएको बताए । नेपालका ३० प्रतिशत चिया कृषक तथा व्यवसायी प्राङ्गारिक खेतीतर्फ उन्मुख रहेका छन् ।

नगदेवालीको रुपमा रहेको चिया खेतीबाट कृषक तथा व्यवसायीले हरियो पत्ती विक्री गरेर वार्षिक रुपमा एक अर्व ७४ करोड, २२ लाख १५ हजार ३ सय ६५ रुपैयाँ आम्दानी गर्ने गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । चिया खेती गर्ने कृषक तथा व्यवसायीमध्ये ४.५ प्रतिशतले मात्रै आफ्नो चिया खेती व्यवसाय दर्ता गरेर सञ्चालन गर्दै आएको पाइएको छ । झापामा ११.७ प्रतिशत र इलाममा २.५ प्रतिशतले मात्रै चिया व्यवसाय दर्ता गरेर सञ्चालन गरेको बताइन्छ ।

तथ्याङ्क सार्वजनिक गर्दै साना चिया किसान तथा ठूला चिया व्यवसायीहरुको सुझाव समेत संकलन गरिएको छ । चिया किसानहरुले हरियो पत्तीको उचित मूल्य पाउन नसकेको, विरुवा, मलखाद, मेसिनरी औजार आदिमा सरकारले अनुदान नदिएको, बिक्री वितरणमा उचित बजार नपाएको, चिया खेतीका लागि सिञ्चाईको प्रबन्ध नभएको, सहुलियतपूर्ण ऋण उपलब्ध नभएको, अक्सन बजारको ब्यवस्था नभएको तथा सरकारी चिया नीति कार्यान्वयन नभएको भन्दै तथ्याङ्क विभागको ध्यानाकर्षण गराएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर